बुधबार, भदौ ३१, २०८३
Wednesday, September 16, 2026

कांग्रेसकाे निर्वाचन निर्देशिका २०८३ जारी

काठमाडौं – नेपाली कांग्रेसले निर्वाचन निर्देशिका २०८३ जारी गरेको छ। पार्टीको १५ औं महाधिवेशनलाई मर्यादित,व्यवस्थित र पारदर्शी बनाउने उद्देश्यले केन्द्रीय निर्वाचन समितिले नयाँ निर्देशिका जारी गरेको हो।

निर्देशिकामा निर्वाचन अधिकृत तथा मतदान अधिकृतको नियुक्ति, उनीहरूको काम, कर्तव्य र अधिकार, मतदाता नामावली प्रकाशन तथा निर्वाचन प्रतिनिधिसम्बन्धी व्यवस्था गरिएको छ।

निर्देशिकाअनुसार निर्वाचन अधिकृतले नेपाली कांग्रेसको मूल्य र आदर्शसँग नजिक रहेका शुभेच्छुक तथा सहयोगी संस्था र सामाजिक व्यक्तित्वहरूमध्येबाट आवश्यकताअनुसार मतदान अधिकृत नियुक्त गर्न सक्नेछन्।

त्यस्तै,निर्वाचन प्रतिनिधि, निर्वाचन अधिकृत वा मतदान अधिकृत आफू खटिएको वडा, गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका, महानगरपालिका, प्रदेश सभा क्षेत्र, प्रतिनिधिसभा क्षेत्र, जिल्ला, प्रदेश वा नेपाली जनसम्पर्क समितिमा हुने निर्वाचनमा कुनै पनि पद वा प्रतिनिधिका लागि उम्मेदवार बन्न नपाउने व्यवस्था गरिएको छ।

निर्देशिकामा पार्टीका विभिन्न तहमा निर्वाचन सम्पन्न गर्न निर्वाचन समिति,निर्वाचन अधिकृत तथा मतदान अधिकृतलाई सम्बन्धित तहका पार्टी पदाधिकारी तथा सदस्यहरूले आवश्यक सहयोग गर्नुपर्ने उल्लेख छ।

विदेशस्थित नेपाली जनसम्पर्क समितिको अधिवेशनका लागि केन्द्रीय निर्वाचन समितिले नेपालबाट निर्वाचन प्रतिनिधि खटाउने व्यवस्था पनि निर्देशिकामा गरिएको छ। नेपालबाट प्रतिनिधि खटाउन सम्भव नभए सम्बन्धित राष्ट्रमा कार्यरत नेपाली नागरिक वा नजिकको देशबाट प्रतिनिधि खटाउन सकिने व्यवस्था छ।

यसरी खटाइएका निर्वाचन प्रतिनिधि वा अधिकृतले सम्बन्धित देशको अधिवेशनमा कुनै पनि पदमा उम्मेदवार बन्न वा सर्वसम्मत छनोट हुन नपाउने व्यवस्था निर्देशिकामा गरिएको छ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x