कुनै पनि सामाजिक सञ्जाल दर्ता गर्न आएनन् : अन्योलमा सरकार

काठमाडौं – सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सामाजिक सञ्जाल दर्ता गर्ने प्रक्रिया अहिलेसम्म सुरु नभएको जनाएको छ।
मन्त्रालयका प्रवक्ता गजेन्द्र कुमार ठाकुरले समयसीमा सकिन लाग्दा पनि कुनै पनि सामाजिक सञ्जालले दर्ता प्रक्रिया अघि बढाएको छैन भनी जानकारी दिए।
‘हामी कुरिरहेका छौँ, आज दिनभर समय छ, तर अहिलेसम्म कोही दर्ता गर्न आएका छैनन्,’ ठाकुरले भने। उनले थपे, ‘यदि समयसीमा भित्र कोही दर्ता गर्न आएन भने सरकारले के कदम चाल्ने भन्ने विषयमा अझै निर्णय भइसकेको छैन।’
यसअघि सरकारले टिकटक, भाइबर, निम्बुज, वीटक र ओपोलाइट गरी पाँचवटा सामाजिक सञ्जाललाई दर्ताका लागि सूचीबद्ध गरेको थियो। सामाजिक सञ्जाल दर्ता गर्नुपर्ने कानुनी प्रावधान अनुसार, सञ्चार मन्त्रालयले देशभित्रका सबै अनलाइन प्लेटफर्मलाई दर्ता गर्नुपर्ने नियम बनाएको छ। तर हालसम्म यी प्लेटफर्महरूले दर्ता प्रक्रिया सुरु नगर्दा मन्त्रालय चिन्तित रहेको छ।
अन्योलमा सरकार
यसअघि पाँचपटकसम्म नेपालमा दर्ता हुन र दर्ता नभए बन्द गर्ने चेतावनी दिएको सरकार आफ्नै अडानमा रहन सकेको छैन। छैटौँपटक पनि सरकारले बन्द गर्ने आधार तयार गरिसकेको छैन।
दर्ता हुन नआए क्रमश: नेपालमा नचल्ने बनाइने भनेको सरकारले बुधबार म्याद सकिएपछि बिहीबारबाट बन्द गर्न सक्ने सम्भावना देखिएको छैन। सञ्चार मन्त्रालयका सूचना अधिकारी पौडेल बन्द गर्ने विषयमा अन्योल व्यक्त गर्छन्।
‘सरकारले क्रमिकरुपमा बन्द गरिने भनेको छ। बुधबारसम्म दर्ता हुन नआएमा बिहीबारबाटै बन्द हुन्छ कि हुन्न भन्ने कुरा बुधबार नै छलफल होला र थप निर्णय होला’, उनले भने।
नेपालमा हालसम्म पाँच वटामात्र सामाजिक सञ्जाल सरकारले भनेअनुसार दर्ता भएर सञ्चालित रहेका छन्। टिकटक, भाइबर, निम्बुज, वीटक र ओपोलाइट नेपालमा दर्ता रहेका छन्।
टेलिग्राम र ग्लोबल लिंक नामको सामाजिक सञ्जाल दर्ताको चरणमा रहेको सञ्चार मन्त्रालयले जनाकारी दिएको छ। बाँकी दर्जनौँ सामाजिक सञ्जाललाई पनि सरकारले दर्ता हुन भनेको भए पनि उनीहरू भने सरकारी प्रकृयामा सहमागी हुन इच्छुक देखिएका छैनन्।
सरकारले पनि दर्ता नभएमा बन्द गरिहाल्न पनि सकेको छैन। ठूला सामाजिक सञ्जाल फेसबुक, एक्सहरूमा नेपालीको उपस्थिति उच्च रहेको छ। यस्ता ठूला सामाजिक सञ्जाललाई बन्द गरेमा सरकारको बिरोध हुने सम्भावना छ।
कतिपय सामाजिक सञ्जाल आयआर्जनको माध्यमसमेत भएको अवस्थामा सरकार तत्कालै यस्ता सामाजिक सञ्जाल बन्द गर्ने अवस्थामा पुग्न सकेको छैन।
सात दिनमा दर्ता प्रकृयामा नआएमा बन्दका लागि दूरसञ्चार प्राधिकरणलाई आग्रह गर्ने सरकारको तयारी थियो। तर आजसम्म यस विषय प्राधिकरणसँग छलफलसमेत नभएको प्राधिकरणका प्रवक्ता मिनप्रसाद अर्यालले बताए।
‘सरकारले निर्देशन दियो भने हामीले पनि बन्द गर्ने प्रकृया थाल्ने हो। तत्काल्यै सामाजिक सञ्जाल बन्द गर्ने विषयमा छलफल भएको विषयमा मेरो जानकारीमा छैन। माथिल्लो तहमा भएको हुनसक्छ’, उनले भने।
मन्त्रालयले दर्ता प्रक्रिया पूरा नगरेका कम्पनीहरूमाथि आवश्यक कानुनी कारबाही पनि गर्न सक्ने जनाएको छ।
WRITE COMMENTS FOR THIS ARTICLE