बुधबार, मंसिर २४, २०८२
Wednesday, December 10, 2025

गणतन्त्रप्रति कोही सन्तुष्ट नभएको नेत्रविक्रम चन्द विप्लवकाे दावी

बुटवल – नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले अहिलेको गणतन्त्रप्रति कोही सन्तुष्ट नभएको दावी गरेका छन् । जनपत्रकार संगठन र जनगर्जन मिडिया प्रालिले बिहीबार बुटवलमा गरेको अन्तरक्रियामा उनले गणतन्त्रप्रति आम नागरिक देखि विभिन्न पेशा, व्यवसायमा आवद्ध अधिकांश नागरिक असन्तुष्ट रहेको उनको भनाइ छ ।

गणतन्त्र स्थापना भएपनि सामन्तवादको समूल अन्त्य नभएको र पुरानो व्यवस्थाका चरित्रका अवशेष दल र नेताहरुमा बांकी नै रहेकाले हरेक पेशा व्यवसायमा असन्तुष्टी रहेको विप्लवले बताए ।

पोखरा विमानस्थलको उदाहरण दिंदै विप्लवले अर्बौं भ्रष्टाचारका थुप्रै काण्डहरुमा तीन ठूला दलका शीर्ष नेताहरु चोचोमोचो मिलाएर मौन बस्दा, उद्यम, व्यवसाय विना नेताहरुको विलासी जीवनशैली तर जनताको अवस्था जहांको त्यर्ही हुंदा नागरिकस्तरमा वास्तविक गणतन्त्र नआएको तर्क गरे ।

‘अहिलेको गणतन्त्रप्रति कुनै एउटा वर्ग र समुदाय मात्र होइन, विभिन्न पेसा, व्यवसायमा आवद्ध नागरिक, बुद्धिजिवी सन्तुष्ट छैनन् यो देशभरिको आवाज हो’, विप्लवले भने–‘गणतन्त्रप्रति अहिलेको व्यवस्थाप्रति सन्तुष्ट नभएपनि अबको समाधान वा विकल्प के हो भन्नेमा एकमत छैन ।’

गणतन्त्रप्रति असन्तुष्टी बढ्दै जांदा राजसंस्था पक्षधरहरु सडक आन्दोलनमा आउंदा आम सर्वसाधारण नागरिकमा अहिलेको गणतन्त्रको विकल्प त्यही हो कि भन्ने परेको विप्लवले औंल्याए ।

तर गणतन्त्रको विकल्प राजसंस्था हुन नसक्ने प्रष्ट पार्दै विप्लवले अहिलेको असन्तुष्टीको समाधान नेपाली विशेषताको समाजवाद हुने बताए । ‘कसैले राजसंस्था पुनस्थापना भनेका छन्, कसैले यही गणतन्त्रमा संविधान संशोधन गरेर ठीक हुन्छ भनेका छन् यी दुबैबाट जनताको असन्तुष्टी सम्बोधन हुंदैन, समाधान पनि दिंदैन’–विप्लवले भने–‘अब नेपालमा कस्तो समाजवाद आवश्यक हो भन्नेमा खुल्ला वहस हुनुपर्छ ।’

नेपालमा चिनियाँ र रूसी जस्तो समाजवाद नेपालमा मेल नखाने भन्दै कम्युनिस्ट सिद्धान्त, विचार र दर्शनमा पुनर्विचार जरुरी रहेको समेत विप्लवले औंल्याए ।
कृषिमा अझै जमीनदारी प्रथा रहेको,प्रगतिशील कृषि प्रणाली नरहेको,शिक्षा, स्वास्थ्य महंगो रहेको भन्दै विप्लवले नेपाली मौलिकताको समाजवादबाट मात्रै विद्यमान समस्याको समाधान हुने तर्क गरे ।

‘आत्मनिर्भर अर्थतन्त्र, आत्मनिर्भर उत्पादन नेपालको नारा हुनुपर्छ–‘विप्लवले भने–‘सबै कुरा किनेर उपभोग गर्ने अनि समृद्ध नेपाल सुखी नेपाली नारा कसरी उपयुक्त हुन्छ ?’
विप्लवले बैंकहरुले ऋणीको ७ करोडको घर सम्पति २ करोडमा लिलाम गरेर खाइदिने परिपाटी गलत रहेको टिप्पणी गरे । उनले एक लाख ५६ हजार माध्यम वर्गीय व्यासायी टाट पल्टिने अवस्थामा रहेको दावी गरे ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x