एलन मस्कले अमेरिकामा नयाँ राजनीतिक दल स्थापना गरे
काठमाडौं – विश्व चर्चित उद्यमी तथा राष्ट्रपति डोनाल्ड ट्रम्पका पूर्व सल्लाहकार समेत रहेका एलन मस्कले अमेरिकामा नयाँ राजनीतिक दल स्थापना गर्ने घोषणा गरेका छन्। उनले आफ्नै सामाजिक सञ्जाल प्लेटफर्म एक्स (पूर्व ट्विटर) मार्फत ‘अमेरिका पार्टी’ गठनको जानकारी दिएका हुन्।
तर मस्कले पार्टीको कानुनी दर्ता प्रक्रिया पूरा भइसकेको छ कि छैन भन्नेबारे केही खुलाएका छैनन्। पार्टीको औपचारिक संरचना, उद्देश्य र नेतृत्वसमेत अहिले स्पष्ट भइसकेको छैन। अमेरिकाको संघीय निर्वाचन आयोग (FEC) ले समेत शनिबारसम्म यस्तो कुनै नयाँ पार्टी दर्ता भएको पुष्टि नगरेको बीबीसीले जनाएको छ।
एलन मस्कले आफू स्थापनामा लागिपरेको नयाँ पार्टीले अमेरिका लामो समयदेखि दुई मुख्य दल— रिपब्लिकन र डेमोक्र्याटबीच सीमित रहेको राजनीतिक परिपाटीलाई चुनौती दिने दाबी गरेका छन्।
ट्रम्प प्रशासनमा खर्च कटौती सम्बन्धी सल्लाहकारको भूमिका निभाएका मस्कले आन्तरिक असहमतिका कारण त्यो पदबाट राजीनामा दिएका थिए। त्यसलगत्तै उनी नयाँ राजनीतिक शक्ति निर्माणतर्फ अग्रसर हुने संकेत दिएका थिए।
सन् २०२४ को राष्ट्रपतीय निर्वाचनताका मस्क ट्रम्पका प्रमुख समर्थक थिए। उनले अभियानका लागि ट्रम्पलाई २५ करोड अमेरिकी डलर चन्दा दिएको विषयले अमेरिकी राजनीतिमा निकै चर्चा बटुलेको थियो।
राजनीतिमा एलन मस्कको औपचारिक प्रवेश र तेस्रो धारको पार्टीको प्रयासले अमेरिकी राजनीतिक परिदृश्यमा नयाँ बहस सुरु गराउने देखिन्छ।


WRITE COMMENTS FOR THIS ARTICLE