बुधबार, माघ ९, २०८१
Wednesday, January 22, 2025

डैंडरा मण्डली संस्कृति रहेको शालिजा

गण्डकीको पर्वत जिल्ला, जलजला गाउँपालिका-६, शालिजा मगर बहुल गाउँ हो। पुन मगरभित्रका उपथरहरू- पुर्जा, गर्बुजा, फगामी, खोरजा, पाइजा, चोचाङी र पहरे मगरको पुरानो बसोबास रहेको यो गाउँमा एकाध घर विक र दर्जी छन्।

राष्ट्रिय जनगणना, २०७८ अनुसार जलजला गापाको कुल जनसंख्या २१ हजार ११९ छ भने वडा नं. ६ शालिजाको एक हजार ८१२। फगामी मगरकी छोरीको देहत्यागको कथासँग जोडिएको डैंडरा मण्डली संस्कृति रहेको शालिजामा अहिले चारै दिशाबाट सडक जोडिएको छ।

डैंडरा मण्डलीको उत्पत्ति मिथक

उहिले पर्वत क्षेत्रमा कामपछिको फुर्सदिलो याममा गाउँठाउँ अनुसार तीर्थ-मेलाहरू लाग्ने गर्दथ्यो। त्यसमध्ये हालको राम्चे गाउँमाथि लाग्ने दद्री तीर्थको मेला धेरै प्रसिद्ध थियो। त्यहाँ चारचौरासका मानिस आउँथे।

६०० वर्ष अगाडिको कथा, शालिजाका किशोरीहरूले हुल कसेर दद्री मेला जाने सल्लाह गरेछन्। लुगाफाटा पनि तयार पारेछन्, तर मेलाको दिन फगामी दम्पतीले छोरीलाई जान दिएनछन्। साथीहरू घरमै बोलाउन आएर बाबुआमालाई सम्झाउँदा मेला जान नदिएपछि छोरीलाई ज्यादै दुःख लागेछ।

त्यस वेला शालिजाको तल्लो भूभाग (गाम)मा मात्र बस्ती थियो। माथिल्लो भागमा घना वन थियो, जहाँ बस्तुभाउका गोठहरू थिए। बाबुआमाको व्यवहारबाट ज्यादै दुःखी बनेकी फगामीकी छोरी साथीहरू मेलातिर लागेपछि माथिल्लो शालिजोको वनमा गएर ठूलो डेम्मरको हाँगामा झुन्डिइछिन्। त्यसरी प्राण त्याग्दा उनले मेलाका लागि भनेर तयार पारेको रातो खास्टोको पासो बनाइछिन्।

धेरै वर्षपछि उक्त डेम्मर सुकेर जराबाट अर्को रूख उम्रेछ। त्यस रूख वरपरबाट हिंडेका मान्छे र चौपायाहरू बिरामी हुने क्रम शुरू भएछ। किन यस्तो भयो भनेर धामीलाई हेराउँदा फगामीकी कन्ये छोरीको आत्मा डैंडरा मण्डलीका रूपमा उत्पत्ति भएको भन्ने भएछ। उनलाई फूल-अक्षता, भुसा चढाए ठीक हुने कुरा पनि धामीहरूले पत्ता लगाएछन्।

सो अनुसार गरिदिंदा बिरामीहरू निको भएछन्। त्यसरी डैंडरा मण्डलीको पूजा परम्परा शुरू भएछ। पछिपछि त पल्टनमा पनि कोही बिरामी हुँदा शालिजा मण्डलीलाई भाकल गर्ने चलन बसेछ।

फगामीकी छोरीको नाम हो- मण्डली। तिनी अविवाहित भएकीले फगामी कुलमै बायो उत्रिएको जनविश्वास छ। आफ्नो कुलमा बायो आएपछि फगामी खलकले डेम्मरको रूखभन्दा अलि माथि मण्डली थान (ढुंगामाटाको थपना) बनाएर पुज्न थालेकामा २०५७ सालमा आएर यस क्षेत्रका सबै मिलेर नयाँ थान निर्माण गरेका छन्।

मण्डली थानसँगै छ ठोटनेरी गाउँकी माहिली देउतिनी र कान्छी देउतिनीको थान पनि। अविवाहित अवस्थामै मृत्यु भएर देउतिनी बन्न पुगेका उनीहरूको थान बनाइएको थियो। उनीहरू डैंडरा मण्डलीसँगै रहेको भनेर झाँक्रीहरूले बकेपछि २०७३ सालमा माहिली र २०७८ मा कान्छी देउतिनीको थान बनाइएको हो।

