बुधबार, फाल्गुन २०, २०८२
Wednesday, March 4, 2026

मौलिक संस्कृतिको रूपमा रहेको ‘राधाकृष्ण नाच’ संरक्षणमा ताकम गाउँ

म्याग्दी – म्याग्दीको धवलागिरि गाउँपालिका–७ ताकम गाउँको मौलिक संस्कृतिको रूपमा रहेको ‘राधाकृष्ण नाच’ संरक्षणमा स्थानीय सक्रिय भएका छन् ।

हिमालको काख तथा समथर फाँटमा अवस्थित ताकम गाउँमा मानव बस्ती बसेदेखि नै राधाकृष्ण नाच देखाउन थालिएको इतिहास छ ।

भजनकिर्तनको साथमा अभिनयसहितको नृत्य रहने राधाकृष्ण नाचको संरक्षण गर्न स्थानीय ताकम धार्मिक नाट्य समूह नै गठन गरेर अघि बढेका छन् ।

समूहले लोप हुन लागेको राधाकृष्ण नाचको कला नयाँ पुस्तालाई हस्तान्तरण गर्ने गरेका स्थानीय कलाकार ऋषिराम सुवेदीले बताए । ‘यो नाच यस क्षेत्रको करिब २०० वर्ष पुरानो सांस्कृतिक चिनारी मानिन्छ, हरेक वर्षको हरितालिका तीजमा अनिवार्य रूपमा ताकम गाउँमा उत्सवको रूपमा राधाकृष्ण नाचलाई देखाउने चलन छ, अहिले अन्य पर्व र उत्सवमा समेत यो नाच देखाउन थालिएको छ’, उनले भने ।

राधाकृष्ण नाचका लागि समूहले भजनकिर्तन भाकामा गीतको रचनासमेत गरेका छन् । यो नाचमा हिन्दु धर्मावलम्बीको भगवान् शिव, पार्वती र राधा कृष्णको माया प्रेमसहितको नाचगान तथा भगवान् गणेश र खलपात्र जोक्करको भूमिकालाई नृत्य तथा अभिनयबाट प्रस्तुत गरिन्छ ।

राधाकृष्ण नाचमा परापूर्व कालमा देवीदेवता र भगवानको माया प्रेम, जीवन दर्शनलाई भजनकिर्तनका भाकामार्फत व्यक्त गरेर अभिनयसहितको नृत्य आकर्षक तथा मनोरञ्जनात्मक हुने गर्छ ।

पुर्खाबाट पुस्तान्तरण हुँदै आएको यो नाचलाई संरक्षण गर्न नयाँ पुस्तासमेतलाई सहभागी गराउन थालिएको ताकम धार्मिक नाट्य समूहका सचिव नेत्र सुवेदीले बताए ।

उनका अनुसार पछिल्लो समय विभिन्न उत्सव, समारोह र सार्वजनिक कार्यक्रममा समेत राधाकृष्ण नाच देखाउन थालिएको छ । हालै गाउँपालिकाले आयोजना गरेको पुख्र्यौली नाच प्रतियोगितामा समेत राधाकृष्ण नाच धेरैको रोजाइ बनेको थियो ।

गाउँपालिकाले पुख्र्यौली संस्कृतिको संरक्षणमा देखाएको सक्रियताले नयाँ पुस्तालाई संस्कृतिको पुस्तान्तरण सँगै सांस्कृतिक पर्यटन प्रवद्र्धनसमेतमा सघाउ पुग्ने समूहका सचिव सुवेदीले बताए ।

राधाकृष्ण नाचमा सबै कलाकार पुरुष हुन्छन् । पार्वती र राधाको भूमिका पनि पुरुष कलाकारले निभाउँछन् । ताकम गाउँको सांस्कृतिक पहिचान र चिनारीका रूपमा रहेको यस राधाकृष्ण नाचको कला र सिप हस्तान्तरण गरेर संरक्षण गर्न स्थानीय अग्रसर बनेका छन् ।

अहिले ताकम गाउँमा मात्रै नभएर सो गाउँपालिकाका र जिल्ला सदरमुकाम बेनीमा हुने सभा, समारोह, उत्सव मेला महोत्सवमा समेत प्रदर्शन हुन थालेको छ ।

धौलागिरि पदमार्गको पर्यटकीय गाउँको रूपमा चिनिएको ताकमको राधाकृष्ण नाच पर्यटन प्रवद्र्धनको माध्ययम बन्ने अपेक्षा गरिएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x