प्रतिनिधिसभा बैठक बस्दै, सेफ ल्यान्डिङ’ का लागि प्रमुख प्रतिपक्षीहरूकाे बैठक बस्दै
दुई हप्ता देखी निरन्तर संसद् अवरोध गर्दै आएका विपक्षी दलहरूले गृहमन्त्री लेखकको राजीनामाको अडानबाट पछि हटेको उनीहरूका पछिल्ला अभिव्यक्तिहरूले सङ्केत गरेका छन् । संसदको अवरोध हटाउने विषयमा ‘सेफ ल्यान्डिङ’ का लागि भाषा मिलाएर सहमति गर्ने तयारी गरिएको छ ।
प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसदको अवरोध खुलाउने विषयमा सहमतिको भाषा टुङ्ग्याउने चरणमा रहेको प्रतिक्रिया दिएका थिए । प्रचण्डले संसद खोल्ने विषयमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गरेका थिए ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आफ्नो अडानमा कायम रहे पनि माओवादी केन्द्र र एकीकृत समाजवादी गृहमन्त्री लेखकको राजीनामाको मागबाट पछि हटिसकेका छन् । उनीहरूले भिजिट भिसा प्रकरणमा छानबिन हुनुपर्ने माग त गरिरहेका छन् । तर, यसबारे हाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेकाले अर्को समिति वा आयोग बनाउन नहुने सत्तापक्षको अडानमा उनीहरू लगभग सहमत भएको बुझिएको छ ।
सभामुख देवराज घिमिरेले समेत आइतबार साँझ बसेको प्रतिनिधिसभाको बैठकमा सत्तापक्ष र विपक्षी दलहरूबीच सहमति हुने सङ्केत आफूले पाएको बताउँदै सहमतिका लागि समय दिन सोमबार २ बजेसम्मका लागि बैठक स्थगित गरेको बताएका थिए ।
पछिल्ला दिनहरूमा भएका छलफलपछि सत्तापक्ष र विपक्षी दलहरू संसदको अवरोध खुलाउन सहमति नजिक पुगेका हुन् ।


WRITE COMMENTS FOR THIS ARTICLE