काँग्रेस विवादः विधि र स्थापित परम्पराका आधारमा मात्र आयोगले निर्णय लिने
काठमाडौं – नेपाली कांग्रेसको विशेष सभापति गगन थापासहित सिङ्गो केन्द्रीय समिति निर्वाचन आयोग जाने भएको छ । विशेष महाधिवेशनबाट निर्वाचन सभापति थापासहित सिंगो समिति सदस्यहरु नै दिउँसो २ बजे आयोगको कार्यालय उपस्थित हुन लागेका हुन् ।
चुनाव चिन्ह लगायतको विषयमा आयोगले छलफलको लागि बोलाएकाले जान लागेको बुझिएको छ । थापा नेतृत्वको कार्यसमितिले हिजो आयोगमा पुगेर आधिकारिकता दाबी गरेको थियो । आज शेरबहादुर देउवा नेतृत्वको कार्यसमितिले पनि आयोग पुगेर आधिकारिकता दाबी गरेको छ ।
नेपाली काँग्रेसभित्र चुलिएको आधिकारिकता विवादमा निर्वाचन आयोगले विधि र स्थापित परम्पराका आधारमा मात्र निर्णय लिने स्पष्ट पारेको छ । कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले काँग्रेसको आधिकारिकता निर्धारण गर्दा आयोगले आफ्नो पद्धति, संविधान र विद्यमान ऐन-कानुनलाई मुख्य आधार बनाउने बताएका हुन् ।
आफ्नो पक्षलाई आधिकारिक दाबी गर्न आयोग पुगेका काँग्रेस नेताहरूसँगको छलफलमा आयुक्त भण्डारीले आयोग कुनै पनि दबाब वा प्रभावभन्दा बाहिर रहेर कानुनी परिधिभित्र रहने उल्लेख गरे । उनले भने, ‘निर्वाचन आयोगको आफ्नै परम्परा र विधि छ । संविधान, ऐन र कानुनको परिधिभित्र रहेर नै आयोगले निर्णय गर्ने हो । हामी संस्थागत पद्धतिभन्दा बाहिर जाँदैनौँ ।’
काँग्रेस नेताहरू गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनमार्फत नयाँ केन्द्रीय कार्यसमिति चयन गरेपछि पार्टीमा स्पष्ट विभाजन देखिएको छ । यतिबेला दुवै पक्षले आफू नै वैधानिक भएको दाबी गर्दै आयोगमा निवेदन दिएका छन् । यसै सन्दर्भमा उनले निर्वाचन आयोगले आफ्नो स्थापित नजिर र कानुनी प्रक्रियालाई मात्र पछ्याउने दोहोर्याए ।
आयुक्त भण्डारीले निर्वाचन सम्पन्न गर्ने प्रयोजनका लागि आवश्यक कार्यक्रमहरू तय गरी आयोग अघि बढ्ने समेत जानकारी दिए । उनले आयोगको निर्णय सधैँ निष्पक्ष र न्यायपूर्ण हुनेमा विश्वस्त हुन आग्रह गर्दै विवादको निरुपण राजनीतिक दलसम्बन्धी ऐन र संविधानको सीमाभित्रै रहेर गरिने बताए ।


WRITE COMMENTS FOR THIS ARTICLE