आइतवार, भदौ २८, २०८३
Sunday, September 13, 2026

आशिफको शतकमा नेपालले युएईलाई दियो ३१४ रनको चुनौती

काठमाडौं – एसीसी प्रिमियर कपको फाइनलमा नेपालले यूएईलाई ३१४ रनको चुनौती दिएको छ ।

मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभल मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले पूरै ५० ओभर खेल्दै नाै विकेटको क्षतिमा ३१३ रन बनाएको हो ।

यूएईविरुद्ध नेपालका लागि ओपनर आशिफ शेखले शतक बनाउँदा अलराउन्डर गुल्सन झाले अर्धशतक बनाए । १०३ बलको सामना गर्दा चार छक्का र ८ चौकाका मद्दतमा उनले शतक पूरा गरेका हुन् । आशिफ १०६ बलमा १०२ रन बनाउँदा आउट भएका छन् । उनी हैदर अलीको बलमा क्याच आउट भए । पाँचौक्रममा ब्याटिङ गर्न आउका झाले ३६ बलको सामना गर्दा तीन चौका र चार छक्काको मद्दतमा अर्धशतक बनाएका हुन् ।

२१ ओभरको अन्तिम बलमा नेपालका ओपनर अर्जुन कुमाल आशिफसँग तालमेल नमिल्दा रनआउट भए । आउट हुनु अघि उनले आशिफसँग ९७ रनको साझेदारी गरे । अर्जुनले ६३ बलमा ६ चौका प्रहार गर्दै ४३ रन बनाए । नेपालका लागि रोहित पौडेलले दुई चौकाको मद्दतमा ४४ बलमा ४० रन बनाउँदा दिपेन्द्रसिंह ऐरीले १८ बलमा १८ रन बनाए ।

इशान पाण्डेले २० बल खेल्दा १३ रन जोडे भने करण केसी दुई बलको सामना गर्दा मात्र एक रन जोडेर आउट भए । दुवै टोली दोस्रो पटक एसीसी प्रिमियर कपको उपाधि उचाल्ने दाउमा छन् ।

सन् २०२३ मा काठमाडौँमा भएको पहिलो संस्करणको फाइनलमा नेपालले युएईलाई नै ७ विकेटले पराजित गर्दै उपाधि जितेको थियो । त्यस्तै, सन् २०२४ को दोस्रो संस्करणमा आयोजक ओमानलाई हराउँदै युएई च्याम्पियन बनेको थियो ।

यसपटकको विजेता टोलीले मात्र आगामी एसिया कपमा स्थान सुरक्षित गर्ने भएकाले दुवै टोलीका लागि यो भिडन्त निकै महत्त्वपूर्ण मानिएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x