सोमवार, जेष्ठ ४, २०८३
Monday, May 18, 2026

सरकारका गतिविधिले लोकतान्त्रिक व्यवस्थामाथि चुनौती थपियो : प्रचण्ड

सुर्खेत – नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारले दुई तिहाइको दम्भमा नागरिक अधिकारमाथि बन्देज लगाउन खोजेको आरोप लगाएका छन्।

आइतबार बिहान सुर्खेतको वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले सरकारका पछिल्ला गतिविधिले लोकतान्त्रिक व्यवस्थामाथि चुनौती थपिएको बताए।

सदन रोकेर अध्यादेश ल्याउने सरकारको कदम लोकतन्त्रको उपहास भएको टिप्पणी गर्दै उनले ट्रेड युनियनको खारेजी र विद्यार्थी सङ्गठनमाथिको प्रतिबन्धले सरकार लोकतान्त्रिक बाटोमा नरहेको पुष्टि गर्ने दाबी गरे।
“नेपालको सन्दर्भमा हालसम्म नभएको अभ्यास वर्तमान सरकारले गरेको छ,” उनले भने, “त्यसले लोकतन्त्रको उपहास गरेको बुद्धिजीवी र आम नेपालीको बुझाई रहेको तपाईँहरूले बुझिरहनु भएकै छ।”

अध्यादेश ल्याउनेदेखि अन्य प्रक्रियासम्म प्रधानमन्त्री बालेन शाहको नियत राम्रो नदेखिएको प्रचण्डको भनाइ थियो। उहाँले सरकारका जनविरोधी क्रियाकलापमा आफ्नो पार्टीले निरन्तर खबरदारी गर्ने बताए।

“सरकारका राम्रा कामलाई रचनात्मक रूपमा सहयोग गर्नेमा हामी तयार छौं,” उनले भने, “लोकतन्त्रको सुदृढीकरण संविधानको रक्षाका लागि हामी सरकारलाई खबरदारी गरिरहन्छौं।”

प्रदेश सरकार पुनर्गठनका सन्दर्भमा नेपाली कांग्रेस र एमालेबाट आएको प्रस्तावलाई आफ्नो पार्टीले अस्वीकार गरेको भन्दै उनले अहिले नै सरकार परिवर्तन गर्ने पक्षमा आफूहरू नरहेको बताए। बरु कांग्रेस, एमाले र मधेसवादी दलहरू मिलेर साझा सरकार बनाउने सन्दर्भमा भने आफ्नो सहमति रहने उनको भनाई छ।

“प्रदेश सरकार मिलेर बनाउन कतै एमालेबाट, कतै काँग्रेसबाट प्रस्ताव आइरहेको छ,” उनले भने, “यसलाई मैले हाम्रो पार्टीको संयोजकको रूपमा इन्कार गरेको छु। बरु काँग्रेस, एमाले र मदेशवादी दलहरू मिलेर साझा सरकार बनाउने भए हाम्रो सहमति रहन्छ भनेको छु।”

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x