सुकुम्वासी परिवारका लागि प्रकृतिमैत्री बाँसको घर
ढल्केबर,- धनुषाको गणेशमान चारनाथ नगरपालिका–७, सन्तपुरमा सुकुम्वासी परिवारका लागि प्रकृतिमैत्री बाँसको घर निर्माण भइरहेको छ । गणेशमान चारनाथ नगरपालिका र ह्याबिट्याट फर नेपालको साझेदारीमा सामुदायिक सुधार केन्द्र धनुषाले सन्तपुरका ३६ भूमिहीन, दलित, सीमान्तकृत, अति विपन्न र निम्न आयस्रोत भएका घर परिवारका लागि बाँसको घर निर्माण गरिएको हो ।
सामुदायिक सुधार केन्द्र धनुषाका अध्यक्ष सञ्जयकुमार साहले प्रकृतिमैत्री, भूकम्पको कम जोखिम र कम लागतमा घर निर्माण हुने भएकाले बाँसको अधिक प्रयोग गरिएको बताउनुभयो । धुरीखाँबो, बेरा र छानामा समेत बाँसकै प्रयोग गरिएको बताउँदै उहाँले प्रशोधित बाँसको प्रयोग गरिएकाले निर्माण हुने घरको आयु ४० वर्ष हुने जानकारी दिनुभयो । उहाँका अनुसार एउटा घर निर्माणमा पाँच लाख रुपियाँभन्दा बढी खर्च लाग्नेछ । प्रत्येक परिवारका लागि भान्छासहित दुई वटा कोठाको घर र शौचालय निर्माण हुन्छ ।
अध्यक्ष साहले सन्तपुरका ३६ अव्यवस्थित परिवारका लागि घर बनाउने योजना भए पनि पहिलो चरणमा आठ वटा घरको निर्माण कार्य अन्तिम चरण पुगेको उल्लेख गर्दै बाँकी घरको निर्माण कार्य चाँडै सुरु गरिने बताउनुभयो । घर निर्माणपछि सुकुम्वासी परिवारको आयस्तरमा वृद्धि ल्याउन, बालबालिकाको शिक्षा, शिशु तथा वृद्धवृद्धाको स्याहार गर्न विभिन्न कार्यक्रम सञ्चालन गरिएको उहाँले जानकारी दिनुभयो ।
गणेशमान चारनाथ नगरपालिकाका नगरप्रमुख जितनारायण यादवले अव्यवस्थित बसोबासीका लागि जग्गा व्यवस्थासहित प्रकृतिमैत्री बाँसको घर बनाइदिन लागेको बताउनुभयो । उहाँले शौचालय, खानेपानी, बिजुली बत्तीसहित एकीकृत नमूना बस्ती बनाउन लागिएको बताउँदै नागरिकको सुरक्षित आवासका लागि नगरपालिकाले यो योजना अघि बढाएको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “घर निर्माणपछि घरसँगै एक परिवारलाई १० धुर जग्गाको लालपुर्जा बनाएर जग्गको स्वामित्व प्रदान गर्छौँ । नगरभित्रका भूमिहीन, दलित जसलाई आर्थिकरुपले घर बनाउने अवस्था छैन त्यस्ता परिवारलाई आवासको व्यवस्था गर्नु नगरपालिकाको दायित्व हो ।”
आफ्नो कार्यकालमा सम्भवतः नगरभित्रका सबै अव्यवस्थित घर परिवारका लागि घर निर्माण गरी आवास उपलब्ध गराउने लक्ष्य रहेको नगर प्रमुख यादवले बताउनुभयो । हेर्दा सामान्य जस्तो देखिए पनि बाँसको घर तीन दशकभन्दा बढी टिक्ने र घरको निर्माण कार्यले स्थानीय दक्ष र अदक्ष कामदारले रोजगारी पाएको उहाँको भनाइ छ ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रञ्जित यादवले सबै जनतालाई सुरक्षितरुपमा बस्न पाउने अधिकारको सुनिश्चित गर्न यो परियोजनाले मद्दत गर्ने अपेक्षा गरिएको बताउनुभयो । सबै नेपाली सुरक्षितसाथ बस्ने पाउने नैसर्गिक र संविधानप्रदत्त अधिकार भएको बताउँदै उहाँले यो परियोजनाले विपन्न, सीमान्तकृत, दलित र कमजोर अवस्थाका नगरवासीलाई ठूलो सहयोग पुग्ने जानकारी दिनुभयो ।
नगरपालिकाले अव्यवस्थित र घरविहीन नगरवासीलाई व्यवस्थित बनाउने मुख्य भूमिका निर्वाह गर्नुपर्ने दायित्वबोध गर्दै सञ्चालनमा ल्याइएको यो परियोजनाले तत्काललाई आठ घरधुरी परिवार लाभान्वित हुने अधिकृत यादवले बताउनुभयो ।
सन्तपुरका अव्यवस्थित बसोवासी जग्गाको स्वामित्वसहित बसोबासका निम्ति घर पाउने भएपछि खुसी देखिएका छन् । स्थानीय विजयकुमार राउतले वर्षौदेखि फुसको झुपडीमा बस्दै आएको हामी अव्यवस्थित बसोबासीले व्यवस्थित घर पाउने भएपछि खुसी लागेको बताउनुभयो ।
WRITE COMMENTS FOR THIS ARTICLE