बुधबार, फाल्गुन २८, २०८१
Wednesday, March 12, 2025

नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ आवद्ध विद्यार्थीबीच झडप

विराटनगर, –  विराटनगरको महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)आवद्ध विद्यार्थीबीच बिहीबार बिहान झडप भएको छ । झडपमा परेर नेविसंघ केन्द्रीय सदस्य र मोरङ जिल्ला सभापतिसहित ३ जना घाइते भएका छन् ।

संस्थापन अर्थात् पार्टी सभापति शेरबहादुर देउवा र संस्थापनइतर अर्थात् डा.शेखर कोइराला पक्षधर विद्यार्थीबीच बिहान करिब १० बजेतिर झडप भएको बताइएको छ । झडपमा महेन्द्र मोरङ क्याम्पसमै अध्ययनरत नेविसंघ केन्द्रीय सदस्य पूजा विश्वास, नेविसंघ मोरङका जिल्ला सभापति सरोज पोखरेल र सचिव गुड्डु साह घाइते भएको नेविसंघले जनाएको छ । घाइते तीनै जना पार्टीभित्र इतर पक्षका हुन् । साह र विश्वासको अवस्था सामान्य छ ।

पोखरेलले अलि असजिलो महसुस गरेपछि एम्बुलेन्समा राखेर उपचारका लागि विराटनगरको नोबेल शिक्षण अस्पतालतर्फ लगिएको केन्द्रीय सदस्य विश्वासले बताइन् । उनका अनुसार महेन्द्र मोरङका स्ववियु (स्वतन्त्र विद्यार्थी युनियन)का सभापति जसवन्त पौडेलसहितको समूहले आक्रमण गरेको हो । घटनापछि बाहिरिएको भिडियोमा पोखरेललगायत माथि आक्रमण भइरहेको देखिन्छ ।

‘सुरुमा मुक्का प्रहार गरियो । त्यसपछि बन्चरो लिएर आक्रमण गरियो,’विश्वासले भनिन्,‘जिल्ला सभापतिको स्वास्थ्यमा अलि समस्या देखियो । हामी २ जना सामान्य नै छौं ।’ स्ववियुको चुनाव लागेकाले क्याम्पसको वस्तुस्थिति बुझ्न जिल्ला सभापति र सचिव आएका बेला आक्रमण भएको उनको भनाइ छ ।

‘स्ववियु चुनावलाई लक्षित गरेर क्याम्पसको वस्तुस्थिति बुझ्न आउँदा सांघातिक हमला भयो । स्ववियु सभापतिको नेतृत्वमा रहेका करिब ५०–६० जनाले आक्रमण गरेका हुन्,’उनले भनिन्,’जिल्ला सभापति पोखरेलको टाउको र शरीरका विभिन्न भागमा समस्या देखिएको छ । तत्काल उपचारतर्फ केन्द्रित भएकाले घटनाका सम्बन्धमा थप कदम पछि चाल्छौं ।’

विश्वासका अनुसार नेविसंघका जिल्ला सभापति र सचिव पुगेर क्याम्पसको अवस्था बुझ्दै गर्दा आक्रमण सुरु भयो । ‘क्याम्पसका बारेमा विद्यार्थीमा नराम्रो सन्देश जाने बुझेर केही समस्या भएमा छलफलबाट समाधान गरौं भनेर हामीले बारम्बार आग्रह गर्यौं,’ उनले भनिन्, ‘तर, कुरै नसुनिकन एक्कासि आक्रमणमा उत्रिए ।’ शैक्षिक संस्थाभित्र गुण्डागर्दी र अराजक शैलीमा आक्रमण भएको विश्वासको भनाइ छ ।

सुरुमा मुक्काले प्रहार गरिएको र पछि बच्चरोसमेत ल्याएर आक्रमण गरिएको दाबी उनको छ । विश्वासका अनुसार स्ववियुका नाममा धेरै बदमासी भएका छन् । ‘हामीले बारम्बार हिसाब माग्दा स्ववियुले दिँदैन । कलेजभित्रै विद्यार्थीलाई कुट्ने र धम्क्याउने काम हुन्छ । स्ववियुका गतिविधिमा हामीले निरन्तर खबरदारी गरिरहेका छौं । त्यही रिसईबी राखेर आक्रमण गरिएको हुनसक्छ,’विश्वासले भनिन् ।

स्ववियु सभापति पौडेलले भने बिना जानकारी क्याम्पसमा नेविसंघको नयाँ इकाई गठन गर्न खोजिएपछि विवाद भएको बताए । ‘म पहिले क्याम्पसको नेविसंघ सभापति थिएँ । स्ववियु सभापति भएपछि प्रशान्त यादवलाई कार्यवाहक दिएँ । कामकारबाही राम्ररी नै चलिरहेको छ । एक्कासि नयाँ इकाई समिति गठन गर्न खोजिएपछि विवाद बढेर झडप भएको हो,’उनले भने । पौडेल पार्टीको संस्थापन पक्षधर हुन् । ‘यो जिल्लाले हेर्ने क्याम्पस होइन । इकाई कमिटी गठन गर्दा केन्द्रले नै प्रतिनिधि पठाउँछ । केन्द्रको अधिकार क्षेत्रभित्र प्रवेश गरेर जिल्लाले हस्तक्षेप गर्न खोजेपछि विरोध गरिएको हो,’उनी भन्छन् ।

पौडेलका अनुसार नेविसंघका जिल्ला सभापति पोखरेल क्याम्पसमा नयाँ इकाई समिति बनाउने तयारीका साथ आएका थिए । पोखरेल पार्टीभित्र इतर पक्षधर हुन् । इतर पक्षधरले भने क्याम्पसमा नयाँ इकाई गठन गर्न नभइकन स्ववियु निर्वाचनको तयारीका बारेमा बुझ्न गएको बताएको छ ।

स्ववियु सभापति पौडेलले भने घटना भएका बेला आफू बाहिर रहेको र केहीबेरमा मात्रै क्याम्पसमा पुगेको बताए । उनले विवाद नेविसंघभित्रै रहेको उल्लेख गरे । विवाद बढेर दुई पक्षबीच झडप भएको जानकारी पाएपछि प्रहरी पुगेको थियो । नेविसंघका विद्यार्थीबीच सामान्य हात हालाहाल भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मदन केसीले जानकारी दिए । ‘घटना भइसकेपछि हामी पुग्यौं । क्याम्पसभित्र प्रवेश गरेनौं’ उनले भने, ‘तर,दुई पक्षबीच एकआपसमा मिल्ने र घटनालाई थप नबढाउने सहमति भएको थियो । त्यसपछि उनीहरुबीच के भइरहेको छ भनेर थाहा छैन ।’

केसीका अनुसार सहमतिका लागि बेलुका ५ बजेतिर पुनः बस्ने भनेर विद्यार्थी नेताहरूले भनेका थिए । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको उनको भनाइ छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x