अमेरिकाले सिरियाबाट सेना फिर्ता बोलाउने
अमेरिकाले आउँदा केही महिनामा सिरियामा बाँकी रहेका आफ्ना सैनिकहरूलाई फिर्ता बोलाउने तयारी गरिरहेको ह्वाइटहाउसका एक वरिष्ठ अधिकारीले बीबीसीलाई बताएका छन्।
ती अधिकारीका अनुसार सिरिया सरकार आफ्नो सीमाभित्र आतङ्कवादविरुद्ध लड्नका लागि नेतृत्व लिन सहमत भएको छ र व्यापक स्तरमा अमेरिकी सैन्य उपस्थिति आवश्यक नरहेको जनाएको छ।
सन् २०१५ यता अमेरिकी सेना इस्लामिक स्टेट (आईएसआईएस)को प्रभावलाई रोक्ने आतङ्कवादविरोधी अभियानको हिस्साको रूपमा सिरियामा तैनाथ छ।
इरानसँग तनाव बढ्दै जाँदा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले मध्यपूर्वमा सैन्य उपस्थिति बढाएका बेला यो निर्णय आएको हो।
कति सैनिक छन् ?
ती अधिकारीले सिरियामा बाँकी रहेका झण्डै १,००० सैनिक फिर्ता गर्ने निर्णय सशर्त सङ्क्रमणकालको अंश रहेको र अमेरिका यस क्षेत्रमा हुने कुनै पनि खतराको जवाफ दिन तयार रहने बताएका छन्।
वाल स्ट्रिट जर्नल पत्रिकाले पहिलो पटक प्रकाशित गरेको समाचार अनुसार मध्य पूर्वमा र खासगरी इराननजिकै अमेरिकी सैन्य उपस्थिति बढ्दै जाँदा यस्तो खबर आएको हो।
बीबीसी भेरिफाइले इराननजिकै गाइडेड मिसाइल डिस्ट्रोएअर र दर्जनौँ लडाकु जेटहरूसहितको अमेरिकी विमानवाहक युएसएस अब्राहम लिङ्कन परिचालन भएको अवस्थाको पुष्टि गरेको छ।
अमेरिकाले संसारको सबैभन्दा ठूलो युद्धपोत युएसएस जेराल्ड आर फोर्डलाई पनि मध्यपूर्वमा पठाएको जनाएको छ जुन अर्को तीन साताभित्र उक्त क्षेत्रमा पुग्ने अनुमान गरिएको छ।
वरिष्ठ राष्ट्रिय सुरक्षा अधिकारीहरूले बीबीसीको मिडिया साझेदार सीबीएस न्यूजलाई बताए अनुसार ट्रम्पले आउँदो शनिवारसम्ममै अमेरिकी सेना इरानमा सम्भावित आक्रमणका लागि तयार हुने बताएका थिए। यद्यपि उनले अहिलेसम्म अन्तिम निर्णय गरेका छैनन्।
सिरियामा अमेरिकी सेनाले यस वर्षको सुरुमा दक्षिणी भागको अल तान्फ ग्यारिसन र उत्तरपूर्वको अल शद्दादी सैन्य अखडा छोडिसकेको छ।
सुरक्षा व्यवस्था सुध्रिएको हो ?
सन् २०२४ मा असद सरकारको पतन र सिरियामा सुरक्षास्थितिमा उल्लेखनीय सुधार आउँदै गर्दा इस्लामिक स्टेट कमजोर बनेपछि यी परिवर्तनहरू भएका छन्।
त्यसबेलादेखि नै ट्रम्प प्रशासनले दमास्कससँगको आफ्नो कूटनीतिक सम्बन्धलाई बलियो बनाउन र सिरियाली राष्ट्रपति अहमद अल(शारासँगको आफ्नो साझेदारी बढाउन खोजेको छ।
कुर्दिश नेतृत्वको सिरिअन डेमोक्र्याटिक फोर्सेस सिरियाको सशस्त्र सेनासँग समायोजनतस्बिर स्रोत,च्भगतभचक
तस्बिरको क्याप्शन,कुर्दिश नेतृत्वको सिरिअन डेमोक्र्याटिक फोर्सेस सिरियाको सशस्त्र सेनामा समायोजन हुने सहमति भएको छ
शाराले गत नोभेम्बरमा ह्वाइटहाउसमा ट्रम्पलाई भेटेका थिए जुन उक्त देशको इतिहासमा सिरियाली नेताको पहिलो त्यस्तो भ्रमण थियो।
तर ज्यानुअरीमा भएको एउटा सम्झौता अनुसार कुर्दिश नेतृत्वको सिरिअन डेमोक्र्याटिक फोर्सेस सिरियाको सशस्त्र सेनासँग समायोजन हुनेछ।
युद्धविराम कायम राख्ने छलफल गर्न अमेरिकी विदेशमन्त्री मार्को रुबिओले गत साता आफ्ना सिरियाली समकक्षी विदेशमन्त्री असाद अल(शैबानीसँग भेटेका थिए।
रुबिओले आतङ्कवादविरुद्धका निरन्तर लडाइँका बारेमा पनि आफ्नो चिन्ता व्यक्त गरेका थिए।
पेन्टागनका अनुसार गत डिसेम्बरमा एक अनुवादक र आयोवा न्याश्नल गार्डका दुई सदस्यहरू आईएसआईएस बन्दुकधारीले गरेको आक्रमणमा मारिएका थिए।
त्यसको जबाफस्वरूप ट्रम्प प्रशासनले आईएसआईएसविरुद्ध ‘अपरेशन हकआई स्ट्राइक नाम दिइएको शृङ्खलाबद्ध आक्रमणहरू गरेको थियो।
बीबीसी न्यूज नेपाली


WRITE COMMENTS FOR THIS ARTICLE