परम्परा र संस्कृति बिर्सनु हुँदैन : प्रधानमन्त्री कार्की
काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो परम्परा र संस्कृति बिर्सन नहुने बताउनु भएको छ ।
संस्कृतिभित्रका कतिपय हानिकारक प्रथा हटाउँदै जानु पर्ने भए पनि आफ्नो मौलिक परम्परा र वेशभूषा भने नछाड्न नहुनेमा जोड दिनु भएको छ ।
तमु ह्युल छोँज धीँ गुरुङ राष्ट्रिय परिषद्को एक प्रतिनिधिमण्डलसँग आज भएको भेटमा उहाँले उक्त कुरा बताउनु भएको हो ।
परिषद्का प्रतिनिधिहरू गुरुङ संस्कृतिअनुरूपका परम्परागत वेशभूषामा उपस्थित हुनु भएको थियो । उहाँहरूको वेशभूषाको प्रशंसा गर्दै प्रधानमन्त्रीले सरकारी कार्यालयमा पनि हप्तामा एक दिन भए पनि कर्मचारीहरूले आफ्नो परम्परागत पोशाक लगाउँदा उचित हुने धारणा व्यक्त गर्नु भयो ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार “कतिपय समाज अहिले आफ्नो पहिचानको खोजीमा छन् । आधुनिकताका नाममा आफ्नो मौलिकता बिर्संदै गएको पाइन्छ । आफ्नो पहिचान नै के हो भन्ने उनीहरूलाई थाहा छैन । तर हामी नेपालीसँग प्रशस्त आफ्नोपन छ । विविध मौलिक संस्कृति र परम्परा छ । यो जोगाउनु पर्छ । बरू सरकारी कार्यालयमा हप्तामा एक वा दुई दिन यस्तो पोशाक लगाउने व्यवस्था गर्ने विषयमा पनि सोच्नुपर्ने हो कि ?”, प्रधानमन्त्री कार्कीले भन्नु भयो ।
त्यसअवसरमा परिषद्का महासचिव राजु गुरुङले प्रधानमन्त्रीलाई यही पुस १५ गते आयोजना हुने तमु ल्होसारसम्बन्धी विशेष कार्यक्रमा सहभागी हुन आमन्त्रण गर्नुभयो । रासस


WRITE COMMENTS FOR THIS ARTICLE