कायममुकायम गभर्नरको जिम्मेवारी निलम ढुङ्गाना तिम्सिनालाई तोकियाे

काठमाडौं : अर्थ मन्त्रालयले नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर निलम ढुङ्गाना तिम्सिनालाई कायममुकायम गभर्नरको जिम्मेवारी तोकेको छ। नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा २७ बमोजिम उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ढुङ्गानालाई कायममुकायम गभर्नरको जिम्मेवारी तोकेका हुन्।
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल समाप्त भएको छ। अधिकारीलाई सरकारले २०७६ चैत २४ गते पाँच वर्षका लागि गभर्नरमा नियुक्त गरेको थियो। यस अगाडिको मन्त्रिपरिषद्को बैठकले अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समिति गठन गरेको थियो। सिफारिस समितिमा पूर्व गभर्नर विजय भट्टराई र अर्थविद् विश्व पौडेल रहेका छन्।
सिफारिस भएका ३ जनामध्ये एक जनालाई मन्त्रिपरिषद्ले गभर्नर नियुक्त गर्ने व्यवस्था छ। ३ जनाको नाम सिफारिस हुँदा डेपुटी गभर्नरमध्ये १ जनाको नाम सिफारिस हुनैपर्ने भएकोले डेपुटी गभर्नरद्वय ढुंगाना, बमबहादुर मिश्रमध्ये एउटाको नामसहित अन्य नाम मन्त्रिपरिषद्सम्म पुग्ने निश्चित छ। अन्य धेरैले गभर्नरका लागि लबिङ गरिरहेका छन्।
WRITE COMMENTS FOR THIS ARTICLE