पार्टी विभाजन हुने अवस्था सिर्जना भए आफू नै सबैभन्दा पहिला अधिवेशन हलबाट बाहिरिन्छु-शर्मा
काठमाडौं – नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनका कारण पार्टी विभाजन हुने अवस्था सिर्जना भए आफू नै सबैभन्दा पहिला अधिवेशन हल त्याग्ने स्पष्ट चेतावनी दिएका छन्।
पुस २७ र २८ गते काठमाडौँमा बोलाइएको विशेष महाधिवेशनको सन्दर्भमा सामाजिक सञ्जालमार्फत भिडियो सन्देश सार्वजनिक गर्दै शर्माले पार्टी एकताप्रति आफ्नो अडान प्रस्ट पारेका हुन्। उनले विशेष महाधिवेशनलाई लिएर पार्टीभित्र र बाहिर फैलिएका भ्रम र आशंकालाई निराधार भएको बताएका छन्।
महामन्त्री शर्माका अनुसार विशेष महाधिवेशन पार्टी सुदृढीकरणका लागि हो, विभाजनका लागि होइन। उनले भने, “महाधिवेशन हुन्छ, तर पार्टी फुट्दैन। कुनै पनि हालतमा पार्टी विभाजनतर्फ गयो भने त्यो प्रक्रिया रोक्न सबैभन्दा पहिला म नै हलबाट बाहिर निस्कन्छु।”
उनको यो भनाइलाई नेपाली काँग्रेसभित्र एकता जोगाउने दृढ प्रतिबद्धता र नेतृत्वको जिम्मेवारीपूर्ण सन्देशका रूपमा लिइएको छ। विशेष महाधिवेशनलाई लिएर देखिएको चासोका बीच शर्माको अभिव्यक्तिले पार्टी पंक्तिमा स्पष्ट संकेत दिएको राजनीतिक विश्लेषकहरू बताउँछन्।


WRITE COMMENTS FOR THIS ARTICLE