वार्तामा सहमति भए पनि सवारी भने चलेनन् : पर्ख र हेरको अवस्थामा व्यवसायीहरू
काठमाडाैं – सार्वजनिक सवारी नचलेपछि मंगलबार काठमाडौं उपत्यकाका सडकहरू सुनसान देखिएका छन् । यातायात बन्द हुँदा नियमित कामकाजमा जाने सर्वसाधारण, बालबालिका, बिरामी र ज्येष्ठ नागरिकहरू मर्कामा परेका छन् ।
केही बस, फोर्स गाडी, भाडाका ट्याक्सी र साझा यातायातका बसहरू मात्र छिटपुट रूपमा चलेका छन् । प्रहरीले पनि केही स्थानमा निःशुल्क बस सञ्चालन गरेको छ ।
गण्डकी प्रदेश सरकारले राइडसेयरिङ सेवा पठाओ, इनड्राइभलगायतलाई वैधानिकता दिने नियमावली जारी गरेपछि त्यसको विरोधमा यातायात व्यवसायीहरू शुक्रबारदेखि आन्दोलनमा छन् । उनीहरूले जेठ १९ गतेदेखि देशव्यापी चक्काजाम गरेका हुन् ।
यसअघि यातायात व्यवसायीहरूले सार्वजनिक यातायात बन्दको कार्यक्रम फिर्ता लिन सहमत भएका थिए । तर, सहमतिअनुसार सवारी भने चल्न सकेका छैनन् ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले गण्डकी प्रदेश सरकारले एक वर्षअघिको प्रतिबद्धता उल्ट्याएको भन्दै विश्वास गुमेको बताएका छन् ।
संघीय सरकारसँगको वार्तामा सहमति भए पनि गण्डकी प्रदेश सरकारबाट नियमावली स्थगन नभएकाले चक्काजाम फिर्ता नलिइएको स्वाँरको भनाइ छ । सहमति कार्यान्वयनका लागि पत्राचार प्रक्रिया सुरु गरिएको भए पनि व्यवसायीहरू अझै पर्ख र हेरको अवस्थामा छन् ।


WRITE COMMENTS FOR THIS ARTICLE