बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

नेपाली कांग्रेसका मन्त्रीहरू बोल्न सक्ने अवस्थामा छैनन् -डा. शेखर कोइराला

नेपाली कांग्रेसका संस्थापक नेता, प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद (बीपी) कोइरालाको निधन भएको ४३ वर्ष भएको छ । बीपीले प्रतिपादन गरेको राष्ट्रियता, प्रजातन्त्र र समाजवादको सिद्धान्तलाई कांग्रेसले अहिले पनि आफ्नो आदर्श मान्छ । तर, यो आदर्श अनुसार कांग्रेस चल्न नसकेको स्वयं कांग्रेस नेताहरू स्वीकार्छन् ।

कांग्रेस नेता डा. शेखर कोइराला पनि कांग्रेस बीपीको राष्ट्रियता, प्रजातन्त्र र समाजवादको सिद्धान्त अनुसार चल्न नसकेको बताउँछन् । नाताले बीपीका भतिज (साइँलो भाइ केशवप्रसाद कोइरालाका पुत्र) डा. कोइरालासँग मधुसुधन भट्टराईले बीपीसँगको सम्झना, उनका आदर्श र कांग्रेस हिँडिरहेको बाटोका सम्बन्धमा केन्द्रित रहेर कुराकानी गरेका छन् । प्रस्तुत छ, कुराकानीको सारसंक्षेप ः

  • सबैभन्दा पहिला विश्वेश्वर प्रसाद (बीपी) कोइरालालाई तपाईं कसरी सम्झिनुहुन्छ ?

उहाँ त हाम्रो परिवारको सबैभन्दा जेठो व्यक्ति हो । म सानै छँदा धेरै समय उहाँको साथमा बस्ने मौका मिलेन । जेलबाट छुटिसकेपछि उहाँ धेरै समय बनारस बस्नुभयो । त्यो बेला म केटाकेटी नै थिएँ । नेपालैमा पढेँ । त्यसपछि इन्डियामा मेडिकल पढ्दाखेरि उहाँसित बनारसमा आउजाउ गर्दा भेटघाट भइरहन्थ्यो । अनि बनारसमा मैले एक–दुई वर्ष काम गर्दाखेरि उहाँसित घरमै बसेँ । त्यो अलिकति इन्टर्‍याक्ट गर्ने मौका पाएँ । त्यसपछि उहाँ जब नेपाल फर्किनुभयो, त्यो वेला म वीर हस्पिटलमा काम गर्थेँ । नेपाल आएको केही समयपछि उहाँ फेरि जेल पर्नुभयो ।

जेलबाट रिलिज भइसकेपछि पनि उहाँसित बस्ने, भेट्ने, कुरा गर्ने मौका मैले पाएँ । यसरी हेर्दाखेरि धेरै समय उहाँसँग बिताउन पाइएन, तर उहाँले हरेक कुरा एकदम माइन्यूट्ली हेर्ने गर्नुहुन्थ्यो, त्यो भनेको राजनीतिमात्रै होइन । राजनीतिमा उहाँले हेर्नु हुन्थ्यो नै । उहाँको त्यो ‘जायन्ट पर्सनालिटी’ छँदै छ । त्यसमा फेरि उहाँ फिलोसोफर टाइपको मान्छे पनि हो । उहाँले मलाई कुन किताब पढ्दैछौँ, कस्ता किताब पढ्दैछौँ, त्यो किताब पढेर तिमीले के बुझिराखेको छौँ भनेर सोध्नुहुन्थ्यो । यति धेरै राजनीति गर्ने मान्छेले परिवारका मान्छेलाई त्यसरी सोच्दैनन् । छोराछोरीहरूले के पढ्दैछन् ? के गर्दैछन् ? कसो गर्दैछन् ? त्योचाहिँ मलाई उहाँको बडा गज्जब लाग्ने बानी थियो । त्योसँगै यो किताब पढेपछि यसबाट तिमीहरूले के शिक्षा लियौ भनेर पनि सोध्नुहुन्थ्यो ।

  • उहाँले कांग्रेसमा, नेपालको लोकतान्त्रिक आन्दोलनमा छोडेर गएको छाप हामीले अहिलेसम्म कत्तिको अनुशरण गरेका छौँ ?