डैंडरा मण्डलीको पूजाविधि

यस क्षेत्रका धामीझाँक्रीहरू डैंडरा मण्डलीलाई गुरु मान्छन्। शालिजा मण्डलीको नामले पनि पुकारिने यिनको मुख्य पूजा मंसीर र जेठ महिनाको पहिलो शनिबार गर्ने परम्परा छ। उक्त दिनमा असमर्थ हुनेहरूले आफ्नो सहजता अनुसार अरू वेला पनि पूजा गर्न सक्छन्।

पूजामा कुखुराको पोथी वा बाख्राको पाठीको बलि चढाइन्छ। भाकल अनुसार कसैले नौ बाजा त कोहीले अठार बाजा समेत ल्याएका हुन्छन्।

पूजा गर्नेले अघिल्लो दिन शुक्रबारै लिपपोत गरेर घर चोख्याई आफू पनि नुहाएर चोखो कपडा लगाउँछन्। बेलुकीपख कन्ये केटीले गाईको गोबरले अगेना वरिपरि लिपेर धामीझाँक्रीको सामा राख्छन्।

झाँक्रीले चोखो डालोमा आधा मकै भरेर त्यसमाथि चरेसको थालमा चामल र भेटी राखी शुद्ध तोरीको तेलले कपनीमा दियो बाल्छन्। दियो वरिपरि झाँक्रीका सामाहरू मिलाएर राखिन्छन्। यो दियो भोलिपल्ट पूजा नसकिंदासम्म निभ्न दिनु हुँदैन।

आयोबायोका लागि छुट्टै थालमा चामल र भेटी राखेर दियो बालिन्छ। त्यसपछि बाहिरको छेउनेभेउनेलाई धजा-अक्षताले मन्साइन्छ। आयोबायोको दियो पनि भोलिपल्ट मुख्य पूजा नसकियुन्जेल बलिरहनुपर्छ।

शुक्रबार बेलुका धूपदीप गरिसकेपछि झाँक्री बस्न थाल्छन्। रातभर झाँक्री बसेर शनिबार बिहान निगलाको टुप्पोमा धजा झुन्ड्याएर लिंगो बनाइन्छ। त्यसलाई अविवाहित केटाले समाउनुपर्छ। त्यसपछि अबीरको टीका लगाएर बलि दिइने कुखुराको पोथी वा बाख्राको पाठी समातेका कन्ये केटाहरू लिंगो पछाडि लाम लागेर बस्दछन्। यिनीहरूभन्दा पछाडि पूजामा जाने अरू सबै लामबद्ध हुन्छन्।

त्यसपछि घरभित्रबाट झाँक्री बस्दै निस्केर दायाँबाट तीन पटक घर परिक्रमा गर्छन्। घर घुम्दा सबै जना झाँक्रीको पछि लाग्छन्। बिहानै खटिएका पूजारेहरूले मण्डलीको थान लिपपोत गरेर नौ रेखी हालिराखेका हुन्छन्। त्यहाँ पुगेपछि झाँक्रीले मण्डलीको गुरुको नाममा रातो-सेतो धजा र अक्षता चढाउँछन्। त्यसपछि सिद्धलाई धजा-अक्षताले सम्झेर छेउनेभेउनेलाई मन्साइन्छ।

शालिजा मण्डली पुज्नेले थानमा छिटको धजा, काइँयो, चोक्ना, ऐना, टीका, फलफूल र चुरोट चढाउँछन्। छिटको जोडा धजा झुन्डाएर अक्षता छर्दै आफ्नो मनोकामना पुगोस् भनी पाठीको बलि दिइन्छ।

माहिली देउतिनीलाई ठोटनेरी गाउँको पाइजाकी छोरी र कान्छी देउतिनीलाई पुनकी छोरी भनिन्छ। यी देउतिनीलाई पनि शालिजा मण्डलीलाई झैं छिटको धजा, चुरोट, ऐना, चोक्ना, काइँयो र फलफूल चढाइन्छ। बलि चाहिं कुखुराको पोथीको दिइन्छ।

यसरी बलि दिएपछि झाँक्रीहरू बेस्सरी काँप्छन्। कुनै कुनै झाँक्री रुन्छन् पनि। पूजा सकिएपछि ‘सातो आयो’ भन्दै त्यहाँ चढाएको धजा सबैलाई घाँटीमा बाँधिदिने गरिन्छ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x