शुक्रबार, कार्तिक ७, २०८२
Friday, October 24, 2025

सिंहदरबार आधुनिक प्रविधिसँगै वास्तुशास्त्रीय मूल्य, मान्यता र सिद्धान्तको अनुपम नमुना बनोस्

तथ्य अनुसार राणा प्रधानमन्त्री चन्द्रशमशेरले आफ्नो निजी निवासका रूपमा ई.सं. १९०३ मा सिंहदरबार बनाउन लगाएका थिए । निर्माण पूरा हुँदा यसमा एक हजार सात सयवटा कोठा थिए, जुन त्यस बेलाको एसियाभरिको सबैभन्दा ठुलो दरबार थियो । २००७ सालमा राणाशासनको अन्त्य भएपछि सिंहदरबारमा नेपाल सरकारको कार्यालय राखियो । त्यतिबेला यो दरबारमा प्रधानमन्त्रीको कार्यालयदेखि सम्पूर्ण मन्त्रालय अवस्थित थिए र कतिपय अहिलसम्म छन् । सिंहदरबार नेपालको इतिहास, राजनीति र वास्तुकलाको एक अनुपम प्रतीक हो ।

राणाकालीन शासकहरूको शक्ति र ऐश्वर्यको परिचायक मात्र नभएर यो दरबारले देशको शासन प्रणालीमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ । श्री ३ महाराजहरू भीमशमशेर, जुद्धशमशेर, पद्मशमशेर र मोहनशमशेरजस्ता शक्तिशाली शासकले यही सिंहदरबारबाटै देशको बागडोर सम्हालेको इतिहास छ । यसको भव्यता र ऐतिहासिक महत्त्वले आज पनि आगन्तुकलाई मोहित पार्छ । यो दरबार केवल भौतिक संरचना मात्र होइन । नेपालीको स्वतन्त्रता र प्रजातन्त्रको लडाइँको पनि प्रत्यक्ष साक्षी हो । राणाशासनविरुद्ध लडेका दशरथ चन्द, धर्मभक्त माथेमा, शुक्रराज शास्त्री र गंगालालजस्ता सहिदलाई मृत्युदण्ड दिने फैसला जुद्ध शमशेरले यहीँबाट सुनाएका थिए । यसरी यो दरबार क्रूरता र बलिदानको पनि प्रतीक बनेको छ ।

यस ऐतिहासिक दरबारको यात्रा सुखद मात्र रहेन, यो दरबार पटकपटक पीडित भएको छ । २५ असार २०३० को भीषण आगलागीले यसको ७० वर्ष पुरानो वास्तुकलालाई ध्वस्त बनायो । इतिहासको यो दुःखद घटनाले सिंहदरबारको भौतिक स्वरूप मात्र मासेन, अपितु मुलुकको अमूल्य अभिलेखलाई पनि सधैँका लागि मेटाइदियो । समय बित्दै गर्दा १२ वैशाख २०७२ को महाभूकम्पले सिंहदरबारलाई फेरि एकपटक ठुलो धक्का दियो । सिंहदरबारको पीडालाई केवल ऐतिहासिक घटनाहरूको शृंखलाको रूपमा हेर्नु पर्याप्त रहेन । पछिल्लो जेन–जी आन्दोलनले यसलाई अझ विक्षिप्त बनायो । जसको क्षतिको पूर्ण विवरण आउन बाँकी नै छ । २४ भदौ २०८२ को कहालीलाग्दो अवस्थाले सिंहदरबारलाई पुनः सामाजिक र राजनीतिक परिवर्तनहरूको ऐतिहासिक केन्द्र बनाइराख्न सानो लगानीले पक्कै हुनेछैन । यद्यपि यी सबै पृष्ठभूमिमा सिंहदरबारको पुनर्निर्माण र संरक्षण आवश्यक छ ।