योचाहिँ बडा विडम्बना छ । नेपाली कांग्रेस बीपीले प्रतिपादन गरेको राष्ट्रियता, प्रजातन्त्र र समाजवादलाई आदर्श मान्छ । उहाँले यसबारे गरेको व्याख्या आज नेपालमा मात्रै होइन, संसारैमा लागु भइराखेको मैले देख्छु । त्यो वेलाचाहिँ  मान्छेहरूले के भनेको होला भनेजस्तो हुन्थ्यो । प्रजातन्त्र भन्नुस् वा लोकतन्त्र भन्नुस् र समाजवादलाई सँगसँगै लैजान सकियो भने मात्रै नेपाल बाँच्छ । राष्ट्रियताको सवालमा उहाँ राजा राष्ट्रियताको प्रतीक हो भन्ने मान्यता राख्नुहुन्थ्यो । राजा र राष्ट्रियताको घाँटी आपसमा जोडिएको छ भन्नुहुन्थ्यो ।

यसमा अहिलेको परिस्थिति नहेरौँ, त्यो बदलिएको छ । अहिले यो कुरा सान्दर्भिक देखिँदैन किनभने नेपालमा गणतन्त्र आइसक्यो । उहाँले एक–दुई ठाउँमा लेख्नु पनि भएको छ, ‘राष्ट्रियता र प्रजातन्त्रलाई हामीहरूले सँगै लैजान सकेनौँ भने देश अप्ठ्यारो परिस्थितिमा पर्न सक्छ ।’ किनभने राष्ट्रियतालाई पनि जोगाउनुपर्ने हुन्छ । राष्ट्रियताको मात्रै कुरा गरिराख्यौँ भने पनि हामी निरङ्कुशता हामी जान्छौँ । त्यो राजालाई इङ्गित गर्नुभएको थियो उहाँले । र प्रजातन्त्रका मात्रै कुरा गर्‍यौँ भने पनि अमुक मुलुकहरूको चङ्गुलमा पर्न सक्छौँ भन्ने उहाँको धारणा थियो । त्यसकारण राष्ट्रियता र प्रजातन्त्रलाई हामीले सँगै लैजानुपर्छ, अनिमात्रै हामी बाँच्न सक्छौँ र विकास गर्न सक्छौँ, विकासको कन्टेक्स्टमा उहाँले इन्टरनेशनल लोन लिन हुँदैन भन्नुहुन्थ्यो ।

अहिले त हामीले विश्व बैंक, आईएमएफ, एडीबी लगायतबाट लोन लिएका छौँ । विकासमा अन्तर्राष्ट्रिय लोन लिँदा भुइँफुट्टा वर्गहरू जन्मिन्छन् भन्ने उहाँको तर्क थियो । अहिले उहाँको कन्सेप्टबाट सोच्दाखेरि नेपालको सन्दर्भमा त्यो ठ्याक्कै देखिएको छ । हामी हाम्रै खुट्टामा उभिनुपर्छ भन्ने उहाँको कुरा थियो । त्यसकारण धेरै अरूको ऋण नलिई काम गर्नुपर्छ भन्ने कुरा थियो । सहयोग त चाहिएला तर हामीहरूले धेरै नमागीकन आफ्ना विकासका काम गर्नुपर्छ भन्ने उहाँको भनाइ रहने गर्दथ्यो । अन्तर्राष्ट्रिय समुदायहरूको धेरै ऋण लिँदा भुइँफुट्टा वर्गहरू जन्मिन्छन् भनेर उहाँले भन्नुभएको थियो ।

उहाँले नेपाली कांग्रेसका साथीहरूलाई प्रजातन्त्र आइसकेपछि सुकिलामुकिला लुगा लगाएर आउनेहरूले बिगार्छन्, सचेत भएर अगाडि बढ्नुपर्छ भन्नुहुन्थ्यो । अहिले त्यस्तै भएको तपाईंहरूले देखिरहनुभएको छ । बीपीको यो धारणा अहिले अझ सान्दर्भिक भएको छ । नेपाली कांग्रेसको लागिमात्रै होइन, देशकै लागि सान्दर्भिक छ । बीपीले राष्ट्रियता, लोकतन्त्र, प्रजातन्त्रको जुन व्याख्या गर्नुभएको थियो, त्यो मैले अझ झन् धेरै सान्दर्भिक देखेको छु ।

  • सान्दर्भिक त छ तर कार्यान्वयनमा कत्तिको आइरहेको छ ? पहिला त उहाँले नै स्थापना गरेको, उहाँ नै संस्थापक भएको पार्टीले यो विषयलाई कत्तिको कार्यान्वयन गरेको छ ?

