बुधबार, माघ ९, २०८१
Wednesday, January 22, 2025

जब मान्छेले विचारले परास्त गर्न सक्दैन तब भ्रम सिर्जना गर्ने गर्दछन्–लेखराज भट्ट

काठमाडौं । नेकपा एमालेका सचिव लेखराज भट्टको एउटा भिडिओ यतिबेला सामाजिक सञ्जालमा भाइरल छ । पूर्वमाओवादी धारका नेता भट्ट भाइरल भिडिओमा पार्टी अध्यक्ष केपी शर्मा ओलीप्रति केही गरम सुनिन्छन् ।

ओलीले माओवादीलाई आतंककारी भनेकोप्रति पनि नेता भट्टले असन्तुष्टि जनाएको त्यो भिडिओमा सुनिन्छ । पछिल्लो केही दिनयताबाट भट्टले एमाले छाड्ने चर्चा चलाइरहँदा पुरानो भिडिओ बाहिर आएको हो ।

यद्यपि भट्टले आफूलाई पार्टी नेतृत्वप्रति कुनै गुनासो नभएको भन्दै एमाले छाड्न लागेको चर्चा अफवाहमात्र भएको बताए । पछिल्लो समय भट्टबारे चलेको चर्चा र भाइरल भिडिओबारे भट्टसँग छोटो कुराकानी

– एमाले नेतृत्वप्रति तपाईंले असन्तुष्टि पोखेको भन्दै अहिले सामाजिक सञ्जालमा एउटा भिडिओ भाइरल भएको छ । खास भएको के हो ?

मेरो पार्टी नेतृत्वप्रति कुनै असन्तुष्टि होइन । त्यो भिडिओ पार्टीको प्रदेश अधिवेशनको बेलाको हो । त्यतिबेला केही साथीहरू मकहाँ आउनुभएको थियो । उहाँहरूले हामीलाई (पूर्वमाओवादी) हरूलाई समेट्छन्, समेट्दैनन् भन्ने कुरा गरेका थिए । अनि मैले नेतृत्वसँग कुरा राख्नुपर्ने भए पनि राखौंला ।

हामी दायाँबायाँ गर्ने कुरा होइन । हामी यही पार्टीमा काम गर्न भनेर आएका हौं । कहिलेकाहीँ नेतृत्वले हामी पनि सँगै भएको बेलामा माओवादी यस्तो भनेर भन्दिहाल्नुहुन्छ, त्यतिखेर त अप्ठेरो लाग्छ । फेरि नेतृत्वले सम्झिनुहुन्छ, सच्याउनुहुन्छ, त्यो भएर हामी कहीँ जाने होइन । कि राजनीति छाड्ने कि त अर्को पार्टी बनाउन सक्नुपर्‍यो । अर्को पार्टी बनाउनेहरूको हविगत देखिसकिएको छ । त्यसैले हाम्रो लक्ष्य प्राप्ति एमालेबाटै हुन्छ भनेर मैले कन्भिन्स गर्दाको दुई वर्षअगाडिको कुरा हो ।

– भनेपछि त्यो भाइरल भिडिओ हालसालैको होइन ?

होइन, दुई वर्षअगाडि मेरो स्वास्थ्यमा समस्या आएर घरमै आराम गरिबसेको थिएँ । त्यो बेलाको कुरा हो । दुई वर्षअघि पार्टीको प्रदेश अधिवेशन भएको थियो । त्यो कसले रेकर्ड गरेको हो भन्ने थाहा छैन । त्योभन्दा अगाडिको कुरा पनि छैन, पछाडिको पनि छैन । त्यो सानो राखेको छ, त्यहाँ पनि मैले बोलेको कुरा सुन्दा स्पष्टै हुन्छ नि ! मैले गरेको कुरा नेगेटिभ छैन ।

– त्यो भिडिओमा पनि तपाईंले अध्यक्षले माओवादीलाई आतंककारी भनिदिनुहुन्छ भन्ने कुरा राख्नुभएको छ । त्यसमा चाहिँ तपाईंको केही विमति हो ?

