शनिबार, चैत्र ७, २०८२
Saturday, March 21, 2026

एमालेभित्रको धु्रवीकरण तीव्र

काठमाडौं– २७ देखि २९ मंसिरसम्म हुने नेकपा एमालेको ११औँ महाधिवेशनमा पार्टी अध्यक्षका लागि केपी ओलीसँग वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले प्रतिष्पर्धा गर्ने घोषणासँगै एमालेभित्रको धु्रवीकरण तीव्र भएको छ ।

बिहीबार भएको पार्टीको सचिवालय बैठकमा पोखरेलले अध्यक्ष ओलीलाई ‘अब तपाईं बिदा लिनुस्’ भन्दै आफू अध्यक्षमा उठ्ने घोषणा गरेका थिए । पूर्वराष्ट्रपति विद्या भण्डारीलाई सदस्यताको तगारो तेस्र्याएर रोकेपछि भण्डारीकै समर्थनमा पोखरेल प्यानल नै बनाउने ढंगले अघि बढेका छन् ।

पार्टी अध्यक्षमा आफूलाई निर्विकल्प अध्यक्षको रूपमा प्रस्तुत गरिरहेका ओलीका लागि वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको घोषणा नयाँ चुनौती बनेको छ । ओली–पोखरेल आमनेसामने हुने निश्चित भएपछि दुवै समूहले प्यानल नै बनाएर प्रतिस्पर्धा गर्ने आन्तरिक तयारी भइरहेको जनाइएको छ ।

पोखरेलको प्यानलमा अहिलेका पदाधिकारीमध्ये ३ उपाध्यक्ष युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे तथा सचिवहरू योगेश भट्टराई र गोकर्ण विष्ट खुलेका छन् ।

उपाध्यक्ष विष्णु पौडेल तथा उपमहासचिव पृथ्वी सुब्बा गुरुङ भने अहिलेसम्म तटस्थजस्तै रहेका छन् । पौडेल र गुरुङ पोखरेलको समूहमा आउने पोखरेल निकट नेताहरूको दाबी छ ।

यता, ओलीको पक्षमा उपाध्यक्ष रामबहादुर थापा बादल र गुरु बराल प्रष्ट खुलेका छन् । महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली र विष्णु रिमाल पनि ओलीको पक्षमा खुलेका छन् । ओलीको पक्षमा सचिवहरू लेखराज भट्ट, पद्मा अर्याल, रघुवीर महासेठ देखिए पनि सचिव छविलाल विश्वकर्मा भने अहिलेसम्म तटस्थजस्तै देखिएका छन् ।

एमालेको परिवर्तित विधानअनुसार अब बन्ने एमाले केन्द्रीय पदाधिकारी संख्या १५ मात्र हुनेछ । यसअघि १९ सदस्यीय पदाधिकारी रहेको एमालेमा गत विधान महाधिवेशनले गरेको व्यवस्थाअनुसार अध्यक्ष १, उपाध्यक्ष ३, महासचिव १, उपमहासचिव ३ र सचिव ७ जना निर्वाचित हुनेछन् ।

यस्तोमा अध्यक्ष ओलीले आफ्नो प्यानलबाट पदाधिकारीमा नयाँ अनुहारलाई समेट्ने प्रयास गर्नेछन् । त्यमध्ये महेश बस्नेत, हिक्मत कार्की, सूर्य थापा र रामकुमारी झाँक्रीलाई सचिव बनाउने ओलीको तयारी रहेको बताइएको छ । पोखरेल पक्षले भने कर्णबहादुर थापा, गोकुल बाँस्कोटालगायतलाई पदाधिकारीमा ल्याउने सम्भावना रहेको बताइएको छ ।

वरिष्ठ उपाध्यक्ष पोखरेल यसअघि पूर्वराष्ट्रपति विद्या भण्डारीलाई एमाले अध्यक्ष बनाउन लागि परेका थिए । तर, भण्डारीको सदस्यता नै खारेज भएपछि पोखरेलले अध्यक्ष उठ्ने भन्दै आफू निकटकासँग परामर्श थाले । उनलाई केही दिनअघि अर्का उपाध्यक्ष सुरेन्द्र पाण्डेले ‘तपाईं अन्तिमसम्म अडिनुहुन्छ कि हुन्न रु नत्र म अध्यक्षमा उठ्छु’ भन्दै प्रश्न गरेका थिए । पाण्डेको जबाफमा पोखरेलले आफू भित्तैमा पुगेकाले अब पछि नहट्ने भन्दै अध्यक्षमा प्रतिस्पर्धा गर्ने विश्वास दिलाएका थिए ।