हामीहरूले त्यसलाई जसरी संस्थागत गरेर अगाडि जानुपर्ने हो, त्यो हुन सकेको छैन । म उदाहरण दिन्छु तपाईंलाई । आज बीपी भएको भए संसद्मा जसरी विधेयकहरू गलत तरिकाले आइरहेका छन्, त्यसको विरोध गर्नुहुन्थ्यो । उहाँ नेपाली कांग्रेस सरकारमा छ भनेर विरोध नगर्ने भन्ने खालको हुनुहुन्थेन । कांग्रेस सरकारमा भए पनि विरोध गर्नुहुन्थ्यो । नेकपा एमालेको नेतृत्वमा सरकार छ । त्यो सरकारमा कांग्रेस पनि सामेल छ तर संसद्मा सरकारले पेस गरेर सदनले पास गरेका विधेयक जनताले स्वीकार गर्ने खालका छैनन् । नेपाली कांग्रेसको पनि सहमतिमा सदनमा पेस भएका भूमि सम्बन्धी विधेयक, सङ्घीय निजामती सेवासम्बन्धी विधेयकको ‘कुलिङ अफ पिरियड’ वाला व्यवस्था मोस्ट डेन्जरस छ । यसले अटोक्य्रासी निम्तिन्छ ।

अहिले राष्ट्रपतिज्यू कहाँ गएको संवैधानिक परिषदवाला विधेयकमा अब दुई जनाले बसेर पनि निर्णय गर्न सक्ने व्यवस्था गरिएको छ । यसले हामीलाई कहाँ पुर्‍याउँछ ? यस्ता व्यवस्था राखेर हामीले कस्तो नेपाल बनाउन खोजेका हौँ ? म विश्वस्तसाथ भन्न सक्छु– बीपी भएको भए यी कुराहरूको विरोध गर्नुहुन्थ्यो । म लगायत केही साथीहरूले विरोध त गरिरहेका छौँ तर, धेरै अप्ठ्यारा छन् । अरू पनि अझै कति वटा यस्तै विधेयक आउलान् ! अहिले नेपाली कांग्रेस यस्ता कुराहरूमा मुकदर्शक भएको म देख्छु ।

मन्त्रीहरूका अडियो काण्डहरू सुनिन्छ । सांसदहरूका अडियो काण्ड सुनिन्छ । अनि कुनै मन्त्रीले राजीनामा दिनुहुन्छ । अझ केही मन्त्रीहरू काण्ड बाहिर आए पनि पदमै हुनुहुन्छ । सांसदहरू बाँकी नै हुनुहुन्छ । यस्ता काण्ड बाहिर आइरहेको सरकारमा नेपाली कांग्रेस छ । यी विषयमा नेपाली कांग्रेसका मन्त्रीहरू बोल्न सक्ने अवस्थामा छैनन् । बीपी भएको भए यो हुँदैनथ्यो ।

यीमात्रै होइनन्, अन्य धेरै इस्यु पनि छन् । न्यायपालिकाले पनि राम्रो फैसला गरेको देखिँदैन । सर्वोच्च अदालतको संवैधानिक इजलासको एउटा फैसलाले संविधानलाई नै तोडमोड गरेजस्तो म देख्छु । हुन त पूर्णपाठ आउला त्यसको । त्यसमा थप व्याख्या होला । यही अनुसारको पूर्ण पाठ आयो भने त संसदीय सुनुवाइ समितिको औचित्यै छैन भन्ने कुरा आउँछ । यो के गर्न खोजेको ? कहाँ जान खोजेको ? हामीले कस्तो सिस्टम बनाउन खोजेको ? बीपी भएको यस्ता कुराहरूलाई कन्ट्रोल गर्न सक्नुहुन्थ्यो । उहाँको त्यो टावरिङ पर्सनालिटीले आफूले भनेका कुराहरूलाई सम्झाउन सक्ने, बुझाउन सक्ने क्षमता राख्नुहुन्थ्यो ।

