बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

सभापतिले महिला माननीयहरुलाई मिसबिहेभ गर्दा आक्राेश बढेकाे हाे-कल्पना मियाँ कुसारी

काठमाडाैं – महिला समितिका पुरुष सभापतिमाथि जाइलागेकी नेकपा माओवादी केन्द्रकी सांसद कल्पना मियाँ कुसारीले आफ्नो कदमको बचाउ गरेकी छन् । संसदीय समितिको बैठकमा आफूमाथि ‘मिसबिहेभ’ भएपछि माइक प्रहार गर्न बाध्य भएको उनले प्रतिक्रिया दिएकी हुन् ।

प्रतिनिधिसभा अन्तर्गत महिला तथा सामाजिक मामिला समितिको आज बिहानको बैठकमा विवाद हुँदा सांसद कुसारीले सभापति किरणकुमार साहलाई ताकेर माइक र आफ्नो नेमप्लेटले हानेकी थिइन् । उक्त घटनालगत्तै सम्पर्कमा आएकी उनले चालु आर्थिक वर्षमा समितिले गरेको अनुगमनका विषयबाट विवाद शुरु भएको खुलाइन् ।

‘समितिले यस वर्ष गरेका अनुगमन प्रभावकारी देखिएकाे छैन, आफू निकटका माननीयहरुलाई मात्रै प्राथमिकता दिएर पारदर्शीता कायम गरिएन भन्ने कुरा उठाएको थिएँ’, उनले भनिन्, ‘तर सभापतिज्यूले यस वर्षको अनुगमनको विषयलाई डाइभर्ट गरेर अघिल्लो वर्षको अनुगमनका कुरा गर्न थाल्नुभयो, जबकि त्यो त अघिल्लो वर्ष नै भइसकेको छ, कमजोरी लुकाउन मेरो विषय डाइभर्ट गर्दै धेरै ठूला गर्ने ? भनेर थर्काउनुभयो ।’

विवाद बढ्दै जाँदा सभापति साहले ‘तपाईजस्ता थुप्रै माननीय छन्, ठूला कुरा नगर्नुस्’ भनेपछि आवेगमा आएर आक्रमण गरेको कुसारीले स्वीकार गरिन् । साहले यसअघि पनि माहिला माननीयहरुलाई थर्काउने गरेको उनको दाबी छ ।

‘उहाँ सभापति हो, हामी सदस्य । सभापतिले त झन् सदस्यहरुलाई मिलाएर लाने हो नि, तर उहाँले थुप्रै पटक, मलाई मात्र हैन, अन्य महिला माननीयहरुलाई पनि मिसबिहेभ गरेर बोल्नुभएको छ’, सांसद कुसारीले थपिन्, ‘एकपटक पो सहिन्छ, दुई पटक पो सहिन्छ, बारम्बार सहन गाह्रो हुन्छ, हामी पनि जनप्रतिनिधि हौँ, ठूला कुरा हामीले हैन, उहाँले गर्नुहुन्छ, त्यसकै आवेगमा हानेकाे हुँ।’

एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बनेपछि सभापति साहले समितिको बैठक नै नबोलाएको सांसद कुसारीको जिकिर छ । ‘मैले कतिपटक महिलाको विभिन्न एजेण्डामा छलफल गरौँ भनेर भनँ, तर अहँ बैठक बोलाउनुभएन, अघिल्लो वर्ष प्रचण्ड प्रधानमन्त्री हुँदा बरु धेरै बैठक बसेको थियो, अहिले त बैठक नै बस्दैन, आफ्नो पार्टीको सरकार भएपछि जे गरे पनि हुन्छ भन्ने प्रवृति देखियो’, उनले थपिन् । (जनआस्था)

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x