सामाजिक सञ्जाल प्लेटफर्महरू सूचीकरणमा आउन आह्वान
काठमाडौं – सामाजिक सञ्जाल प्लेटफर्महरू अनिवार्य रूपमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सूचीकरण हुनुपर्ने म्याद बिहीबारदेखि लागु हुने भएको छ । बिहीबार एक सूचना जारी गर्दै मन्त्रालयले सात दिने म्याद सूचना निकालेको हो ।
९ भदौको मन्त्रिपरिषद् बैठकले सामाजिक सञ्जाल प्लेटफर्महरूलाई सात दिन भित्र मन्त्रालयमा अनिवार्यरूपमा सूचीकरण गर्नुपर्ने निर्णय गरेको थियो । ९ गते बसेको बैठकको निर्णय सञ्चार मन्त्री पृथ्वीसुब्बा गुरुङले बुधबार सार्वजनिक गरेका थिए । उनले तोकिएको समयभित्र सूचीकरणमा नआउने वा सम्पर्कमा समेत नआउने सामाजिक सञ्जाललाई नेपालभित्र क्रमशः निष्क्रिय गराइने बताएका थिए ।
त्यसपछि सञ्चार मन्त्रालयले बिहीबार औपचारिक रूपमा त्यससम्बन्धी सूचना जारी गरेको हो । जसमा सर्वोच्च अदालतको पूर्ण इजलासले स्वदेशी वा विदेशी उत्पत्तिका अनलाइन तथा सामाजिक सञ्जाल प्लेटफर्महरूलाई सञ्चालन पूर्व अनिवार्य रूपमा सम्बन्धित निकायमा सूचीकरण गर्नरगराउन सरकारको नाममा निर्देशनात्मक दिएको भन्दै १८ भदौभित्र अनिवार्य सूचीकरणमा आउन आह्वान गरिएको छ ।
यस्तै, मन्त्रालयले उल्लिखित अवधिभित्र सामाजिक सञ्जाल प्लेटफर्महरूले नेपाल भित्र सम्पर्क बिन्दु (Point of Contact), आवासीय गुनासो सुन्ने अधिकारी तथा स्वनियमन परिपालनको निगरानी गर्ने अधिकारी तोक्न समेत भनेको छ ।
मन्त्रालयले तोकिएको समय भित्र सूचीकरण नगर्ने वा त्यस प्रयोजनका लागि सम्पर्कमा नआउने प्लेटफर्महरूलाई क्रमशः नेपाल भित्र निष्क्रिय गराउने चेतावनी दिएको छ । सूचीकरण गरेमा सोही क्षणदेखि पुनस् सक्रिय गराउने गरी नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको छ ।


WRITE COMMENTS FOR THIS ARTICLE