बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

निक्षेप संकलन १६ अर्बले बढ्दा कर्जा २ अर्ब : सीडी रेसियो ७८.५९ प्रतिशत

काठमाडाैं – नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार जेठ २२ गते मात्रै बैंक तथा वित्तीय संस्थाहरूमा १६ अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ । सोही दिन कर्जा प्रवाह भने २ अर्ब रुपैयाँ भएको छ।

केन्द्रीय बैंकका अनुसार जेठ २१ गतेसम्म ६९ खर्ब ५१ अर्ब रुपैयाँ रहेको कुल निक्षेप रकम, एक दिनमै बढेर ६९ खर्ब ६६ अर्ब रुपैयाँमा पुगेको हो। कर्जा प्रवाह पनि ५५ खर्ब ५१ अर्बबाट बढेर ५५ खर्ब ५३ अर्ब रुपैयाँ पुगेको छ। यो आँकडाले बैंकहरूमा नगद भित्रिने दर कर्जाको तुलनामा उल्लेख्य रूपमा उच्च भएको स्पष्ट देखाएको छ ।  जसले प्रणालीमा थप तरलता सृजना गरिरहेको छ।

विवरणअनुसार, हालसम्म वाणिज्य बैंकहरूले मात्रै ६२ खर्ब २९ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् भने अन्य विकास बैंक, वित्त कम्पनी तथा लघुवित्तहरूले ७ खर्ब ३७ अर्ब रुपैयाँ संकलन गरेका छन्। कर्जाको पक्षमा पनि वाणिज्य बैंकहरूको योगदान अग्रपंक्तिमा छ — कुल ४९ खर्ब ३४ अर्ब रुपैयाँ कर्जा उनीहरूद्वारा प्रवाह गरिएको छ। बाँकी ६ खर्ब १९ अर्ब रुपैयाँ कर्जा अन्य बैंक तथा वित्तीय संस्थाबाट प्रवाह भएको हो।

बैंक तथा वित्तीय संस्थाहरूको हालको सीडी रेसियो (कर्जा-निकर्ष अनुपात) ७८.५९ प्रतिशत रहेको छ, जुन सुरक्षित सीमाभित्र छ तर कर्जाको माग सुस्त रहेको सङ्केत दिन्छ। त्यस्तै, अन्तरबैंक ब्याजदर ३ प्रतिशत मा झरेको छ, जुन बैंकहरूबीच पनि अत्यधिक तरलता रहेको संकेत हो।

विगत केही समयदेखि कर्जा प्रवाहको गति कमजोर रहेकाले बैंकहरूमा निक्षेप संकलन तिब्र भएको छ तर सो अनुरूप कर्जा प्रवाह हुन नसक्दा प्रणालीमा अतिरिक्त तरलता जमिएको अवस्था छ। यसलाई सन्तुलनमा ल्याउन नेपाल राष्ट्र बैंकले बैंकिङ उपकरण प्रयोग गरी तरलता प्रशोचन गर्न थालेको छ। पछिल्लो उदाहरणका रूपमा, जेठ १९ गते (आइतबार) राष्ट्र बैंकले ४२ दिन अवधिका लागि २५ अर्ब रुपैयाँ बराबरको तरलता बजारबाट फिर्ता लिएको थियो।

यस्तो तरलताको अवस्था लामो समय कायम रहनु अर्थतन्त्रमा लगानी गतिलिन नसकेको, निजी क्षेत्रको कर्जा माग सुस्त रहेको र व्यवसायिक गतिविधि आशातीत रूपमा नबढेको संकेत हो।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x