सबैलाई यो कुरा मन नपर्न सक्छ, तर एउटा वास्तुशास्त्रीको विद्यार्थीका नाताले सिंहदरबारको संरक्षणका लागि वास्तुकलाको सैद्धान्तिक र वैज्ञानिक आधार अपरिहार्य छ भन्नु मेरो कर्तत्व हो । यसको ऐतिहासिक महत्त्वलाई कायम राख्दै विभिन्न प्राकृतिक र मानवीय जोखिमबाट जोगाइराख्न आधुनिक सुरक्षा मापदण्डका साथमा शास्त्रीय विधि अपनाउन जरुरी छ । सिंहदरबार वास्तुकलाको नमुना हो । यसको मूल वास्तुकलालाई यथासम्भव संरक्षण गरिनुपर्छ । यसका लागि पुरानो शैली, सामग्री र निर्माण प्रविधिको अध्ययन गरी सोही अनुसार पुनर्निर्माण गरिनुपर्छ । ‘पुराणं परिरक्षेत्, नवं नृपाय योजयेत्’ अर्थात् पुरानालाई संरक्षण गर, नयाँलाई राजाका लागि प्रयोग गर । यसको अर्थ हो, इतिहासको प्रमाण दिने संरचनालाई यथावत् राख्नुपर्छ र आवश्यकता अनुसार आधुनिक निर्माणलाई परिष्कृत गर्नुपर्छ ।
भनिन्छ, ‘स्थिरता भूतानां, स्थिरता च राज्ञः ।’ अर्थात् जीवहरूको स्थिरता राज्यको स्थिरता हो । जसरी प्राणीहरूको जीवन स्थिर र सुरक्षित हुनुपर्छ, त्यसैगरी राज्यको केन्द्रविन्दु स्थायी, सुरक्षित र सुनिश्चित गरिनुपर्छ । सिंहदरबारजस्तो महत्त्वपूर्ण भवनलाई प्राकृतिक या भौतिक विपत्ति थेग्न सक्ने बनाउनु आवश्यक छ । आधुनिक इन्जिनियरिङका सिद्धान्तलाई व्यवहारमा उतार्नुपर्छ । संस्कृतमा एउटा श्लोक छ— ‘यथा राष्ट्रं तथा वेश्म’ अर्थात् जस्तो राष्ट्र त्यस्तै घर । दुःखका साथ भन्नुपर्छ— सिंहदरबार न शान्त, सुस्थिर र सुरक्षित रह्यो न त नेपाली जनताको जीवनस्तर । सिंहदरबार आफैँ पीडित बनिरहँदा नेपाली जनता कसरी खुसी होउन् !
आधुनिक बन्ने होडमा हामीले हाम्रा परम्परा र मान्यतालाई बेवास्ता गर्दै आएका छौँ । आधुनिक बन्न पुरानो मास्नुपर्छ भन्ने मान्यताबाट माथि उठ्नुपर्छ । पुरानोलाई जोगाउँदै, आधुनिक प्रविधिहरूको प्रयोग गर्ने हो भने त्यसले थप सुरक्षित र सक्षम बनाउँछ । ‘ज्ञानं सर्वत्र वर्धयेत्’ अर्थात् ज्ञानलाई सर्वत्र बढाउनुपर्छ भन्ने सिद्धान्त अनुसार नयाँ ज्ञान र प्रविधिलाई आत्मसात् गर्दै पुराना मान्यतामा मजबुती ल्याउन सकिन्छ ।

वास्तुशास्त्रले कुनै पनि निर्माण कार्यका लागि दिशानिर्देश प्रदान गर्छ । यसले मात्रै भवनको सौन्दर्य र स्थायित्वमा जोड दिँदैन, बरु त्यस स्थानको ऊर्जा, वातावरण र त्यहाँ बसोबास गर्ने व्यक्तिको समग्र कल्याणको पनि ख्याल राख्छ । श्लोक भन्छ— वास्तुशास्त्रं तु यत्प्रोक्तं सिद्धये सर्वकर्मणाम् । अर्थात् वास्तुशास्त्र सबै कर्महरूको सिद्धिका लागि प्रयोग हुन्छ । कुनै पनि निर्माण कार्य, चाहे त्यो सानो घर होस् वा विशाल दरबार, वास्तुशास्त्रको सिद्धान्त अनुसार गरिनुपर्छ । सिंहदरबारजस्तो ऐतिहासिक र महत्त्वपूर्ण स्थलको पुनर्निर्माणमा यसको महत्त्व झनै बढी छ ।

‘रम्याणां चैव सर्वेषाम् आलंकारिक एव च ।’ अर्थात् सबै सुन्दर वस्तुहरू अलङ्कृत हुन्छन् भनेजस्तै सिंहदरबारको पुनर्निर्माणमा हामीले यसको पुरानो शोभा र अलंकृत आकृतिलाई पुनर्जीवित गर्नुपर्छ । यसको ऐतिहासिक महत्त्वलाई कायम राख्दै यसलाई आधुनिक आवश्यकता अनुसार ढाल्नुपर्छ । यसको प्रत्येक इँटा, प्रत्येक झ्याल, प्रत्येक गाह्रोले हाम्रो इतिहास बोकेको छ । हाम्रो प्रयास हुनुपर्छ कि सिंहदरबार केवल एउटा पुरानो भवन नबनोस्, बरु यो एक जीवित स्मारक बनोस् । जहाँ नयाँ प्रविधिको साथमा पुरानो कलाको संगम होस् । जहाँ हाम्रो संस्कृति, इतिहास र भविष्यको कडी जोडिन सकोस् ।

अन्त्यमा, एउटा वास्तुशास्त्रको विद्यार्थीको नाताले आह्वान गर्न चाहन्छु कि हामी सबैले मिलेर सरकार, विज्ञहरू, वास्तुशास्त्रीहरू, इन्जिनियरहरू र आम नागरिकको सहयोगमा सिंहदरबारको पुनर्निर्माण गरौँ । जसले हाम्रो गौरवशाली इतिहासलाई सम्मान गरोस्, वर्तमान आवश्यकतालाई पूरा गरोस्, भविष्यका लागि प्रेरणा बनोस्, जहाँ हाम्रो परम्परागत विधि र आधुनिक प्रविधिको प्रयोग होस् । सिंगो मुलुकको केन्द्रविन्दु सिंहदरबार आधुनिक प्रविधिसँगै वास्तुशास्त्रीय मूल्य, मान्यता र सिद्धान्तको अनुपम नमुना बनोस् । पञ्चतत्त्वको सन्तुलनसहित पूर्ण वास्तुशास्त्रीय निर्माणको नमुना बनेर विश्वमा चम्कियोस् । जसले समग्र नेपालीमा सुख, शान्ति र समृद्धि प्रदान गरोस् ।

(लेखक वास्तु विज्ञानका सञ्चालक तथा दक्षिण एसियाली ज्योतिष महासंघका महासचिव हुन् ।) 

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x