माधवजी असक्षम भएर नेतृत्वमा बस्नुभन्दा राजीनामा गर्नु सबभन्दा राम्रो हुन्छ-झलनाथ खनाल

काठमाडौं – नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेकपा (एमाले) मा आफूहरूले गरेको विद्रोह पुष्टि हुन नसकेको टिप्पणी गरे लगत्तै अध्यक्ष माधवकुमार नेपालले उनलाई पार्टी छोड्न सुझाव दिएका छन् ।
- अध्यक्ष माधवकुमार नेपालले विराटनगरमा झलनाथ खनालले पार्टी नीति विपरीत बोल्नुभयो, त्यसैले पार्टी छोडेर गए हुन्छ भन्नुभएछ, तपाई अव के गर्नुहुन्छ ?
पार्टीको नेता भएपछि एउटा कार्यदिशा, नीति, सिद्धान्तको आधारमा पार्टी हाँकिन्छ । फगत ओहदामा बसेर मात्र पार्टी हाँकिँदैन । कुनै पनि नेताले ओहदामा बसेर अरूमाथि ‘डिक्टेट’ गर्ने, शासन गर्ने र अरूलाई विविध ढङ्गले खेदो गर्ने गर्नुहुँदैन । तँ पार्टीबाट जा, तँ पार्टीमा आइज भन्ने जस्ता कुराहरू गर्ने दम्भपूर्ण, घमण्डपूर्ण कुराहरूले पार्टी बन्दैन । यो त पार्टी समाप्त पार्ने काम मात्रै हो र हुन्छ । यही प्रकारका अभिव्यक्तिले यो पार्टीलाई विद्रोह गरेर बनाउनुको औचित्य अहिलेसम्म पुष्टि हुन सकेको छैन ।
- जतिखेर तपाईँहरूले केपी ओलीसँग विद्रोह गर्नुभएको थियो, अहिले माधव नेपालको कार्यशैली पनि ओलीकै जस्तो देखिएकाले यो पार्टीमा पनि अब तपाईँहरूले विद्रोह गर्नुपर्ने अवस्था आएको त होइन ?
त्यो बेलामा (२०७८ सालमा) विद्रोह गर्न आवश्यक थियो कि थिएन ? किन विद्रोह गरियो ? के उद्देश्यले थियो के गरियो ? के लक्ष्य लिएर विद्रोह गरियो ? विद्रोह गरेपछि के–के काम भए ? नेपालको कम्युनिस्ट आन्दोलनमा एउटा क्रान्तिकारी कार्यदिशा, नीति, सिद्धान्त, लक्ष्यलाई स्थापित गर्ने काम भयो त ? त्यो विद्रोह गरेपछि त्यतिबेला जुन दक्षिणपन्थी अवसरवादका विरुद्ध लडिन्छ भनिएको थियो, दक्षिणपन्थी अवसरवादका विरुद्ध लड्ने काम भयो त ? भयो भने के–केमा भयो ? विचारकै कुरा गर्दा कुन दक्षिणपन्थका विरुद्ध लडियो ? राजनीतिमा कुन दक्षिणपन्थका विरुद्ध लडियो ? सिद्धान्तमा कुन दक्षिणपन्थका विरुद्ध लडियो ? दर्शनमा कुन दक्षिणपन्थका विरुद्ध लडियो ? संगठनमा कुन दक्षिणपन्थका विरुद्ध लडियो ? के हो त्यो दक्षिणपन्थ भनेको ? यो कुरा नेपालका कम्युनिस्टहरूले बुझ्न पाएनन् र त्यो विद्रोहको औचित्य के हो भन्ने कुराको पुष्टि भएको पनि देख्न पाएनन् । त्यसैले त्यो विद्रोह आवश्यक थियो कि थिएन, यसबारेमा नयाँ स्तरबाट समीक्षा गर्नु, मूल्याङ्कन गर्नु आवश्यक छ ।
- त्यो विषय समीक्षाकै पाटो भयो । तर तपाईँलाई अहिलेसम्मको अवस्था हेर्दा चाहिँ त्यतिखेर एमाले फुटाउनु गलतै रहेछ भन्ने लागेछ भनेर अहिलेका घटनाक्रम र तपाईँहरूका अभिव्यक्तिबाट बुझ्दा गलत हुँदैन नि ?
