शुक्रबार, बैशाख ४, २०८३
Friday, April 17, 2026

एमालेभित्र अध्यक्ष ओलीको विकल्प खोज्नुपर्ने आवाज बढ्दै

काठमाडौं – नेकपा एमालेभित्र अध्यक्ष केपी शर्मा ओलीको विकल्प खोज्नुपर्ने आवाज बढ्दै गएको छ । गत मंसिर अन्तिम साता भएको ११औँ राष्ट्रिय महाधिवेशनमा ओली पक्षबाट निर्वाचित भएका कतिपय पदाधिकारीले समेत ओलीको विकल्प नखोजे नेकपा एमाले र कम्युनिस्ट आन्दोलन अघि बढ्न नसक्ने बताउन थालेका छन् । महाधिवेशनमा ओली प्यानलबाटै उपाध्यक्ष जितेका विष्णु पौडेलदेखि महासचिव शंकर पोखरेलसम्म ओलीको विकल्पबारे सोच्न बाध्य भएका हुन् ।

यद्यपि शंकर पोखरेलले सार्वजनिक रूपमा ओलीको विकल्पबारे अहिलेसम्म मुख खोलिसकेका छैनन् । अर्का उपाध्यक्ष पृथ्वीसुब्बा (पीएस) गुरुङ पनि अध्यक्ष ओलीसँग पूर्ण सन्तुष्ट हुन नसकेपनि सार्वजनिक रूपमा ओलीविरुद्ध ‘मौन’ बसेर विकल्पको संकेत गरिरहेका छन् ।

यसैगरी सचिव हिक्मत कार्की, शेरधन राई लगायतका नेताहरु पछिल्ला दिनमा पार्टी पुनर्गठन नगरेसम्म अघि बढ्न नसक्ने निष्कर्षमा पुगेका छन् ।

जनेजी विद्रोहपछि गत फागुन २१ मा सम्पन्न निर्वाचनको अहिलेसम्म औपचारिक समीक्षा नगरेको नेकपा एमालेले अबचाहिँ निर्वाचनको गम्भीर समीक्षा गर्दै अध्यक्ष ओलीलाई बिदाइ गरेर पार्टी पुनर्गठनमा लाग्नुपर्ने  जिल्ला, प्रदेश र केन्द्रसम्मका नेताहरुबिच छलफल भइरहेको अनौपचारिक कुराकानीका क्रममा नेताहरू बताउँछन् ।

‘निर्वाचन भएको डेढ महिना वित्न लाग्यो एमालेमा निर्वाचनको बस्तुनिष्ठ समीक्षा नै भएको छैन’, एक पदाधिकारी भन्छन्,‘महासचिवले जिल्ला र प्रदेश अध्यक्षलाई चैत महिनाभित्र समीक्षा रिपोर्ट पठाउन मौखिक निर्देशन दिएबाहेक संस्थागत ढंगले कुनै छलफल भएको छैन ।’

त्यसो त एमालेमा निर्वाचनको समीक्षा पहिला केन्द्रमा गर्नुपर्ने अनिमात्र जिल्ला तथा प्रदेशमा गर्नुपर्ने आवाज समेत उठ्न थालेको बताइएको छ ।

‘एकैचोटी तल्ला कमिटीलाई रिपोर्ट पठाउनु भनेर उनीहरूले के रिपोर्ट पठाउँछन् ?’, एक जिल्ला अध्यक्ष भन्छन्, ‘रिपोर्ट त बन्छ तर बस्तुनिष्ठ रिपोर्ट बन्दैन ।’

ती नेताका अनुसार जेनजी आन्दोलनताका सरकारको नेतृत्वकर्ताको हैसियतमा नैतिक जिम्मेवारी लिने कुरा नभएपनि निर्वाचनमा आएको नतिजामा नेतृत्वको कहीँ न कहीँ कमजोरी छ भन्ने बुझिन्छ । तर त्यसमा नेतृत्व आत्मालोचना गर्न तयार छैन ।

‘विदेशी षडयन्त्र भनेर पन्छिने काममात्र भएको छ । नैतिक जिम्मेवारी र आत्मालोचना नगर्दा जनतामात्र होइन कार्यकर्ताले समेत भोट नहालेको प्रस्ट छ’, गण्डकीका एक एमाले जिल्ला अध्यक्ष भन्छन्, ‘यस्तो अवस्थामा अबपनि यहीँ नेतृत्वबाट एमाले पार्टी चलाउँछु भन्नु मूर्खता बाहेक केही होइन ।’

थापालाई ब्याक सपोर्ट

गत चैत १९ गते एमाले उपाध्यक्ष तथा कार्यवाहक अध्यक्ष रामबहादुर थापा बादलले संसदको पहिलो बैठकमा चुनावी नतिजाबारे दिएको अभिव्यक्तिलाई लिएर एमालेका धेरै नेता कार्यकर्ताहरूले आलोचना गरे ।

यसरी आलोचना गर्नेहरूमा विगतमा ओली निकट नै भनेर चिनिएका उपाध्यक्ष विष्णु पौडेल अग्रपङ्क्तिमा उभिए । लगत्तै पौडेलले सचिवालय बैठक नै बोलाउन लगाए । चैत २० गते बसेको सचिवालय बैठकमा बादलको अभिव्यक्तिबारे लामो छलफल भयो र उक्त अभिव्यक्ति एमालेको संस्थागत नभएको प्रस्टीकरण दियो । तर त्यसको केही दिनपछि उपाध्यक्ष थापा बादल पोखरा पुगेर पुन आफूले संसदमा दिएको अभिव्यक्ति पार्टी निर्णय र पार्टी लाइन भएको दोहोर्‍याए । बरु बादलले आफ्नो अभिव्यक्तिले पार्टीका दक्षिणपन्थीहरुको पहिचान भएको भनेर नेता पौडेललगायत प्रश्न गर्नेहरूमाथि प्रश्न उठाए । थापाले उक्त अभिव्यक्ति दोहोर्‍याउनुलाई एमाले नेता कार्यकर्ताहरूले अध्यक्ष ओलीकै चाहाना र इशाराप्रति संकेत गरेका छन् ।