बीपीले मदनमणि दीक्षितलाई सरकारको पक्षमा क्रिटिकल भएर लेख्नुस् भन्नुभएको थियो । आजका कुनै नेता देखाउनुस् त त्यसरी भन्न सक्ने आँट भएका ।

अब इन्टरनेसनल रूपमा हेर्दा भारतसितको रिलेसन बीपीका पालादेखि राम्रै हो । उहाँले भारतसित पनि एउटा स्ट्यान्ड लिनुभयो । चीन जानुभयो र सगरमाथा हाम्रो हो भनेर सम्झाउनुभयो । त्यतिमात्रै होइन, मान्छेहरूले बिर्सिन्छन् ।

सिङ्गो दक्षिण एसियामा नेपाल पहिलो देश हो, जसले इजरायललाई मान्यता दियो । त्यसैले अहिले पनि इजरायलीले बीपीको गुणगान गाउँछन् । राष्ट्रसंघमा चीनलाई सदस्यता दिनुपर्छ, नत्र विश्वलाई नै राम्रो गर्दैन भनेर उहाँले भन्नुभएको अहिले पनि ताजै छ । अहिलेका कुन नेताले भन्न सक्छन् यस्ता कुरा ?

बीपीले प्रत्युत्पादन गरेको प्रजातान्त्रिक समाजवादको सिद्धान्तलाई विश्वले मानिसकेको छ । नेपालमा भने यसको कार्यान्वयन जसरी हुनपर्थ्यो, त्यो हुन सकिरहेको छैन । यो सिद्धान्त हामीले लागु गर्न सक्यौँ भने गाउँगाउँमा आर्थिक उन्नति गर्न सक्छौँ । अब हामीले डेमोक्रेसीलाई कसरी तल्लो लेभलसम्म पुर्‍याउने भन्नेतिर सोच्नुपर्ने आवश्यकता देखेको छु ।

  • अब बीपीको सिद्धान्त अनुसार पार्टी अगाडि बढाउन पार्टी नेतृत्व, नेता र कार्यकर्ताले के गर्नुपर्छ ? 

बीपीको पालाभन्दा अहिलेको अवस्था अलिकति भिन्न छ । बीपी कहिल्यै पनि कम्युनिस्टहरूसित मिलेर जान तयार रहनुभएन । म सम्झिन्छु, जनमत सङ्ग्रहमा मनमोहन दाइहरू (तत्कालीन एमाले नेता मनमोहन अधिकारी) आएर सँगै कार्यक्रम गरौँ भन्दा तपाईंहरू आफ्नो गर्नुस्, हामी आफ्नो गर्छौँ भनेर भन्नुभयो । सँगै गर्न मान्नुभएन । यस्ता विषयमा अहिलेको नेतृत्व, नेता र कार्यकर्ताले ध्यान दिनुपर्छ । नेपाली कांग्रेस अहिलेको अवस्थामा कमजोर छ । नेपाली कांग्रेसको साख गिर्दो छ । एमाले नेतृत्वको सरकार परिवर्तन नगरिकन कांग्रेसलाई अगाडि बढ्न गाह्रो छ । बीपी भएको भए परिवर्तन गर्नुहुन्थ्यो होला भन्ने मलाई लाग्छ ।

बीपीले कहिल्यै पनि कम्युनिस्टलाई एक्सेप्ट गर्नुभएन । कम्युनिस्टहरूसँग मिलेर जानुपर्छ भन्ने कहिल्यै पनि उहाँको सोच थिएन । अहिले परिस्थिति फेरियो । बागमतीमा धेरै पानी बगिसक्यो तर अहिले बीपी भएको भए मलाई लाग्छ एमाले नेतृत्वको सरकार चेन्ज गर्नुपर्छ भन्नेमा लाग्नुहुन्थ्यो । (रातोपाटीवाट)

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x