वरिष्ठ उपाध्यक्ष पद खारेज गर्दै नेकपा एमाले

काठमाडौं – नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको ‘वरिष्ठ उपाध्यक्ष’ पद खारेज हुने भएको छ । पूर्वराष्ट्रपति विद्या भण्डारीको पक्षमा खुलेका पोखरेलको वरिष्ठ उपाध्यक्ष पद खारेज गर्न लागेको हो ।
एक नेताका अनुसार आज बस्ने पार्टीको केन्द्रीय सचिवालयको बैठकले पोखरेलको वरिष्ठ उपाध्यक्ष पद नै नरहने गरि विधानमा संशोधन गर्न लागेको छ । आगामी भदौमा हुने विधान महाधिवेशनको तयारीका विषयमा छलफल गर्न एमाले सचिवालय बैठक बिहीबार (आज) दिउँसो बस्दैछ ।
अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने बैठकले पार्टीमा वरिष्ठ उपाध्यक्ष पद नै नरहने निर्णय गर्न लागेको ती नेताले बताए । हाल एमालेमा ६ जना उपाध्यक्षमध्ये एक बरिष्ठ उपाध्यक्ष रहेका छन् ।
आगामी भदौ २०, २१ र २२ गते ललितपुरको गोदावरीमा एमालेको दोस्रो विधान महाधिवेशन हुँदैछ । एमालेमा पछिल्लो समय ७० वर्षे उमेरहद र अध्यक्षको २ वर्षे कार्यकालबारे विवाद चर्किँदै गएको छ । आज बस्नेसचिवालय बैठकमा विधानमा हुने संशोधनका विषयमा छलफल हुने एजेण्डा छ । नयाँ संशोधित विधान आजको सचिवालय बैठकले पारित गर्ने तयारी छ ।
WRITE COMMENTS FOR THIS ARTICLE