बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

०६४ मा जनताले माओवादीलाई अवसर दिएकै हो, काम गर्न नसक्नु कमजाेरी-जनार्दन शर्मा

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका सांसद जनार्दन शर्माले जनताले पटकपटक अवसर दिँदा पनि नेताहरुले काम गर्न नसकेको भन्दै कटाक्ष गरेका छन् ।

आज बसेको प्रतिनिधि सभा बैठकमा खर्च कटौती प्रस्तावमाथि छलफलमा भाग लिँदै पूर्वमन्त्री समेत रहेका सांसद शर्माले सो बताएका हुन् ।

उनले अहिलेको बजेटले जनताको समस्या समाधान गर्न नसक्ने भन्दै कटाक्ष व्यक्त गरे । बहुदल आइसकेपछि नेताहरुलाई जनताले पटकपटक अवसर दिँदा समेत काम गर्न नसकेको उनले आरोप लगाए । ०४८ सालदेखि ०७४ सालसम्म पटकपटक पार्टीहरुलाई विश्वास गरे पनि जनताको पक्षमा काम हुन नसकेको उनको आरोप रहेको छ ।

त्यसो त उनले ०६४ सालमा बहुमत ल्याएको उनको दल माओवादी केन्द्रप्रति समेत कटाक्ष गरे । १० वर्षे जनयुद्धपछि माओवादीले बहुमत ल्याएको र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री हुँदा समेत मतको सदुपयोग हुन नसकेको आरोप लगाए ।

उनले पटकपटक ०४८, ०६४ र ०७४ सालमा को को प्रधानमन्त्री भएको हो ? भन्दै प्रश्न गरे ।

‘हाम्रो देश निर्माणका लागि ०४८ सालदेखि यता मात्रै ०४८, ०६४ देखि ०७४ सम्म आउँदाखेरी जनताले अवसर दिएको हो नेताहरुलाई । ०४८ मा एउटा नेतालाई अवसर दिएको थियो, ०६४ मा अर्को नेतालाई अवसर दिएको थियो, ०७४ मा अर्को नेतालाई अवसर दिएको थियो । अवसर पाउँदा पनि हाम्रा नेताहरुले देशलाई सम्हालेर किन अगाडी लैजान सकेनन् ? जनताले प्रश्न गरिरहेका छन् । अवसर नपाएर होइन, अवसर पाउँदापाउँदै पनि जनताको समस्याहरु समाधान गर्नेतिर नलागेको कुरा साँचो हो । अवसर पाउँदापाउँदै देश नबन्नु बढो दुखद कुरा हो । मैले नाम लिनु पर्दैन, ०४८ मा को हुनुहुन्थ्यो ?, ०६४ मा को हुनुहुन्थ्यो ? र ०७४ मा को हुनुहुन्थ्यो ? भनेर,’ नेताहरुप्रति कटाक्ष गर्दै उनले भने ।

त्यस्तै उनले राजनीतिक अस्थिरताको कुरा अघि सारेर आफ्नो गल्तीको ढाकछोप गर्ने प्रवृत्ति बढेको भन्दै कटाक्ष गरे । उनले राजनीतिक रुपमा अस्थिर मानसिकता रहेको भन्दै कटाक्ष गरे । एउटा सरकार बनेपछि तत्कालै वर्तमान सरकार ढल्ने र अर्को सरकार बन्ने भन्ने कुरा नेताहरुबाटै आउने भन्दै आफ्ना पार्टी अध्यक्ष प्रचण्डप्रति कटाक्ष गरे । वर्तमान सरकार बनेपछि प्रचण्डले सरकार ढलिहाल्ने भन्दै दिने गरेको अभिव्यक्तिप्रति लक्षित गर्दै सो कुरा बताए ।

‘राजनीतिक अस्थिरताको कुरा गरेर आज यहाँ गल्तीको ढाकछोप गर्ने काम गरिराखिएको छ । राजनीतिक अस्थिरता संख्याको कुरा होइन । अहिले दुई तिहाई सरकारकै बहुमत छ त ! दुई तिहाईकै सरकार रहँदा समेत मेरो सरकार ढल्दैन र ढल्छ भन्ने दोहोरी त चलिरहन्छ त ! यही त राजनीतिक अस्थिरता हो । यो मेन्टालिटीको कुरा रहेछ । हाम्रो मेन्टालिटी अस्थिर रहेछ । मेन्टालिटी अस्थिर रहेका कारण हामी स्थिरताका लागि काम अघि बढाउन सक्दैनौँ । कि हामी आफ्नो डिफेन्स गरिराख्नुपर्ने अवस्थामा छौँ, हाम्रो मेन्टालिटी नै त्यो खालको छ,’ उनले भने ।

त्यस्तै बजेट बनाउँदा स्वार्थ समूहको प्रभावमा परेर करका दर नै हेरफेर गर्ने प्रवृत्ति रहे पनि जनताको पक्षमा काम हुन नसकेको उनको आरोप छ ।

‘यहाँ करका दर रेटहरु त रातारात फेरि अर्को दिन अर्को आउँछ र भोलिपल्ट संशोधन हुन्छन्,’ उनले भने, ‘तर राष्ट्रलाई संकट आउने कुराहरुमा सुनुवाई हुँदैन । आज प्रश्नहरु गम्भीर छन् । यसरी समस्याहरु एकपछि अर्को गरी चुलिएका छन् ।’

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x