यूटीएलले अलपत्र पारेको ब्याकबोन नेटवर्क अब नेपाल टेलिकमले बनाउने, १ अर्ब ७७ करोडमा सम्झौता

काठमाडौं – नेपाल दूरसञ्चार प्राधिकरणले गण्डकी र लुम्बिनी प्रदेशमा अप्टिकल फाइबर ब्याकबोन नेटवर्क निर्माण गर्ने जिम्मा नेपाल टेलिकमलाई दिएको छ । यसअघि युनाइटेड टेलिकम लिमिटेड (यूटीएल)ले पाएको यो परियोजना उक्त कम्पनीको लाइसेन्स खारेज भएपछि प्राधिकरणले टेलिकमलाई सुम्पेको हो ।
प्राधिकरण र टेलिकमबिच शुक्रबार उक्त परियोजना निर्माणका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ । प्राधिकरणले टेलिकमलाई यो परियोजना निर्माणका लागि मूल्य अभिवृद्धि कर (भ्याट) बाहेक एक अर्ब ७७ करोड रुपैयाँ अनुदान उपलब्ध गराउनेछ ।
यसअघि यूटीएललाई यो परियोजना दुई अर्ब एक करोड रुपैयाँमा दिइएको थियो । १० वर्षअघि परियोजनाको कुल दूरी २,११७ किलोमिटर रहेकोमा यसबिचमा टेलिकमले आफ्नो नेटवर्क विस्तार गरेकाले अब १,९१५ किलोमिटर मात्र नयाँ नेटवर्क निर्माण गर्नुपर्ने छ । दूरी घटेसँगै परियोजनाको लागत पनि कम भएको प्राधिकरणले जनाएको छ ।
समझदारी अनुसार टेलिकमले यो वर्षबाट काम थालेर आगामी तीन वर्षभित्र परियोजना सम्पन्न गर्नुपर्नेछ । यो प्याकेज अन्तर्गत दुई प्रदेशका २३ जिल्लामा अप्टिकल फाइबर नेटवर्क विस्तार गरिनेछ ।
WRITE COMMENTS FOR THIS ARTICLE