शनिबार, फाल्गुन २, २०८२
Saturday, February 14, 2026

सयौँ वर्ष पुरानो पुतली नाच बागलुङ्गमा हालसम्म पनि नाँचिदै

ढोरपाटन- बागलुङ हरेक वर्ष माघ ३ गते नाच्ने गरिन्छ सयौँ वर्ष पुरानो पुतली नाच । पुतली नाचका लागि माघ २ गते साँझदेखि नै भल्कोट गाउँमा स्थानीयको चहलपहल हुने गर्छ । बागलुङको निसीखोला गाउँपालिका–६ भल्कोट गाउँमा प्रचलनमा रहेको यो नाच सयौँ वर्ष पुरानो मानिन्छ ।

बाइसेचौबीसे राजाको पालादेखि नाचिदै आएको पुतली नाच अहिलेका युवा पुस्ताहरूमा पनि लोकप्रिय नै छ । वर्षमा एकपटकमात्रै नाचिने यस नाच एक दशक अगाडिसम्म चर्चामा थिएन । तर पछिल्लो समय बागलुङमै चर्चित छ । विभिन्न कपडा पहिरिएर पुतलीजस्तै बनेका व्यक्ति नाच्ने यो नाच महँगो पनि मानिन्छ । थरिथरि रङका कपडा पहिरिएर बालकदेखि वृद्धसम्मले पुतली बनेर नाच्छन् ।

देख्दा अवास्भाविक जस्तो लागे पनि यो वर्षौँदेखि गरिँदै आएको चलन हो । कापै खेल्नेहरूले होरे कापे होरे, देवी हाँस्दैनन्, उँभोबाट हात्ती आयो भेल लाएर… लगायत सुन्न पनि अत्यन्तै असहज लाग्ने शब्द प्रयोग गर्ने गर्दछन् । यसरी अश्लील शब्द बोल्दा देवीदेवता खुसी हुन्छन् भन्ने मान्यता रहेको स्थानीय ८२ वर्षीया भागी घर्तीमगरले बताउनुभयो ।

घर्तीमगरले भन्नुभयो, “यो मेला त धेरै अचम्मको छ, पुतली नाच्दाको दिन त मुखमा आएको सबै बोल्छन्, खरानी छर्छन्, यसरी मनमर्जी बोल्दा र भालुको पित्त देखाउँदा देवता खुसी हुन्छन् भन्ने मान्यता छ, पहिलापहिलाको तुलनामा त अहिले केही कम भएको छ, मान्छे शिक्षित भए, लजाउन थाले, त्यही भएर पनि विस्तारै कम हुँदै गएको छ ।”

पुतली नाचसँगै पट्टा नाचसमेत नाच्ने गरिन्छ । हातमा भाला तथा तरबार लिएर पुतली नाच्ने व्यक्तिहरू नै यो पट्टा नाच नाच्ने गर्छन् । तत्कालीन राजाका सिपाहीहरूले गर्ने तालिमलाई अहिले पट्टा नाच भन्ने गरिएको निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीमगरले बताउनुभयो । पट्टा नाच्दा दुईतर्फ तरबार र ढाल राख्ने गरिन्छ र दुई जनाले त्यसलाई नचाउने गर्दछन् । तरबार नचाउँदा दुवैले एकअर्कालाई मार्न र आफू बच्न खोज्छन् ।

अध्यक्ष्य घर्तीमगरले देशभरमा यस्ता मौलिक संस्कृति कमै भटिने हुँदा संरक्षणका लागि गाउँपालिकाले हरेक वर्ष बजेट विनियोजन गरेर स्थानीयलाई प्रेरित गरिरहेको बताउनुभयो । बालकदेखि युवाले सबैले नाच्नका लागि रुचि देखाउने हुँदा संरक्षणका लागि कुनै समस्या नभएको उहाँको भनाइ छ । एक दशक अगाडिसम्म भल्कोट क्षेत्रमा मात्र सीमित रहेको यो नाचको पछिल्लो समय प्रचारप्रसार हुँदा हेर्न आउनेको आकर्षण बढेको अध्यक्ष घर्तीमगरले बताउनुभयो ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x