सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध विभिन्न व्यक्तिहरूले सर्वोच्चमा रिट दिए
काठमाडौं – विभिन्न सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस भएको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी लगायतले रिट निवेदन पेस गरेका हुन् ।
बिहीबार रातिदेखि फेसबुकसहितका २६ वटा सामाजिक सञ्जाल बन्द गर्ने सरकारी निर्णय आएपछि शुक्रबार विभिन्न व्यक्तिहरूले सर्वोच्चमा रिट दिएका हुन् ।
सर्वोच्च अदालतका सहायक प्रवक्ता निराजन पाण्डेका अनुसार रिटहरू आउने क्रम जारी भएकाेले अहिलेसम्म रिट दर्ता भने भएको छैन ।
एकै विषयमा धेरै रिट आएकाले सबैलाई एकैपटक अध्ययन गरेर मात्रै दर्ता गर्ने तयारी भइरहेको उनले बताए ।
सरकारले यसअघि सर्वोच्च अदालतकै फैसलालाई आधार मानेर सूचीकरणमा नआएका २६ वटा सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको हो ।
सो निर्णयअनुसार दूरसञ्चार र इन्टरनेट सेवा प्रदायक कम्पनीहरूले ती प्लेटफर्म बन्द गरिएको सूचना जारी गरिसकेका छन् ।


WRITE COMMENTS FOR THIS ARTICLE