कास्की जिल्ला अदालतमा आजदेखि रविको बयान, त्यसपछि थुनछेक बहस
काठमाडौं,- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध दायर भएको मुद्दामा सोमबारदेखि कास्की जिल्ला अदालतमा थुनछेक बहस हुँदैछ।
पूर्वगृहमन्त्री लामिछानेमाथि जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले आइतबार सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा मुद्दा दर्ता गरेपछि सोमबार थुनछेक बहस शुरू हुने भएको हो।
लामिछानेविरुद्ध सम्पत्ति शुद्धीकरणमा २७ करोड ८९ लाख ४४ हजार ७०५ र सहकारी ठगीतर्फ तीन करोड ३७ लाख ६५ हजार रुपैयाँ बिगो दाबीसहित मुद्दा दायर गरेको जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीले जनाएको छ।
यसैबिच अदालतमा मुद्दा दर्ता भएसँगै लामिछानेको सांसद पद निलम्बनमा पर्ने भएको छ। जिल्ला प्रहरी कार्यालय कास्कीले रविविरुद्ध मुद्दा दर्ता भएको जानकारी संघीय संसद् सचिवालयलाई गराइसकेको छ।
पत्र प्राप्त भएको र सभामुख देवराज घिमिरेले आज सूचना टाँस गरेर रवि निलम्बनमा परेको जानकारी गराउनसक्ने संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए।
WRITE COMMENTS FOR THIS ARTICLE