शुक्रबार, कार्तिक २१, २०८२
Friday, November 7, 2025

पौडेलले मिसेस नेपाल अष्ट्रेलिया २०२५ को ताज जितिन्

काठमाडौं – मिसेस नेपाल अस्ट्रेलिया २०२५ को भव्य फाइनल २०२५ सेप्टेम्बर १३ मा अस्ट्रेलियाको मेलबर्नमा भव्यता, शालीनता र सांस्कृतिक गौरवका साथ सम्पन्न भयो । प्रतिष्ठित ताज लिला तिवारी पौडेलले आफ्नो आत्मविश्वास, आकर्षण र प्रेरणादायी उपस्थितिबाट निर्णायक तथा दर्शकलाई प्रभावित गर्दै जित्नुभयो । ताजसँगै उहाँले “एलीगेन्ट वाक” उपाधि, १,००० अस्ट्रेलियन डलरको नगद पुरस्कार, लेट मी इन कोरियन हस्पिटल नेपालबाट ५० हजार रुपियाँ बराबरको गिफ्ट ह्याम्पर तथा विभिन्न अन्य उपहारहरू प्राप्त गर्नुभयो ।

पहिलो रनर–अपको उपाधि सिवानी कट्टेलले हात पार्नुभयो । जसले “कन्फिडेन्स” (आत्मविश्वास) पुरस्कार समेत जित्नुभयो । उहाँले ६०० अस्ट्रेलियन डलर नगद, ३० तीस हजार रुपियाँ बराबरको गिफ्ट ह्याम्पर तथा विभिन्न अन्य उपहारहरू प्राप्त गर्नुभयो । दोस्रो रनर–अप आश्मा (एश) चालिसे घोषित भइन्, जसले “ग्रेसफुल डीभा” (शालीन सुन्दरी) उपाधि जित्नुभयो । उहाँलाई ४०० अस्ट्रेलियन डलर, २० हजार रुपियाँ बराबरको गिफ्ट ह्याम्पर र अन्य उपहारहरू प्रदान गरियो ।

विजेता लिला तिवारी पौडेल बुटवल, नेपालकी रहिवासी हुनुहुन्छ र हाल मेलबर्न, भिक्टोरियाको मिकलह्याममा बसोबास गर्नुहुन्छ । उहाँ पेशाले नर्स हुनुहुन्छ र आफ्नो पेशाप्रति गहिरो रुचि राख्नुहुन्छ । पेशागत जीवन बाहेक उहाँ यात्रा गर्न मन पराउनुहुन्छ ।

यस प्रतियोगिताको पहिलो संस्करणमा अस्ट्रेलियामा बसोबास गर्ने चौध जना नेपाली विवाहित महिलाहरूले सहभागिता जनाएका थिए । यो मात्र सौन्दर्य प्रतियोगिता नभई अन्तर्राष्ट्रिय स्तरमा नेपाली संस्कृति, परम्परा र प्रतिभाको उत्सव पनि थियो । प्रतियोगीहरूलाई विभिन्न उपाधिहरू मार्फत् उनीहरूको उत्कृष्टतालाई सम्मान गरिएको थियो ।

आकृति सापकोटाले बोल्ड एण्ड ब्युटी, आरती सिंहले इन्टेलेक्चुअल, जमुना अधिकारी रिजालले कन्जेनियलिटी, निवा प्रजापति साहुखलले सोशल इम्प्याक्ट एण्ड एलिगेन्ट पर्सनालिटी, सन्ध्या भट्टराईले हर्ट अफ गोल्ड, जस्मिन चौलागाईं ढकालले मिसेस पोइज, अनुजा मल्ल ढकालले ट्यालेन्ट, विद्या पनेरूले डिसिप्लिन, रश्मी अधिकारीले फोटोजेनिक, दीपा खनालले बेस्ट एटिच्युड र सरस्वती श्रेष्ठले फेसनिष्टा उपाधि हासिल गर्नुभएको छ ।

कार्यक्रमलाई नेपालका फेसन कोरियोग्राफर तथा सञ्चारकर्मी रोजिन शाक्यले मार्गदर्शन, कोरियोग्राफी साथै कार्यक्रम सञ्चालन गर्नुभएको थियो । यस प्रतियोगितालाई हिमाली कल्चर ग्रुप मेलबर्न र इभेन्ट्स नेपाल अष्ट्रेलियाले आयोजना गरेको हो। कार्यक्रमलाई मिरेकल माइग्रेशन एण्ड एजुकेशनले प्रस्तुत गरेको थियो भने ग्रेस इन्टरनेशनल एजुकेशन एण्ड माइग्रेशनले पावरबाई गरेको थियो । सौन्दर्य र ग्ल्यामरसँगै यस प्रतियोगिताले विवाहित नेपाली महिलाहरूलाई नेतृत्व, संचार क्षमता र व्यक्तिगत विकासमा प्रोत्साहित गर्ने उद्देश्य राखेको थियो। साथै यसले नेपालका संस्कृति र पर्यटनलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्धन गर्ने महत्वाकाङ्क्षा बोकेको थियो ।

कार्यक्रमलाई सिजन मिडियाले व्यवस्थापन गरेको थियो। निर्णायक मण्डलमा चर्चित कलाकार तथा मोडल प्रकृति श्रेष्ठ, मिस नेपाल अर्थ २०११ अनुपमा अरा गुरुङ, एथ्रीके सोलुसनका एमडी विनोद कुवर, मिरेकल माइग्रेशन एण्ड एजुकेशनका निर्देशक सागर शाही, तथा ग्रेस इन्टरनेशनलका निर्देशक प्रकाश रेग्मी समावेश हुनुहुन्थ्यो । कार्यक्रमलाई अझ गौरवमयी बनाउन अस्ट्रेलियामा भिक्टोरियाका लागि नेपालका मानार्थ वाणिज्यदूत निराजन गौली मुख्य अतिथिका रूपमा उपस्थित भएका थिए ।

मिसेस नेपाल अस्ट्रेलिया २०२५ साँचिकै एक ऐतिहासिक उपलब्धि सावित भएको छ । यसले विवाहित नेपाली महिलाहरूको क्षमता, आत्मविश्वास र सौन्दर्यलाई मात्र होइन, उनीहरूको संस्कृति र पहिचानलाई सम्मानका साथ विश्वभर उजागर गर्ने अवसर प्रदान गर्‍यो ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x