बुधबार, माघ ९, २०८१
Wednesday, January 22, 2025

अदालतमा रवि र छविबीच आरोप प्रत्यारोप

काठमाडौं,- सूर्यदर्शन सहकारी ठगी प्रकरणमा गोरखा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेसहित तीन जनाको बयान सकिँदा सबैले जीबी राईलाई दोष दिएका छन् । रवि र उनका साझेदार जोशीलाल जोशी बञ्जाडेले भने एक आपसमा दोष थुपारेका छन् ।

रवि, छवि र नेटवर्ककै अध्यक्ष गितेन्द्रबाबु (जीबी) राईकी प्रेमिका भनिएकी लीला पछाईको बयान सकिँदा सबैलेले जीबीलाई आरोप लगाएका छन् ।

छविले भने रविको नाम लिँदै उनी र जीबी मिलेर सहकारी रकम गोरखा मिडियामा ल्याउने योजना बनाएको बताएका छन् ।

उता रविले पनि जीबी र छविलाई दोष लगाएका छन् ।

स्रोतले भन्यो ‘छबिले रविको र जीवीको नाम लिइरहँदा रविले जीबी र छविलाई दोष लगाएर उम्कन खोजेका छन् ।’

छविले बयानमा गोरखा मिडिया नेटवर्कको बैंक खातामा रकम जुटाउने कार्य जीबीले गर्ने गरेको र बैंकमा मौज्दात रहेको रकम खर्च गर्ने काम रविले गरेको उल्लेख गरेको छन् ।

रविले छविको बयानलाई स्विकार्दै आफूले संस्थाको निर्णयअनुसार आफूले चेक काटेर भुक्तानी गर्ने गरेको स्वीकार गरेका छन् । तर, सहकारीको रकम ल्याइएको विषय छविलाई थाहा हुनुपर्ने भनेका छन् ।

जीबी राईकी प्रेमिका भनिएकी लीलाले आफूलाई जीबीले भने \ गराएअनुसारको काम गरेको बयान अदालतमा दिएकी छिन् ।
न्यायाधीश नितिज राईको इजलासमा धमाधम बयान भइरहेको छ ।

आइतबार प्रतिवादीहरू रामबहादुर खनाल, देवकुमार नेपाली, ओमप्रकाश गुरुङ र कृष्णबहादुर गुरुङको बयान अगाडि बढेको छ । आइतबार बयान दिएका रामबहादुर खनालले पनि जीबी राईकै नाम पोलेका स्रोतले बताएको छ ।

सरकारी वकिल कार्यालयका अनुसार यो साताभित्रै नियन्त्रणमा परेका सबै प्रतिवादीको बयान सकाएर थुनछेक बहस शुरू हुनेछ ।

सरकारी वकिल कार्यालयले ४४ जनालाई प्रतिवादी बनाएको छ । जसमा सम्पत्ति जफततर्फ छविकै श्रीमती पद्मा बञ्जाडे जोशी, छविका छोरा रोचक जोशी, रामबहादुर पछाईकी श्रीमती राधा पछाई र रविकी श्रीमती निकिता पैडेललाई प्रतिवादी बनाइएको छ ।

प्रतिवादीहरूले १ अर्ब ५१ करोड ४० लाख १९ हजार १ सय ९४ रुपैयाँ ३ पैसा रकम अपचलन गरेको आरोप छ ।

उनीहरूले आफूहरूले व्यक्तिगत लगानीसमेत नगरी सहकारी संस्थाको रकम अपचलन गरेर संस्थालाई हानी नोक्सानी गराएको देखिन्छ ।

कास्की जिल्ला अदालतमा थुनछेक बहस भएसँगै रविलाई थुनामा नपठाई धरौटीमा छाडेको अवस्थामा तत्कालै त्यहाँबाट मुद्दा अभियोजनका लागि रुपन्देही अदालतमा पेस गर्ने तयारी प्रहरीको छ ।

सूर्यदर्शन सहकारीको रकम गोरखा मिडियामा लगेर अपचलन गरेको आरोप प्रतिवादीहरूलाई लागेको हो ।

गोरखा मिडियामा सूर्यदर्शनसँगै, कालिमाटीको स्वर्णलक्ष्मी, चितवनको सहारा, पर्साको सानोपाइला र रुपन्देहीको सुप्रिम सहकारीको रकम लगेर अपचलन गरेको आरोप प्रतिवादीहरूमाथि छ ।