कहिलेकाहीँ अध्यक्षले भुल्नुहुन्छ, हामी त्यहीँ हुँदाहुँदै फ्याट्ट बोल्नुहुन्छ अनि पछि सच्याउनुहुन्छ भनेको छु मैले साथीहरूलाई कन्भिन्स गर्दा, त्यसलाई अन्यथा मान्नुभएन । बरु लागेको कुरा नेतृत्वसँग भन्ने हो । त्यसैले मैले साथीहरूलाई कन्भिन्स गर्ने क्रमको कुरा हो त्यो ।

– यो हुँदै गर्दा तपाईंले एमाले छाड्न लाग्नुभयो भन्ने चर्चा हुन थालेको छ नि !

यो माओवादीबाटै हल्ला सुरू भएको हो । यहाँ एक जना रुपेश भन्ने हुनुहुन्छ । पहिला माओवादीबाटै आएको मान्छे हो, उहाँलाई के चित्त बुझेन ४६ जनाले पार्टी छाडेको भन्ने चर्चा गरे । अरुले त्यसको खण्डन पनि गरिसकेका छन् । त्यसमा माओवादीको केही स्थानीय नेताहरूले मलाई पनि जोडेर चर्चा गरेका हुन् । त्यो गैरराजनीतिक कुरा हो । जब मान्छेले विचारले परास्त गर्न सक्दैन, भ्रम सिर्जना गर्ने हुन् ।

अन्तरविरोध र शंका सिर्जना गर्न सकिन्छ कि भनेर ममाथि प्रहार भइरहेको छ । जस्तो टोपबहादुरजीलाई पूर्वाग्राही भएर भित्र हाले, उहाँ कहीँ जोडिएको त देखिन्न । त्यो अहिले अदालतको प्रक्रियामा छ, हामीले बोल्ने कुरा भएन । त्यो कुरा हाम्रो नेतृत्वले पनि बुझेको छ । त्यही भएर हामी ढुक्क भएर बसेका छौं ।

माओवादीबाट आएका बाँकी अब ममात्रै हुँ । ममाथि विभिन्न खालको प्रहार भइरहेका छन्, उनीहरूले कसरी अन्तरविरोध र अविश्वास पैदा गर्ने भन्ने कुराबाट यी अहिले चर्चा भइरहेको विषय हो ।

– अहिले चर्चा भए जस्तो पार्टी नेतृत्वप्रति कुनै असन्तुष्टि र गुनासो छैन ?

त्यस्तो असन्तुष्टि भएको भए त म बस्दै बस्दिनँ थिए नि ! जब नेतृत्वप्रति शंका, गुनासो र अविश्वास हुन्छ भने म एमालेमा बस्न केले रोक्छ ? हाम्रो यही भविष्य छ, यही बसेर जनता र राष्ट्रको काम गर्न सकिन्छ, पार्टीले लिएका लक्ष्यहरू यहीबाट पूरा गर्न सकिने विश्वाससहित बसेका हौं । नत्र कसैले रोकेर यहाँ रोकिने कुरा हुन्छ र ?

गुनासाहरू कहिलेकाहीँ भए भने त्यो नेतृत्वसँग राख्ने कुरा हो । बाहिर बोल्दै हिँड्ने कुरा होइन । म जिम्मेवारीमा छु, मैले बाहिर बोल्दै हिँड्ने कुरा होइन । पार्टीका विधि र पद्धतिलाई मानेर जाने मेरो स्कुलिङ पनि त्यही हो । मेरो संस्कार पनि त्यही हो । त्योभन्दा बाहिर पार्टी नेतृत्वको विरुद्ध बोलेको छैन । त्यसैले साथीहरूले असन्तुष्टि व्यक्त गरेपछि कन्भिन्स गर्ने सिलसिलामा भएको कुरा हो ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x