इरान–अमेरिकाबीच फेरि आक्रमण–प्रत्याक्रमण
काठमाडौं– अमेरिका र इरानबीच चर्किएको सैन्य द्वन्द्वका क्रममा शनिबार दुवै पक्षले एकअर्कासँग सम्बन्धित पानीजहाजलाई निशाना बनाएका छन् ।
अमेरिकी सेनाले इरानसँग सम्बन्धित तीन तेल ट्यांकरमाथि कारबाही गरेको जनाएको छ ।
तीमध्ये दुईलाई स्थायी रूपमा निष्क्रिय पारिएको र ओमानको खाडीमा रहेको अर्को ट्यांकर ध्वस्त पारिएको अमेरिकी दाबी छ ।
त्यसको जवाफमा इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कर्प्स (आईआरजीसी)ले अमेरिकासँग सम्बन्धित तीन पानीजहाज तथा होर्मुज जलडमरू हुँदै गइरहेका तीन तेल ट्यांकरलाई निशाना बनाएको इरानी सञ्चारमाध्यमले जनाएका छन् ।
अमेरिकी सेन्ट्रल कमान्डका अनुसार आईआरजीसीले अमेरिकी विमानवाहक युद्धपोत र निर्देशित क्षेप्यास्त्र विध्वंसकलाई लक्षित गरे पनि दुवै अमेरिकी युद्धपोत सुरक्षित रहेका छन् ।
घटनामा अमेरिकी सैनिक घाइते नभएको सेन्टकमले जनाएको छ ।
अमेरिकाले निशाना बनाएका तेल ट्यांकरहरू आईआरजीसी तथा उसका क्षेत्रीय सहयोगी समूहलाई आर्थिक सहयोग गर्ने छायाँ सञ्जालसँग सम्बन्धित रहेको दाबी गरेको छ ।
आक्रमणपछि केही चालक दलका सदस्यलाई लाइफबोटमार्फत सुरक्षित स्थानमा लगिएको जनाइएको छ ।


WRITE COMMENTS FOR THIS ARTICLE