पुराना भनिएका दलहरूको कमजोरीको जगमा टेकेर नयाँ शक्ति उदाएका हुन–’प्रचण्ड’
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुराना भनिएका दलहरूको कमजोरीको जगमा टेकेर नयाँ शक्ति उदाएका बताएका छन् ।
शनिबार बिहान सामाजिक सञ्जालमार्फत उनले राजनीतिक मञ्चमा नयाँ-नयाँ अनुहारहरू उदाइरहेको बताउँदै यस्तो टिप्पणी गरेका हुन् ।
‘पुराना भनिनेहरूको कमजोरीको जगमा जन्मेका नयाँ शक्ति र अनुहारलाई सरापेर हैन, आफ्ना कमजोरीलाई स्वीकार गरेर मात्र पुरानाहरूले आफूलाई रुपान्तरण गर्न सम्भव छ,’ उनले भनेका छन् ।
शासकको डण्डाले मात्रै लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण गर्न नसकिने उनले बताएका छन्।
‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानप्रदत्त अधिकार प्रयोग गरी नयाँ-नयाँ अनुहारहरू राजनीतिक मञ्चमा उदाइरहेका छन् । जनताको अभिमत लिएर आएका नयाँ अनुहारलाई मैले लोकतन्त्ररुपी बगैँचामा फूलेका सुन्दर फूल भन्दै आएको छु,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘लोकतान्त्रिक प्रक्रिया अवलम्बन गर्दै पुराना भनिनेहरूको कमजोरीको जगमा जन्मेका नयाँ शक्ति र अनुहारलाई सरापेर हैन, आफ्ना कमजोरीलाई स्वीकार गरेर मात्र पुरानाहरूले आफूलाई रुपान्तरण गर्न सम्भव छ। बगैँचामा फक्रिरहेका कोपिलालाई निमोठेर हैन, फुल्न दिएर मात्रै त्यसको सही पहिचान हुन्छ। सही र गलतको पहिचान जनताले गर्छन्, शासकको डण्डाले हैन। यही प्रक्रियाले मात्रै हामीले लडेर ल्याएको लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण गर्न सकिन्छ भन्ने मेरो विश्वास छ।’


WRITE COMMENTS FOR THIS ARTICLE