निर्धक्क भएर नेपालमा लगानी गर्नुहोस्, सहजीकरण गर्न प्रतिबद्ध छौँ – राष्ट्रपति रामचन्द्र पौडेल
राष्ट्रपति रामचन्द्र पौडेलले जापानी व्यापारिक समुदायलाई नेपालमा लगानी गर्न आह्वान गर्दै त्यसका लागि हरसम्भव सहयोग प्रदान गर्न नेपाल सरकार प्रतिबद्ध रहेको विश्वास व्यक्त गरेका छन् ।
नेपाल र जापानबीचको कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वर्षगाँठका अवसरमा जापानको टोकियोमा आज आयोजित जापानका व्यापारिक समुदायसँगको अन्तरक्रियात्मक कार्यक्रममा राष्ट्रपति पौडेलले सो आह्वान गरेका हुन् । उनले नेपालले जापानी निजीक्षेत्रसँग घनिष्ठ साझेदारी निर्माण गर्न चाहेको पनि बताए ।
‘हामीले लगानीमा आकर्षक प्रतिफलका साथै नाफा र पुँजी फिर्तिका लागि सहज प्रक्रियाहरूसहितको स्थिर समष्टिगत आर्थिक वातावरण तयार गरेका छौँ, नेपाल सरकार वैदेशिक लगानीमा पूर्ण सहयोग, निर्बाध सहजीकरण र सुरक्षा प्रदान गर्न प्रतिबद्ध छ’, राष्ट्रपति पौडेलले भने ।
उनले दुईपक्षबीच पारस्परिक लाभका क्षेत्रमा सहकार्य अघि बढाउन यो उपयुक्त क्षण पनि भएको बताउँदै नेपालमा निर्धक्कसँग लगानी गर्न र व्यापार गर्न आह्वान गर्दै कृषि, जलस्रोत र पर्यटनजस्ता क्षेत्रमा लगानी गर्न आग्रह गरे ।
नेपालको सामाजिक–आर्थिक विकास प्रयासहरूमा एक विश्वसनीय विकास साझेदारका रूपमा दशकौंदेखि जापानले गरेको सहयोगको राष्ट्रपति पौडेलले प्रशंसा गरे । उनले राजनीतिक स्थिरतासँगै नेपालको प्रयासहरू सामाजिक न्याय, सुशासन र जनताको समृद्धि प्राप्तिमा केन्द्रित रहेको बताए । साथै, यस वर्षको अन्त्यसम्ममा नेपाल अतिकम विकसित मुलुकको हैसियतबाट स्तरोन्नति हुने तथा २०३० सम्ममा मध्यम आय भएको मुलुक बन्नु हाम्रो लागि अर्को महत्त्वपूर्ण उपलब्धि हुने उनको भनाइ थियो ।
‘हाम्रो अभियानमा ठूलो स्रोत साधनको आवश्यकता पर्छ, अन्य कुराका अलावा राष्ट्रिय प्राथमिकताका क्षेत्रमा अत्यधिक विदेशी लगानी आकर्षित गर्ने, नेपालको व्यापार बढाउने, अन्तर–आबद्धता विविधिकरण गर्ने, पर्यटन प्रवर्द्धन गर्ने एवं उच्चस्तरीय प्रविधि हासिल गर्ने कुरामा ध्यान केन्द्रित गरिएको छ’, राष्ट्रपति पौडेलले आफ्नो धारणा राखे ।
उनले आजको समयमा आन्तरिक रूपमा सरकार र निजीक्षेत्रले हातेमालो नगरी एवं वाह्य रूपमा अन्य मुलुकसँग साझेदारी अघि नबढाई कुनै पनि देश समृद्ध हुन नसक्ने विचार व्यक्त गरे ।
कार्यक्रममा उपस्थितलाई जापानका लागि नेपालका कार्यवाहक राजदूत हरिहरकान्त पौडेलले स्वागत गरेका थिए भने परराष्ट मन्त्रालयका सचिव अमृतबहादुर राई र सहसचिव भृगु ढुंगानाले नेपालमा लगानीको सम्भाव्यताबारे चर्चा गरेका थिए ।
कार्यक्रममा जापानी व्यापारिक समुदायका केही सदस्यले नेपालमा यति धेरै लगानीको अवसर रहेको थाहा पाउँदा खुसी लागेको र यसले लगानीको ढोका खोल्न योगदान पुग्ने धारणा व्यक्त गरेका थिए ।


WRITE COMMENTS FOR THIS ARTICLE