७ वर्षदेखि एमालेमा एकछत्र राज गरेका अध्यक्ष केपी शर्मा ओलीलाई चुनौती दिन पोखरेलको समूह आउन लागेको एकाथरी नेताको भनाइ छ । पूर्वराष्ट्रपति विद्या भण्डारीले अध्यक्ष उठ्ने संकेत गरेपछि उनको सदस्यता ओलीले खारेज गरेका थिए । भण्डारीको सदस्यता खारेजीसँगै एमालेमा ओलीविरुद्ध अर्को आलोचना हुँदै आएको छ । अहिले बहुमत पदाधिकारी विद्यालाई पार्टीमा स्वागत गर्नुपर्ने भन्दै ओलीको विरुद्धमा उभिएका छन् ।

अहिले उनै भण्डारीको समर्थनमा पोखरेलले समूह नै बनाएर प्रतिस्पर्धा गर्न लागेको उनी निकट नेताहरूको भनाइ छ । त्यसो त पोखरेल नवौँ र १०औँ महाधिवेशनमा ओलीकै सहयोगीका रूपमा सक्रिय थिए । ओलीले २ कार्यकाल अध्यक्ष भएपछि आफ्नो पालो आउला भनेर आस गरेका पोखरेल विधानमा २ कार्यकाल र उमेरहद हटाएसँगै बिच्किएका हुन् ।

ओलीको विकल्प छैन भन्ने भाष्य गलत भएको पोखरेल निकट नेताहरूको भनाइ छ । ओली–पोखरेलको समूह केन्द्रमा मात्रै होइन जिल्ला र वडाकमिटीसम्म पुग्न थालेको छ । ओली र उनी निकट नेताहरूले एमालेमा ओलीको विकल्प नरहेको र उनको विरुद्ध कोही उभिन नसक्ने र नहुने भन्दै आएका थिए ।

ओलीको उक्त सन्देशलाई अर्काथरीले भने, ‘पार्टीको मार्गदर्शक सिद्धान्त जवज’को बर्खिलाप भएको आरोप लगाएका छन् । ओलीको हेपाह र एकपाखे शैलीले एमालेलाई दिनदिनै धक्का लागेकाले त्यसबाट पार्टीलाई बचाउन पनि ओलीको विकल्पमा जानुपर्ने एक नेताले बताए ।

केही दिन अगाडिको एक कार्यक्रममा ओलीले महाधिवेशनमा आफ्नो निर्देशनात्मक मन्तव्य सकिएपछि कुनै छलफल नहुने बताएका थिए । उनको उक्त भनाइपछि एमालेमा ध्रुवीकरण तीव्र भएको छ । स्रोतका अनुसार पोखरेल निकट नेताहरूले आन्तरिक छलफललाई तीव्र बनाएका छन् । पोखरेल समूह ओली टिमका नेता पनि सामेल गराउन लबिङ गरिरहेको स्रोतले बतायो ।

अहिले ओलीकै टिममा रहेका पनि एकदेखि अर्को सन्तुष्ट नरहेकाले त्यसको लाभ लिने दाउमा पोखरेल समूह लागिपरेको छ । यदि ओली टिमबाट महासचिवमा शंकर पोखरेल दोहोरिने अवस्था आएमा पृथ्वीसुब्बा गुरुङ बिच्कने देखिन्छ ।

अर्कातर्फ शंकर र विष्णु पौडेलका बीचमा पनि लुम्बिनी प्रदेशमा तीव्र मतभेद छ । त्यसैले पौडेल ईश्वरको समूहमा लाग्ने उक्त टिमको विश्वास छ । विष्णु पौडेलले ओलीसँग सन्तुष्ट नरहेको संकेत केही समय अगाडि दिएका थिए ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x