कांग्रेसभित्र अन्तरसंघर्ष चर्कियाे
काठमाडौं,- फेरि एकपटक सत्तारुढ नेपाली कांग्रेसभित्र अन्तरसंघर्ष चर्किएको छ । एमालेसँग सत्ता समीकरण निर्माणसँगै सतहमा देखिएको अन्तरसंघर्ष क्रमशः बढ्दै गएको हो ।
अहिले विशेषगरी इतर समूहका नेता शेखर कोइरालाले मैदानमै उत्रिएर संस्थापनमाथि औंला ठड्याउन थालेका छन् । उनले चुनौति दिने गरी आफूलाई सक्रिय बनाएका छन् ।
अहिले कांग्रेस विधानतः भद्रगोल अवस्थामा छ । विधानको व्यवस्थाअनुसार महाधिवेशन सम्पन्न नभएको ६ महिनाभित्र पार्टीका सबै संरचनालाई पूर्णता दिइसक्नु पर्ने हो । यद्यपि, बाध्यकारी वैधानिक व्यवस्थालाई लत्याउँदै पार्टी सभापति शेरबहादुर देउवा अगाडि बढिरहेका छन् । जसको कारण एकातिर गुतगट विवाद चुलिँदो छ भने अर्कोतिर अधिकांश संघ–संगठन विघटनको अवस्थामा छन् ।
यसअघिकै अभ्यासलाई दोहो¥याउँदै देउवाले भातृ संघको महाधिवेशन गराउनेभन्दा मनामौजी मनोनित गराउने परम्परा थालेका छन् । २०७३ यता नै सबैजसो भाृत संस्थाको केन्द्रीय समिति भंगको अवस्था छ ।
१५ औं महाधिवेशनको मिति नजिकिँदै गर्दा पनि सभापति देउवाले भातृसंस्थाहरुलाई क्रियाशिल बनाउन कुनै कदम चालेका छैनन् । यस्तोमा इतर समूह विभिन्न नाममा अभियानमा जुटेको छ ।
भ्रदगोल अवस्थाकै बिच इतर समूहले समानान्तर शैलीमा भेला आयोजना गर्न थालेको छ । जसको सुरुवात इतर समूहले कोशी प्रदेशबाट गरेको छ ।
मंसिर १८ र १९ मा प्रदेशभित्रका पालिका र जिल्ला सभापतिको भेला गरेको इतर समूहले अब देशव्यापी भेला गर्ने तयारी गरेको छ । इतर समूहले समानान्तर भेला गर्न थालेपछि संस्थापनले परिपत्र नै जारी गरी सचेत गराएको थियो । यद्यपि, संस्थापनको परिपत्रलाई उल्लंघन गरेको समूहले जसलाई देशव्यापी निरन्तरता दिने तयारी थालेको छ ।
कोशीमा भएको भेलामा सहभागिलाई सम्बोधन गर्दै कोइरालाले सबैको संरक्षण गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । पालिका सभापतिहरूलाई आवश्वस्त पार्दै उनले भनेका थिए) , ‘कुनै किसिमको डर, धाक, धम्कीबाट आत्तिनुभएन । तपाईंहरू निस्फिक्री भएर घर जानुस् । तपाईंहरूको संरक्षण म गर्छु ।’ गुटले गर्दा राम्रा र दुःख गर्ने मान्छे टाढा भएर टिकट प्राप्त नगर्ने समस्या रहेको सुनाएका कोइरालाले १५औं महाधिवेशनपछि गतल कार्य हुन नदिने प्रतिबद्धता व्यक्त गरे ।
उनले देउवालाई ‘५१ प्रतिशत पुगेपछि मात्रै भेट्छु’ भन्दै चुनौतिसमेत दिएका छन् ।
अब कोइराला समूह देशव्यापी अभियानमा जुट्दै गर्दा त्यसको प्रभाव कांग्रेसभित्र कस्तो पर्ला भन्ने आमरुपमा चाँसो बनेको देखिन्छ । यो सक्रियताले कतै पार्टी नै विभाजित त हुँदै नभन्ने पनि चिन्ता देखिन्छ ।
अहिले एकातिर कांग्रेसको संस्थापन पक्षभित्रै विभाजनको अवस्था देखिन्छ भने सत्ताको कारण इतर समूह पनि विभाजित छ । यस्तोमा देउवाको विश्वास जित्न कस्सिएका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा अप्ठ्यारोमा देखिएका छन् । कोइराला एक्लै समानान्तर भेलामा जुटिरहँदा महामन्त्रीद्वय संस्थापन पक्षतर्फ उभिने कि इतर पक्षमा फर्किने संकटमा देखिन्छन् ।
सँगै विकसित अन्तरसंघर्षले कोइरालाई बलियो बनाउँदै लगेको छ भने अन्यमाथि प्रश्न उठाएको छ । अहिले देखिएको अन्तरसंघर्षको प्रभावले कांग्रेसभित्र नयाँ–नयाँ गुट निर्माण हुने सम्भावनालाई पनि दर्शाएको छ ।
WRITE COMMENTS FOR THIS ARTICLE