पशुपतिनाथ मन्दिरमा बिहानैदेखि दर्शनार्थीको घुइँचो
काठमाडौं – हरितालिका तीजका अवसरमा काठमाडौंको पशुपतिनाथ मन्दिरमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ। तीजको दिन व्रत बसेर पूजाआजा तथा दर्शनका लागि पशुपति पुगेका महिला भक्तजनको चहलपहल बढेको हो।
यस वर्ष भने विगतका वर्षको तुलनामा पशुपतिनाथमा दर्शन तथा पूजाआजाको व्यवस्थापन सहज देखिएको भक्तजनहरूले बताएका छन्। लामो समयसम्म लाइनमा बस्नुपर्ने र भीडका कारण दर्शन नै नगरी फर्किनुपर्ने अवस्था यसपटक नभएको उनीहरूको अनुभव छ।
कम र व्यवस्थापन राम्रो पाएको बताइन्। उनका अनुसार साढे ११ बजेतिर लाइन बसेकी उनी करिब आधा घण्टामै पूजा तथा दर्शन गर्न सफल भइन्।
त्यस्तै, नारायणथानकी राधिका बोगटीले चार वर्षअघिको तीजको अनुभव सुनाउँदै पहिले गौशाला वा एयरपोर्ट क्षेत्रसम्मै लामो लाइन लाग्ने गरेको बताइन्। कतिपय अवस्थामा घण्टौं लाइन बसेर पनि दर्शन नगरी फर्किनुपर्ने अवस्था रहेको उनको भनाइ छ। तर यस वर्ष भने आधादेखि एक घण्टाभित्रै सहज रूपमा दर्शन गर्न पाएको उनले बताइन्।
पशुपति क्षेत्रमा भेटिएका सावित्रा बस्नेत, प्रेसी थापा, शारदा राणा तथा विराटनगरकी सीता भट्टराईलगायत भक्तजनले पनि स्वयंसेवकको परिचालन, लाइन व्यवस्थापन र सुरक्षा व्यवस्था सन्तोषजनक रहेको प्रतिक्रिया दिएका छन्।
काठमाडौं महानगरपालिका–७ की मञ्जु अधिकारीले पनि यसपटक लाइन व्यवस्थित भएकाले वृद्ध आमासँगै सहज रूपमा दर्शन गर्न पाएको बताइन्। उनका अनुसार प्रवेशद्वारमा स्वयंसेवकले सही बाटो देखाइदिँदा भीडमा अलमलिनुपर्ने अवस्था आएन।
ललितपुरकी पूजा महर्जनले मन्दिर परिसरमा पानी र प्राथमिक उपचारको व्यवस्था हुनु सकारात्मक लागेको बताइन्। “व्रत बसेर आएका भक्तजनका लागि यस्तो व्यवस्थाले धेरै राहत मिलेको छ,” उनले भनिन्।
भक्तजनको भीडलाई व्यवस्थित गर्न पशुपति क्षेत्र विकास कोषसँगै स्वयंसेवक तथा सुरक्षाकर्मी परिचालन गरिएको छ। प्रवेश तथा दर्शनका क्रममा लाइन व्यवस्थापनलाई प्राथमिकता दिइएकाले विगतमा जस्तो अत्यधिक भीडको समस्या कम भएको भक्तजनहरूको भनाइ छ।
तीजको अवसरमा पशुपतिनाथ मन्दिरमा ठूलो संख्यामा भक्तजन आउने भएकाले सुरक्षा व्यवस्थालाई पनि विशेष प्राथमिकता दिइएको छ। हरितालिका तीज पर्व–२०८३ का अवसरमा पशुपति मन्दिर तथा आसपासको क्षेत्रमा करिब २ हजार ५ सय प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।
भक्तजनको चापलाई मध्यनजर गर्दै प्रहरी जनशक्तिलाई दुई सिफ्टमा विभाजन गरिएको छ। प्रत्येक सिफ्टमा प्रहरी नायब उपरीक्षक (डीएसपी) को नेतृत्वमा करिब १ हजार २५० प्रहरी खटिने व्यवस्था गरिएको छ।
सुरक्षा व्यवस्थाको प्रभावकारी अनुगमन, निर्देशन तथा समन्वयका लागि पशुपति क्षेत्रमा छुट्टै कमान्ड पोस्टसमेत स्थापना गरिएको छ। आइतबारदेखि नै कमान्ड पोस्टमार्फत सुरक्षा व्यवस्थापन तथा प्रहरी परिचालनको समन्वय भइरहेको प्रहरीले जनाएको छ।
तीजको मुख्य दिनसँगै पशुपति क्षेत्रमा भक्तजनको आवागमन बढिरहेकाले मन्दिर परिसर, प्रवेशद्वार, दर्शनका लागि बनाइएका लाइन तथा आसपासका क्षेत्रमा सुरक्षाकर्मी र स्वयंसेवकको उपस्थिति बढाइएको छ।
विगतमा तीजका दिन पशुपतिमा हुने अत्यधिक भीड, लामो लाइन र अव्यवस्थित आवागमन भक्तजनका लागि ठूलो चुनौती बन्ने गरेको थियो। यसपटक भने लाइन व्यवस्थापन, स्वयंसेवक परिचालन र सुरक्षा व्यवस्थापनमा गरिएको तयारीका कारण भक्तजनले तुलनात्मक रूपमा सहज रूपमा दर्शन गर्न पाएको बताएका छन्।


WRITE COMMENTS FOR THIS ARTICLE