सरकारी वकिलको कार्यालयले गत आइतबार रविसहित ४४ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको थियो । जसमध्ये ८ वटा कम्पनी र पाँच जनाविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएको हो। अन्यविरूद्ध सहकारी र सङ्गठित अपराधमा मुद्दा दायर भएको हो ।

सम्पत्ति शुद्धीकरणमा रवि , पूर्वडिआइजी छवि, उनका साझेदार रामबहादुर खनाल, लीला पछाई र जीवी राईविरूद्ध मुद्दा दायर भएको हो। जीवी फरार छन् । अन्य चारै जना प्रहरी हिरासतमा छन् ।

रविविरुद्ध चारवटा कसुरमा छुट्टाछुट्टै सजायको माग गरी मुद्दा दायर भएको छ । सहकारी ऐन २०७४, सङ्गठित अपराध निवारण ऐन, २०७०, सम्पत्ति शुद्धीकरण ऐन, २०६४ र मुलुकी अपराध संहिता २०७४ को एकीकृत कसुर अनुसारको सजाय माग गर्दै मुद्दा दायर गरेको हो ।

रविविरूद्ध सुर्यदर्शन बचत तथा ऋण सहकारीको बचत रकम अपचलन गरेको पहिलो कसुरमा आरोप दायर भएको छ । यसमा रविको मात्रै तीन करोड ३७ लाख ६५ हजार रुपैयाँ बिगो कायम गरेको छ ।

यस कसुर अनुसार एक करोड भन्दा बढी १० करोड रुपैयाँसम्म बिगो भएमा चार वर्षदेखि ६ वर्षसम्म कैद सजायको माग सरकारी वकिलले गरेको छ ।

रविविरूद्ध अर्को कसुर सङ्गठित अपराधको छ ।

सङ्गठित अपराध निवारण ऐन, २०७० को दफा ३ अनुसार कसुर गरेको आरोप रविमाथि छ । उक्त दफा अनुसार सङ्गठित अपराध गर्न नहुने भनिएको छ।

यसमा तीन वर्षभन्दा बढी कैद सजाय हुने कसुर मानिएको छ ।

त्यस्तै दफा ५ अनुसार आपराधिक समूह स्थापना गर्न नहुने भनिएकोमा ५ वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्मको जरिवाना हुने उल्लेख छ ।

त्यसैगरी रविमाथि सम्पत्ति शुद्धीकरणको पनि कसुर आकर्षित भएको जिकिर सरकारी वकिलले गरेको छ ।

सम्पत्ति शुद्धीकरण ऐन, २०६४ को दफा ३ अनुसारको कसुर भएको भन्दै सजाय माग गरेको छ । सरकारी वकिलले रविविरूद्ध २७ करोड ८९ लाख ४४ हजार ७०५ रुपैयाँको स्रोत नखुलेको भन्दै बिगो माग गरेको छ ।

त्यसअनुसार बिगोको दोब्बर जरिवाना र कसुरको गम्भीरता अनुसार दुई देखि १० वर्षसम्म कैद सजायको माग गरिएको हो ।

सम्पत्ति शुद्धीकरणमै लामिछानेको सम्पत्ति वा साधन पनि जफत गर्न माग गरेको छ । सम्पत्ति जफत प्रयोजनकै लागि सरकारी वकिलले उनकी श्रीमती निकिता पौडेललाई पनि प्रतिवादी बनाएको छ ।

यो कसुर अनुसार मुद्दा दायर भएसँगै रविको पद पनि निलम्बनमा पर्ने भएको छ । अब उनको सांसद पद निलम्बनका लागि सरकारी वकिलको कार्यालयले संसद् सचिवालयलाई पत्राचार गर्नेछ ।

सम्पत्ति शुद्धीकरण ऐन, २०६४ को दफा २७ अनुसार राष्ट्र सेवकविरूद्ध मुद्दा दर्ता भएमा निलम्बनमा पर्ने व्यवस्था छ ।

रविले एक भन्दा बढी कसुर गरेको भन्दै एकीकृत कसुर अनुसार थप सजाय पनि माग गरेको छ । मुलुकी अपराध संहिताको २०७४ को दफा ४३ अनुसार सरकारी वकिलले थप सजाय माग गरेको छ ।

त्यसमा सजाय गर्दा सबैभन्दा बढी सजाय हुने कसुर बापतको सजाय र त्यसपछिको अधिकतम सजाय हुने अर्को कसुर बापतको सजायको आधा सजाय थप गरी सजाय गर्नुपर्ने भनिएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x