एजेन्सी । पाकिस्तान र अफगानिस्तानबीचको शान्तिवार्ता असफल भएको छ ।
टर्कीको इस्तानबुलमा यी दुई देशका प्रतिनिधिबीच वार्ता चलिरहेकोमा कुनै निष्कर्षमा नपुगी टुंगिएको छ । पाकिस्तानले अफगानिस्तानको भूमिमा प्रवेश गरेर तहरीक–ए–तालिबान पाकिस्तान (टीटीपी) माथि आक्रमण गर्न पाउनुपर्ने प्रस्ताव राखेको थियो । तर, अफगानिस्तानले कुनै पनि हालतमा यसलाई नमान्ने भन्यो ।
शान्तिवार्ता भंग भएपछि पाकिस्तानले कूटनीतिक मर्यादा समेत उल्लंघन गर्दै अफगानिस्तानलाई प्यादा भनी हेप्यो ।
अफगास्तिान तालिबानले पनि पाकिस्तानलाई चेतावनी दिँदै आफूहरूसँग आणविक हतियार नभएपनि अफगानिस्तानले कहिल्यै हार नमानेको कुरा पाकिस्तानीहरूले याद गर्नुपर्ने जनाएको छ ।
पाकिस्तानको मागलाई अफगान प्रतिनिधिहरूले नमान्ने भनेपछि पाकिस्तानी प्रतिनिधिमण्डल वार्ताको टेबलबाट उठेर हिँडेको थियो । यो गैरकूटनीतिक व्यवहार भएको अफगानीहरूको भनाइ छ ।
वार्ताका क्रममा अफगानिस्तानले आफ्नो भूमि पाकिस्तानविरुद्ध उपयोग हुन नदिने आश्वासन दिएको थियो । पाकिस्तानले अफगानिस्तानको हवाई क्षेत्रको उल्लंघन रोक्नुपर्ने र अमेरिकी ड्रोनहरूको उडान पनि बन्द गर्नुपर्ने अफगानीहरूले अनुरोध गरेका थिए ।
पाकिस्तानी प्रतिनिधिमण्डलले यसमा सहमति जनाउन थालेको भए पनि इस्लामाबादबाट अज्ञात फोन कल आएपछि कुरा बिग्रिएको थियो ।
अमेरिकी ड्रोनको कुरा आएपछि पाकिस्तानले कठोरता देखाउन थालेको बताइएको छ ।
पाकिस्तानका तर्फबाट मेजर जनरल शहाब असलमले वार्ता टोलीको नेतृत्व गरेका थिए । उनी गुप्तचर निकाय आईएसआईमा स्पेशल अपरेशन डिभिजन प्रमुख हुन् ।
इस्लामाबादले एक बाह्य मुलुकसँग ड्रोन उडानको अनुमति सम्बन्धी सम्झौता गरेको पाकिस्तानले त्यही वार्ताका क्रममा खुलासा गरेको थियो । त्यस सम्झौताबमोजिम पाकिस्तानले आफ्नो भूमिबाट बाह्य मुलुकको ड्रोन उडाउने अनुमति दिन्छ । यस व्यवस्थालाई खारेज गर्न नमिल्ने पाकिस्तानीहरूको भनाइ छ ।
पाकिस्तानको यो स्वीकारोक्ति अफगानिस्तानका लागि मात्र नभई वार्ताको मध्यस्थता गरिरहेका कतार र टर्कीका लागि पनि आश्चर्यजनक कुरा थियो ।
वार्ता विफल भएपछि युद्ध चर्किने जोखिम बढेको छ । अफगानिस्तानले आफ्नो भूमिमा आक्रमण भएमा इस्लामाबादलाई पनि निशाना बनाउने चेतावनी दिएको छ ।
अफगानिस्तान र पाकिस्तानबीच सीमामा संघर्ष भएपछि कतारको मध्यस्थतामा युद्धविराम भएको थियो । त्यसपछि शान्तिवार्ताको पहिलो चरण कतारमा भएको थियो । दोस्रो चरण टर्कीमा भइरहेको बेलामा अमेरिकी ड्रोनका कारण वार्ता भंग भएको हो ।


WRITE COMMENTS FOR THIS ARTICLE