सोमवार, भदौ १५, २०८३
Monday, August 31, 2026

फेरि ठूलो बाढीको जोखिम नरहेको जानकारी, तर सतर्क रहन आग्रह

चिनियाँ पक्षबाट प्राप्त भइरहेको जानकारी तथा त्यहाँका तस्बिरहरूको विश्लेषणबाट तत्काल ठूलो बाढीको जोखिम नदेखिएको जल तथा मौसम विज्ञान विभागका अधिकारीहरूले बताएका छन्।

विनाशकारी बाढीले निम्त्याएको हिम पहिरो गएको स्थान नेपालपट्टि परेतापनि त्यसको हवाई निरीक्षण गर्न चीनतर्फबाट सहज रहेकाले आफूहरूले चिनियाँ पक्षबाट नियमित अद्यावधिक जानकारी पाइरहेको उनीहरूले बताएका छन्।

गत बुधवार विशाल हिम पहिरो गएको स्थान नजिक बनेका दुई वटा तालहरूमध्ये एउटा तालले आइतवारबाटै निकास पाएको थियो भने अर्को ताल फुटिहाल्ने स्थितिमा नदेखिएको बताइएको छ।

‘पहिलो तालमा पिँधमा मात्र पानी’

“आइतवार निकास पाएको तालमा अब पिँधमा मात्र पानी छ र त्यो फुट्ने अवस्थाको होइन। अर्को दोस्रो ताल चाहिँ जस्ताको तस्तै देखिन्छ हिजो बेलुकीसम्म। त्यसबारे आज बिहान थप खबर आएको छैन,” विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् विनोद पराजुलीले बताएका छन्।

उक्त दोस्रो ताल धेरैपट्टिबाट चट्टानले घेरिएको देखिएको उनले बताए। “सो तालको एउटा आउटलेट (निकास) तर्फ पनि बाक्लो मोर्‍यान (चट्टान/हिउँका ढिक्का आदिको थुप्रो) देखिन्छ। त्यसैले चित्रहरू हेर्दा त्यसको फुट्ने जोखिम कम देखिन्छ। फुटिहाले पनि त्यसमा पानी अलि कमै भएको देखिन्छ,” पराजुलीले बताए।

तर स्थलगत निरीक्षण नगरीकन ठोकुवाका साथ भन्न नसकिने उनले बताएका छन्।

अहिले उक्त क्षेत्रका नदी किनारमा भएका बस्ती तथा भौतिक संरचना ध्वस्त भइसकेको र त्यहाँ मानिसहरूलाई फर्किहाल्न भन्ने स्थिति पनि नरहेको उनले बताए।

“हामीले अहिले त्यहाँ खासगरी सुरुङहरूमा खोज तथा उद्धारमा खटिएकाहरूको सुरक्षाका लागि पनि माथि कुनै घटना भइहाले सूचना दिनु पर्ने छ। दिउसोको अवस्थामा उद्धारकार्य जारी राख्न सकिए पनि रातिको समयमा चाहिँ रोक्न अनुरोध गरेका छौँ।”

त्रिभुवन विश्वविद्यालयको जल तथा मौसमसम्बन्धी केन्द्रीय विभागका प्रमुख प्राध्यापक डा टेकबहादुर क्षेत्रीले पनि आफूहरूको प्रारम्भिक अध्ययनमा फेरि ठूलो बाढीको खतरा नदेखिएको बताए।

“भूउपग्रहबाट लिइएका तस्बिरहरू हेर्दा त्यो क्षेत्रमा मुख्य बाढी आइसक्यो र अब ठूलो खतरा नभएको देखिन्छ,” उनले बताए।

आगामी दिनमा विश्वविद्यालयले यस्ता प्रकृतिका विपद्का बारे समग्र अध्ययन गर्ने गराउने तर्फ पहल गर्न लागेको उनले जानकारी दिए।

किन जानकारीका निम्ति चिनियाँ भर?

अहिले उक्त क्षेत्रको अवस्थाबारेको जानकारीहरूका निम्ति चिनियाँ पक्षमा भर पर्नु परिरहेको अधिकारीहरूले बताएका छन्।

हरेक दिन दुई-तीन पटक सूचना आउने गरेको उनले बताएका छन्। “फुटेको जानकारी वा तालको फैलावट आदि सम्बन्धमा नियमित जानकारी आइरहेको छ। आज पनि प्राप्त भएको छ।”

तस्बिरहरू चाहिँ चिनियाँ सरकारी सञ्चार माध्यमहरूमा प्रकाशित भएकाहरूको पनि जाँच गरिने गरिएको उनले बताए।

ती सूचना परराष्ट्र मन्त्रालयमार्फत् प्राप्त हुने गरेको तथा विशेषज्ञहरूको ‘वीच्याट ग्रुप’मा पनि राख्ने गरिएको बताइएको छ।

उक्त क्षेत्र दुई देशको सिमानामा नेपालपट्टि भए पनि स्थलगत निरीक्षणका लागि समेत चीनतर्फबाट पहुँच सहज रहेको उनले बताए।

“यताबाट जाँदा पहाड पार गर्नु पर्ने अनि हेलिकप्टर पठाउँदा पनि चिनियाँ भूभागमा प्रवेश नगरीकन त्यहाँ पुग्न नसक्ने अवस्था छ।”

तत्काल ठूलो वर्षा होला?

जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले सोमवार बिहान दिएको जानकारीमा हाल भोटेकोशी र त्रिशुली नदीको बहाव सतर्कता तहभन्दा तल रहेतापनि उच्च सतर्कताअपनाउनु पर्ने भनिएको छ।

“भोटेकोशीको हकमा हामीले सोमवार, मङ्गलवार र बुधवारका निम्ति अरेन्ज अलर्ट जारी गरेका छौँ। सामान्यतया वर्षाबाट सिर्जित हुने बाढीका निम्ति हामी यस्ता सावधानी जारी गर्ने गर्छौँ,” पराजुलीले बताए।

अहिलेको विषम परिस्थितिमा उक्त क्षेत्रमा सामान्य पानी पर्दा पनि ठूलो लेदो बहाव हुन सक्ने जोखिम रहने हुनाले सतर्क रहन भनिएको बताइएको छ।

“वर्षाको मात्र दृष्टिकोणबाट हेर्ने हो भने चाहिँ ठूलो वा लामो समयको भारी वर्षाको सम्भावना तत्काल छैन।”

प्राध्यापक क्षेत्रीका अनुसार बादलहरूको निगरानी गर्दा “तुरुन्ता तुरुन्तै ठूलो वर्षाको सम्भावना कमै” रहेको छ। बीबीसी

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x