‘थापाले ओलीको इशाराविना त्यतिसम्म बोल्ने हिम्मत गर्दैनन्’, एक पदाधिकारी भन्छन्, ‘२० गतेको सचिवालय बैठकले थापाको अभिव्यक्ति सच्चाउने प्रयास गरेपछि ओलीले पुन: बोल्न थापालाई सुझाएको बुझिन्छ ।’

शंकर केही लचक

नेताहरूसँगको कुराकानीमा अहिलेको पार्टी नेतृत्व पुनर्गठन गर्नुपर्छ भन्नेमा महासचिव शंकर पोखरेल पनि लगभग सहमत जस्तै देखिन्छन् । युवा, विद्यार्थी, बुद्धिजीवीलगायतले त नेतृत्व पुनर्गठन र विशेष महाधिवेशन गर्नका लागि हस्ताक्षर अभियान नै चलाइसकेका छन् । युवा विद्यार्थीले विशेष महाधिवेशनको मागसहित हस्ताक्षर थालेपछि पोखरेल लगायतका नेताहरूले उनीहरूलाई पार्टी कार्यालयमै बोलाएर उनीहरुका कुरा सुनेका थिए । त्यसक्रममा पोखरेलले उठेका माग नाजायज नभएपनि समय अनुपयुक्त भएको जवाफ दिएका थिए । पार्टीभित्र यस्तो दबाब बढ्दै गएपछि अध्यक्ष ओली टिचिङ अस्पतालमा रहेकै बखत महासचिव पोखरेल अध्यक्ष ओली भेट्न अस्पताल पुगेका थिए । उक्त भेटमा पोखरेलले व्यापक दबाब बढ्दै गएको भन्दै सहमतिमै अध्यक्ष पद त्याग्न सुझाव समेत दिएको दाङका एक नेताले बताए ।

‘पछिल्लो समय महासचिव पनि पार्टी पुनर्गठनका सवालमा लचक हुनुहुन्छ र अध्यक्षलाई भेटेर सुनाइसक्नु भएको छ । तर त्यसको मोडलबारे खासै छलफल हुन सकेको छैन’, ती नेताले रातोपाटीसँग भने, ‘महासचिव पोखरेल र उपाध्यक्ष पौडेलका आआफ्नै उद्देश्य अनुसार गतिविधि भइरहेका छन् ।’

विष्णुको भर छैन

कतिपयले उपाध्यक्ष विष्णु पौडेल संस्थापन इतर पक्षमा उभिएको देखिएपनि उनको भर गरिहाल्ने अवस्था नरहेको बताएका छन् । ‘११ औं महाधिवेशनमा पनि उहाँसँग धेरै चरण कुरा भए तर खुट्टा टेक्नुभएन । अहिले पनि कस्सिनु त भएको छ तर उहाँको भर छैन । कुन बेला कता पुग्नुहुन्छ पत्तो नै हुँदैन’, एक पदाधिकारी भन्छन्, ‘अध्यक्ष अस्पतालबाट डिस्चार्ज भएपछि बस्ने सचिवालय बैठकमार्फत थप प्रस्ट रुपरेखा थाहा होला ।’

त्यसो त एमालेको ११ औं महाधिवेशनमा ओलीको विपक्षमा समूह बनाएर प्रतिस्पर्धा गरेका नेताहरूले जिल्ला जिल्लाबाट पार्टी पुनगर्ठनका लागि दबाब बढाउन आआफ्ना ठाउँबाट प्रयास भइरहेको बताएका छन् । यद्यपि उनीहरूले अस्पतालमा भएका बेला नेतृत्व हटाउन पहल गरेको भनेर अनर्थ लाग्ने भएकाले उक्त पहललाई न्यूनीकरण गर्नुपरेको बताएका छन् ।

यसैबिच चुनावी रिपोर्ट तयार गर्ने क्रममा काठमाडौँ लगायतका जिल्ला कमिटीहरूले वर्तमान नेतृत्वबाट पार्टी चल्न नसक्ने ठहरसहितको प्रतिवेदन तयार पारेका छन् । साथै उनीहरूले २ कार्यकाल र ७० बर्से उमेर हद लागु हुनुपर्ने, वडादेखिकै पार्टी कमिटीको आकार घटाउनुपर्ने, पूर्व राष्ट्रपति विद्या भण्डारीको सदस्यता खुला गर्नुपर्ने लगायतका सुझाव दिएका छन् ।

‘ओभरलमा पार्टी रिफर्म गर्नुपर्छ भन्ने हाम्रो निष्कर्ष छ’, नेकपा एमालेका काठमाडौँ जिल्ला कमिटी अध्यक्ष दीपक निरौला भन्छन् ‘जिम्मेवारी माथिबाटै लिनुपर्छ ।’ त्यस्तै कतिपय जिम्मेवार नेताले दिने गरेका अभिव्यक्तिका सवालमा पनि व्यक्ति नै किटान गरेर त्यस्तो अभिव्यक्ति रोकिनुपर्ने सुझाव पनि जिल्ला कमिटीले तयार पारेको प्रतिवेदनमा उल्लेख रहेको अर्का एक नेताले जानकारी दिए ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x