राप्रपामा विवाद: धवल शम्शेरले बोलाए केन्द्रीय सदस्यहरूको भेला
काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री धवल शम्शेर राणाले आफूनिकट केन्द्रीय सदस्यहरूको भेला आज बोलाएका छन् । काठमाडौंको सुकेधारास्थित एक पार्टी प्यालेसमा दिउँसो १ बजे भेला हुने तय भएको हो ।
महामन्त्री राणानिकट एक नेताका अनुसार यो भेला पार्टीको पछिल्लो आन्तरिक विवाद, महाधिवेशनको मिति, र अध्यक्ष राजेन्द्र लिङ्देनको कार्यशैलीबारे छलफल गर्न बोलाइएको हो ।
राणाले यसअघि माघमा बसेको केन्द्रीय समिति बैठकमै अध्यक्ष लिङ्देनसँग फरक धारणा सार्वजनिक रूपमा राखेका थिए । त्यसयता राणा–लिङ्देन सम्बन्धमा चिसोपना देखिएको छ । पछिल्लो समय अध्यक्ष लिङ्देनले संस्थापनइतर नेताहरूमाथि गरेको कारबाहीपछि राणा पक्षले विज्ञप्ति जारी गर्दै त्यसको विरोध जनाउँदै आएका छन् ।
महामन्त्री राणाले अध्यक्ष लिङ्देनले लामो समयदेखि केन्द्रीय समिति बैठक नबोलाएको, पार्टीको विधानविपरीत महाधिवेशनको मिति नतोकेको भन्दै असन्तुष्टि जनाउँदै आएका छन् ।
राप्रपाले २०७८ मंसिरमा महाधिवेशन गरेको थियो । पार्टीको विधानअनुसार चार वर्षभित्र नियमित महाधिवेशन गर्नुपर्ने व्यवस्था छ । तर, संस्थापन पक्ष भने कार्यकाल एक वर्ष थप गरेर मंसिरमा महाधिवेशन नगर्ने तयारीमा रहेको स्रोतको दाबी छ ।
आजको भेलामा महामन्त्री राणाले महाधिवेशनको मिति तय गर्न नेतृत्वमाथि दबाब दिन आह्वान गर्ने तयारी गरेका छन् ।
यदि नेतृत्वले मिति तोक्न आनाकानी गरे विशेष महाधिवेशनको माग अघि सार्नेबारे पनि छलफल हुने बताइएको छ ।


WRITE COMMENTS FOR THIS ARTICLE