शनिबार, भदौ २७, २०८३
Saturday, September 12, 2026

अविरल वर्षा र पहिरोले देशभरका राजमार्ग अस्तव्यस्त

काठमाडौ – अविरल वर्षा र पहिरुका कारण देशका विभिन्न जिल्लाका मुख्य राजमार्ग तथा सडकखण्डमा यातायात सेवा गम्भीर रूपमा प्रभावित भएको छ। रसुवा, धादिङ, मुगु, रोल्पा, बझाङ र म्याग्दीका विभिन्न सडकखण्ड पूर्ण तथा आंशिक रूपमा अवरुद्ध भएका छन्। केही स्थानमा भने वैकल्पिक मार्गमार्फत यातायात सञ्चालनको व्यवस्था मिलाइएको छ।

काभ्रेपलाञ्चोक र सिन्धुली जोड्ने खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्डमा १० टनसम्मका मालवाहक सवारीसाधन राति ७ बजेदेखि बिहान ५ बजेसम्म र निजी तथा सार्वजनिक यात्रुवाहक सवारीसाधन बिहान ४ बजेदेखि बेलुका ६ बजेसम्म सञ्चालन भइरहेका छन्।

मकवानपुरबाट काठमाडौँतर्फ चल्ने सवारीसाधनका लागि पनि नयाँ नियम लागू गरिएको छ। १० चक्कासम्मका मालवाहक र ठूला यात्रुवाहक सवारीसाधन काठमाडौँ जाँदा त्रिभुवन राजपथ र फर्किंदा कान्ति राजमार्ग प्रयोग गर्नुपर्नेछ। कान्ति राजमार्ग हुँदै हेटौँडातर्फ आउने सवारीले साँझ ६ बजेभित्र ठिङ्गन चेकपोस्ट पार गरिसक्नुपर्नेछ। १४ सिटभन्दा कम क्षमताका साना सवारी साधनका लागि भीमफेदी–कुलेखानी–सिस्नेरी–दक्षिणकाली र फर्पिङ–फाखेल–कुलेखानी मार्ग तोकिएको छ। त्रिखण्डी नजिक रहेको बेलीब्रिज कमजोर भएकाले भारी सवारीसाधनलाई डाइभर्सन प्रयोग गर्न प्रहरीले निर्देशन दिएको छ।

नुवाकोटको टोखा–छहरे सडकखण्डमा राति १० बजेदेखि बिहान ५ बजेसम्म अत्यावश्यकबाहेकका सवारी साधन सञ्चालनमा रोक लगाइएको छ।

उता रसुवाको पासाङ ल्हामु राजमार्ग भने त्रिशूली नदीको कटान र बाढीका कारण पूर्ण रूपमा नष्ट भएको छ। स्याफ्रुबेँसीतर्फ जाने सवारीका लागि टोखा–छहरे–विदुर–नुवाकोट दरबार हुँदै कालिकास्थान जोड्ने कच्ची सडकलाई वैकल्पिक मार्ग बनाइएको छ।

यसैगरी धादिङको कृष्णभीरमा त्रिशूली नदीको कटानले पृथ्वी लोकमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ भने परेवा भीरमा सडक भासिएकाले एकतर्फी मात्र यातायात चलेको छ। मुगुको नाग्मा–गमगढी, रोल्पाको सहिद मार्ग, बझाङको जयपृथ्वी राजमार्ग र म्याग्दीको बेनी–जोमसोम सडकखण्डमा पहिरो खसेकाले सवारी आवतजावत पूर्ण रूपमा ठप्प छ।

विपद्को जोखिम रहेकाले अत्यावश्यक काममा मात्र यात्रा गर्न, लेन अनुशासन पालना गर्न र ट्राफिक प्रहरीको निर्देशिका पालना गर्न नेपाल प्रहरीले सबैमा अनुरोध गरेको छ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x