आर्थिक वर्ष २०८३/०८४काे बजेट आज संघीय संसदमा प्रस्तुत हुँदै
काठमाडौं – आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि सरकारले आज संघीय संसदमा बजेट प्रस्तुत गर्दैछ । अर्थमन्त्री स्वर्णिम वाग्लेले आज संघीय सदनमा नयाँ आर्थिक वर्षको आय–व्यय विवरण सार्वजनिक गर्ने कार्यक्रम रहेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट अर्थमन्त्री बनेपछि वाग्लेले पहिलोपटक पूर्ण बजेट प्रस्तुत गर्न लाग्नुभएको हो ।
अर्थ मन्त्रालयका अनुसार बजेट निर्माणमा पार्टीको निर्वाचन घोषणापत्र, सरकार गठनपछि सार्वजनिक गरिएको १०० बुँदे शासकीय सुधार कार्ययोजना तथा संसद्मा प्रस्तुत विनियोजन विधेयकका प्राथमिकता र सिद्धान्तलाई आधार बनाइएको छ ।
नयाँ संविधान जारी भएपछि हरेक वर्ष जेठ १५ गते बजेट प्रस्तुत गर्ने संवैधानिक अभ्यासअनुसार आज दिउँसो ४ बजे सिंहदरबारस्थित बहुउद्देश्यीय हलमा बजेट सार्वजनिक गरिने कार्यक्रम तय भएको संघीय संसद् सचिवालयले जनाएको छ ।
सरकारले यसपटकको बजेटलाई थप व्यवस्थित, पारदर्शी र परिणाममुखी बनाउने लक्ष्य लिएको जनाएको छ । बजेटमार्फत आर्थिक सुधार, रोजगारी सिर्जना, निजी क्षेत्रको प्रवर्द्धन, पूर्वाधार विकास तथा सार्वजनिक सेवा प्रवाहलाई प्राथमिकता दिइने अपेक्षा गरिएको छ ।
राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्षका लागि १८ खर्ब ९० अर्ब रुपैयाँ बराबरको बजेट सिलिङ तोकेको थियो । सोही सीमाभित्र रहेर सरकारले स्रोत व्यवस्थापन र खर्च प्राथमिकता निर्धारण गरेको बताइएको छ ।


WRITE COMMENTS FOR THIS ARTICLE