कुनै पनि पार्टी विभाजन हुनुको वा पार्टीमा विद्रोह गर्नुको एउटा आवश्यकता हुन्छ र औचित्य हुन्छ । विद्रोह गर्नु हुँदैन भन्ने कुरा होइन । विद्रोह गर्न सकिन्छ । आवश्यकता भयो भने विद्रोह गर्नु पनि पर्छ । यदि आफू संलग्न भइरहेको पार्टीले क्रान्तिकारी कार्यदिशा लिँदैन, नीति लिँदैन, सिद्धान्त लिँदैन, त्यो लक्ष्य लिएर काम गर्दैन र त्यस्तो सम्भावना पनि देखिँदैन भने त्यो पार्टीमा रहनुको कुनै औचित्य हुँदैन ।
त्यस्तो बेलामा विद्रोह गर्नुपर्ने हुन्छ । अब त्यतिबेला यही आधारमा विद्रोह गरेको थियो भने त्यसलाई पुष्टि गरियो कि गरिएन त ? मेरो भनाई त्यतिमात्र हो । त्यो पुष्टि गर्नका लागि सबैभन्दा पहिला त्यही पार्टीको नेताले पहल गर्नुपर्छ । त्यसैले पहिला हो यो कुराको जवाफ दिएर नेताले अरूहरूमाथि प्रश्न उठाउनु राम्रो हुन्छ ।
- त्यो पार्टीको जिम्मेवार नेता तपाईं पनि हो नि ! तपाईँले त्यसको जिम्मेवारी लिनुपर्दैन ?
जिम्मेवारी कति र कस कसमा छ भन्ने कुरा दशौँ महाधिवेशनमा डेढ लाख सदस्य भए भनेर भनिएको छ । सबैले त्यो जिम्मेवारी अलिअलि गरेर लिनुपर्ला नि ! तर मुख्य जिम्मेवारी लिने त नेतृत्वकै महत्त्वपूर्ण र निर्णायक रोल हुन्छ भन्ने बुझ्नुपर्छ । प्रमुख नेता र नेतृत्व जहिले पनि जुनसुकै पार्टीमा निर्णायक हुने गर्छ । निर्णायक ढङ्गले नेतृत्व गर्ने र नीति दिने नेतृत्व भएन भने संगठन अगाडि बढ्दैन ।
- तपाईँहरूले विभाजन गर्दा दक्षिणपन्थी अवसरवादका विरुद्ध लड्ने भन्नुभएको थियो । यो चार वर्षमा नेतृत्वले दक्षिणपन्थी अवसरवादको विरुद्ध लड्यो या त्यसलाई चाहिँ सहयोग पुर्यायो त ?
मैले तपाईँलाई अघि प्रश्नको रूपमा भनेँ कि दक्षिणपन्थी अवसरवादका विरुद्ध सङ्घर्ष गर्ने, वैज्ञानिक समाजवादको निम्ति सङ्घर्ष गर्ने, त्यो लक्ष्यको निम्ति काम गर्ने भनेर विद्रोह गरिएको भनिएको थियो । दक्षिणपन्थी अवसरवादका विरुद्ध लडियो भन्ने कुनै आधार र प्रमाण दिन त्यस्ता विचार हुनुपर्यो, त्यस्ता लेख हुनुपर्यो, त्यस्ता दस्ताबेज हुनुपर्यो, त्यस्ता डकुमेन्टहरू हुनुपर्यो नि । अनि त्यो ढङ्गको विचारधारात्मक प्रशिक्षण, सङ्घर्ष आदि गरेको एउटा न एउटा कार्यक्षेत्र हुनुपर्छ तर मैले त्यस्तो देख्न सकिरहेको छैन ।
- तपाईँको बुझाइमा अध्यक्ष वा नेतृत्वको कार्यक्षमता नभएको हो कि ? कारण के कारणले दक्षिणपन्थी अवसरवादका विरुद्ध लड्न र बोल्न नसकेको हो ?
मुहानमा पानी उम्रिरहेको छ भने तल बगिनैरहन्छ । तर जतिबेला खोलाहरू सुक्छन्, नदीहरू सुक्छन् भने बगर मात्रै देखा पर्न थाल्छ । माथि मुहानबाट पानी आउन छोडेछ भन्ने बुझ्नुपर्छ । राजनीतिमा पनि त्यस्तै कुरा हुन्छ ।
- पुराना सहकर्मी वामदेव गौतम आएको १५ दिनमै तपाईँहरूबिच आरोप–प्रत्यारोपको शृङ्खला चल्न थालेको छ । यसले कहाँ पुर्याउँछ ? कसरी अगाडि बढ्छ त अब एकीकृत समाजवादी ?
