गर्भनर नियुक्तिको विषय लज्जास्पद-नारायणकाजी श्रेष्ठ
काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष तथा पूर्व गृहमन्त्री नारायणकाजी श्रेष्ठले गर्भनर नियुक्तिको विषय लज्जास्पद बन्दै गएको टिप्पणी गरेका छन् । प्रेस सेन्टर नेपाल जिल्ला शाखा गुल्मीले सदरमुकाम तम्घासमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले वर्तमान सरकारले राष्ट्र बैंकको गर्भनर पदलाई राजनीतिक भागबण्डाको खेल बनाएको आरोप लगाएका हुन् ।
श्रेष्ठले कानुनअनुसार गर्भनर अवकाश हुनुभन्दा एक महिना अगावै नयाँ नियुक्ति गरिनुपर्ने प्रावधान हुँदाहुँदै पनि हालको सरकार कानुनी प्रक्रियाको उल्लंघन गर्दै सत्तारूढ दलका लागि पदको बाँडफाँड गरिरहेको बताए । ‘कांग्रेसले गर्भनर पद आफ्नो भागमा परेको भनेर खुलेआम भन्नु लज्जास्पद हो,’ उनले भने, ‘देशको सबैभन्दा महत्वपूर्ण आर्थिक नियामक संस्थाको प्रमुख पद यति हल्काफुल्का ढंगले बाँडिनु नेपाली जनताका लागि लाजमर्दो विषय बनेको छ ।’
उनले गर्भनर सिफारिस समिति निष्क्रिय रहेको आरोप पनि लगाए । ‘गर्भनर त विज्ञ, स्वच्छ र दक्ष व्यक्ति हुनुपर्ने हो,’ उनले भने, ‘तर कांग्रेस र एमालेले भागबण्डाको आधारमा राष्ट्र बैंकजस्तो संवेदनशील संस्थामाथि खेलबाड गरिरहेका छन् ।’
श्रेष्ठले वर्तमान सरकारसँग अंकगणितीय वैधानिकता मात्र रहेको उल्लेख गर्दै भ्रष्टाचार, निरंकुशता र अपारदर्शितालाई प्रोत्साहन गर्ने शैलीमा सरकार अघि बढिरहेको आरोप लगाए । ‘सरकार जनउत्तरदायी नभई सत्तामुखी बनेको छ,’ उनले भने ।
फरक प्रसंगमा बोल्दै उनले नेकपा माओवादी केन्द्र सरकार भत्काउने पक्षमा नरहेको स्पष्ट पार्दै सकारात्मक कामको अपेक्षामा सरकारलाई चेतावनी दिइरहेको बताए । ‘हामी सरकारमा जानै परे शर्तअनुसार मात्र जान्छौं,’ श्रेष्ठले भने, ‘हाम्रो शर्त भनेको स्वच्छता, सुशासन र जनमुखी कार्यशैली अपनाउनु हो ।’
प्रधानमन्त्री केपी शर्मा ओलीका पछिल्ला अभिव्यक्तिप्रति पनि श्रेष्ठले आलोचना गरे । ‘ओठे जवाफले देश चल्दैन,’ उनले टिप्पणी गर्दै भने, ‘प्रधानमन्त्री आफैंले अभिव्यक्ति सच्याउन जरुरी छ । राजनीति संस्कारयुक्त हुनु आवश्यक छ ।’


WRITE COMMENTS FOR THIS ARTICLE