बुधबार, माघ ९, २०८१
Wednesday, January 22, 2025

प्रधानमन्त्री केपी शर्मा ओलीकाे भारत भ्रमण क्षिण हुँदै

काठमाडौं- नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले भारत भ्रमण गर्ने चर्चा त धेरै भयो । तर यो चाहना पूरा हुने संकेत भने झन् झन् क्षिण हुँदै गइरहेको छ। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले ओलीलाई दिल्ली निम्त्याउने कुनै चासो देखाएका छैनन्। यसले ओली सरकारको साखमा प्रश्न उठाएको छ र सरकारको भविष्यसमेत अनिश्चित बनाएको छ।

प्रधानमन्त्री ओलीको भारत भ्रमण मिलाउने उद्देश्यले सत्तारुढ दलका दुई जना पात्र—परराष्ट्रमन्त्री डा आरजु राणा देउवा र पूर्वपरराष्ट्रमन्त्री समेत रहेका एमाले उपमहासचिव प्रदीप ज्ञवाली केही दिनअघि दिल्ली पुगे। तर, उनीहरू दुवै जना खाली हात फिर्ता भए। यहाँसम्म कि उनीहरूले भारत सरकारका कुनै पनि आधिकारिक प्रतिनिधिसँग प्रधानमन्त्री ओलीको भ्रमणबारे गम्भीर छलफल गर्ने अवस्था बन्न सकेन।

आरजु र ज्ञवालीको दिल्ली यात्रा केवल एउटा ‘अनौपचारिक चियापान’ मात्र बनेको देखियो। जर्मनी हुँदै पुस ४ गते दिल्ली पुगेकी आरजुले आफू एउटा सम्मेलनमा भाग लिन गएकी मात्र दाबी गरेकी छन्। एमालेका उपमहासचिव ज्ञवालीले पनि आफू प्रवासी नेपाली संघ, भारतद्वारा आयोजित साहित्यिक कार्यक्रममा भाग लिन गएको बताउँदै भारत भ्रमणको कुनै विशेष ‘कूटनीतिक एजेन्डा’ नभएको जिकिर गरे। तर, एमाले निकट स्रोतहरू भन्छन्, ‘यो सब नाटक मात्र हो। दुवै नेताको यात्रा ओलीको भारत भ्रमण मिलाउने गोप्य उद्देश्यले नै गरिएको थियो।’

प्रधानमन्त्री ओलीले २० मंसिरमा चीन भ्रमणबाट फर्किएपछि भारत भ्रमणमा जान आफू आतुर रहेको घोषणा गरेका थिए। तर, भारतको चिसो व्यवहारले ओलीको यो योजना ‘शीतनिद्रा’मा गएको छ। जानकारहरूका अनुसार ओलीले भारतसँग सम्बन्ध बिगारेर आफैँले आफ्नो भ्रमणको वातावरण गिजोलेका छन्। भारतको असन्तोष यत्तिसम्म छ कि दिल्लीले ओलीलाई आफ्नो सरोकारको व्यक्ति ठान्न नै छाडिसकेको छ।

ओलीको भारतप्रतिको रुखो व्यवहारले कूटनीतिक सम्बन्ध मात्र होइन आर्थिक र सांस्कृतिक सम्बन्धमा समेत धक्का पुर्याएको छ। नेपाल-भारत सम्बन्ध सुधार्ने आशामा दिल्ली पुगेका आरजु र ज्ञवाली कुनै पनि ठोस उपलब्धि बिना फर्किएपछि ओली नेतृत्वको सरकारलाई थप संकटग्रस्त बनाएको छ।

भारत भ्रमणको प्रश्नले ओली सरकारलाई दुविधामा पार्दैछ। दिल्लीका राजनीतिक विश्लेषकहरू प्रधानमन्त्री मोदी हाल दिल्ली विधानसभा चुनावको तयारीमा व्यस्त भएकाले ओलीको भ्रमणले प्राथमिकता पाउन लामै समय लाग्ने बताउँछन्। यसले गर्दा ओलीको भारत भ्रमण एक प्रकारको ‘अघोषित प्रतिबन्ध’ जस्तै देखिन थालेको छ।

यस्तै बढ्दो भूराजनीतिक जटिलता कायम रहिरहे ओलीको सरकार केवल भारत भ्रमणको पर्खाइमै टुक्रिने हो कि भन्ने आशंका झन् गहिरिँदै गएको छ। ओलीले राजनीतिक र कूटनीतिक सम्बन्धलाई समयमै सुमधुर बनाउन सकेनन् भने भारत भ्रमणमा नगइकनै आफ्नै कुर्सीबाट विदा लिन बाध्य हुने परिस्थिति तयार हुने देखिन्छ। ‘कूटनीतिक खेल’मा ओलीको यो हारले उनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चमा कमजोर बनाउने पक्का छ।

यसरी, ओलीको भारत भ्रमणको चाहना एक प्रकारको ‘कूटनीतिक त्रासदी’ बन्दैछ। यो केवल दुई देशको सम्बन्धको प्रश्न मात्र होइन, यो ओलीको राजनीतिक अस्तित्वको परीक्षा पनि हो। यसले अन्ततः ओलीको सरकारको भविष्य निर्धारण गर्नेछ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x