मेरो कमरेड वामदेव गौतमप्रति केही पनि असन्तुष्टि छैन । उहाँ आउनुभएको छ । मैले स्वागत गरेँ । तर उहाँ के–के कुरामा हाम्रो पार्टीको नेतासँग सहमति भएर आउनुभयो, त्यो कुरा नेतृत्वले मलाई केही पनि सुनाएन ।
- एकता घोषणा र नेताहरू भित्र्याउनुअघि पार्टीमा कुनै छलफल गर्नुभएन तपाईँको अध्यक्षले ?
मलाई संलग्न गरिएन । अरू–अरूले गरे होलान् । म शङ्का गर्छु । तर मलाई संलग्न गरेर यो आधारमा कमरेड वामदेव गौतमसँग या उहाँको समूहसँग एकता गर्ने निर्णय गरियो अब यसरी–यसरी यो दुइटा पार्टीको बिचमा एकता प्रक्रिया हुन्छ, यसरी अगाडि बढाइन्छ । अव वैचारिक, सैद्धान्तिक र सङ्गठनात्मक रूपमा यो कुरा हुनेछ, यस्तो सहमति गरियो भनेर पार्टीले अनुमोदन गर्नुपर्छ भनिएको छैन । त्यो अनुमोदन भएको पनि मैले पाएको छैन । कमसेकम एकता घोषणा गर्नुभन्दा अगाडि रिपोर्टिङ पनि गर्नुपर्छ होला । त्यो रिपोर्टिङ पनि भएन । मलाई पार्टी कार्यालयका सचिव रामकुमार भट्टराईले फलाना दिन एकताको घोषणा छ, त्यहाँ तपाईँलाई पनि निम्ता छ भन्नुभयो । मैले हस् भनेँ । म त्यही शिरोपर गरेर एकता मानेर सहभागी भएको हुँ ।
- वामदेव पार्टीमा आउने कुरामा चाही तपाई खुसी हो ?
म बेखुस हुनुपर्ने कारण नै छैन । घोषणा सभामा मैले उहाँलाई मैले स्वागत पनि गरेँ । अङ्कमाल पनि गरेँ । मैले आफूले गर्नुपर्ने काम गरेँ । तर पार्टीले गर्नुपर्ने जुन प्रक्रिया, तरिका, पद्धति जे हुन्छ खोइ ? मैले त केही पनि थाहा पाइनँ ।
- अध्यक्षले पार्टी छोडे हुन्छ समेत भनेपछि के अब तपाई पार्टी छोड्नुहुन्छ कि के गर्नुहुन्छ ?
म कमरेड माधवकुमार नेपाललाई भन्छु–यति विधि असक्षम भएर एउटा वक्तव्य पनि लेख्न नसक्ने, एउटा अपानी पनि जारी गर्न नसक्ने, महाधिवेशन सम्पन्न भएको १३ महिना भइसक्यो । यो समयसम्म पनि पार्टी कार्यकर्तालाई कुनै निर्देशन दिन नसक्ने, यति असक्षम भएर नेतृत्वमा बस्नुभन्दा उहाँले राजीनामा गर्नु सबभन्दा राम्रो हुन्छ । मैले पार्टी छाड्ने होइन उहाँले चाहिँ छोड्नुपर्छ अहिले । अरू कसैले पनि छोड्दैन ।
- त्यसो भए अव माधव नेपालले चाहिँ छोड्नुपर्छ ?
हो । उहाँले आफ्नो पद छोड्नुपर्छ अब । म पार्टी छोड्नुहोस् भन्दिनँ तर पद छोड्नुपर्छ ।
- तपाईँले भन्दैमा उहाँले त पद छोड्नुहुन्न होला । यदि उहाँले छोड्नुभएन भने तपाईं विकल्प खोज्नुहुन्छ कि खोज्नुहुन्न ? अथवा तपाईँको समूह विकल्प खोज्छ कि खोज्दैन? के छ तयारी ?
यस बारेमा हामी पार्टीभित्र छलफल गर्छौँ । हामी वैचारिक रूपले छलफल गर्छौँ । नीतिगत र सैद्धान्तिक रूपले पनि छलफल गर्छौँ । छलफलका क्रममा आम कार्यकर्ताहरूको जे निर्णय हुन्छ, त्यो निर्णयका आधारमा अगाडि बढ्छौँ । (रातोपाटी)
WRITE COMMENTS FOR THIS ARTICLE