बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

मुख्यमन्त्री लामाका सर्त : आफूले नियुक्त गरेका ३ मन्त्रीहरू क्यबिनेटमा समावेश हुनुपर्ने

बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाको राजीनामा रोकिएको छ। यसअघि उनले आज राजीनामा दिने भनिएको थियो। तर प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाको उपचार जारी रहेकाले मुख्यमन्त्री लामाले आज राजीनामा नदिने भएका हुन्। राजीनामा प्रदेश प्रमुखलाई बुझाउनपर्ने भएकाले मुख्यमन्त्री आजलाई रोकिएको उनीनिकट सांसद रामकृष्ण चित्रकारले जानकारी दिए।

मूत्र प्रणालीमा संक्रमण भएपछि प्रदेश प्रमुख देवकोटा बिहीबारदेखि काठमाडौँस्थित ग्रान्डी इन्टरनेसनल अस्पतालमा उपचाररत छन्। उनको सचिवालयका अनुसार देवकोटाको स्वास्थ्य अवस्था खतरामुक्त भइसकेको छ र आज साँझसम्म डिस्चार्ज हुने सम्भावना छ।  प्रदेश प्रमुख उपचारमा रहेका राजीनामा दिन आज हेटौँडा आइपुग्ने भनेका मुख्यमन्त्री लामा पनि अहिले काठमाडौँमै छन्।

सांसद चित्रकारका अनुसार अब उनी आइतबार हेटौँडा आइपुग्नेछन्। र, मन्त्रिपरिषद् बैठक राखेर लगत्तै पत्रकार सम्मेलन गरी प्रदेश प्रमुखसमक्ष राजीनामा बुझाउने तयारी छ।

मुख्यमन्त्री लामाका सर्त
कांग्रेस प्रदेश संसदीय दलको नेता पदमा हारे पनि मुख्यमन्त्रीबाट राजीनामा नदिने अडान लिइरहेका मुख्यमन्त्री लामालाई बिहीबार बेलुका आफ्नै निवास बुढानीलकण्ठमा बोलाएर पार्टी सभापति शेरबहादुर देउवाले मार्गप्रशस्त गर्न निर्देशन दिएपछि उनी पदबाट हट्न तयार भएका हुन्।

तर यसका लागि मुख्यमन्त्री लामाले सभापति देउवासमक्ष केही सर्त राखेका छन्। आफूले बुधबार मात्र नियुक्ति गरेका तीन मन्त्रीलाई  नयाँ बन्ने प्रदेश सरकारमा लानुपर्ने माग उनले देउवासँग गरेका हुन्।

यसपछि सभापति देउवाले कांग्रेसको बागमती संसदीय दलका नेता इन्द्रबहादुर बानियाँलाई निर्देशन दिएको छलफलमा सहभागी एक सांसदले बताए।

यस विषयमा आज (शनिबार) बिहान देउवाले बुढानीलकण्ठमा मुख्यमन्त्री लामा, सांसद चित्रकारलगायतका सांसदसहित बानियाँसँग छलफल गरेका थिए। त्यस क्रममा लामाले राखेका माग पूरा गर्न बानियाँ सहमत भएको छलफलमा सहभागी सांसदको दाबी छ।

सहमतिअनुसार बुधबार नियुक्त लामा समूहका मन्त्रीहरू गोविन्द लम्साल, गीता गुरूङ र माया श्रेष्ठलाई अब बन्ने बानियाँ नेतृत्वको क्याबिनेटमा लगिनेछ।

बागमती प्रदेशसभामा कांग्रेसबाट ३७ सांसद छन्। जसमध्ये गत शुक्रबार २१ सांसदले मुख्यमन्त्री रहेका तत्कालीन दलका नेता लामाविरुद्ध संसदीय दलको कार्यालयमा अविश्वास प्रस्ताव दर्ता गराएका थिए। त्यसपछि नयाँ दल नेता चयन गर्न गत बुधबार चुनाव हुँदा बानियाँ विजयी भए भने मुख्यमन्त्री लामा हारे।

यसपछि मुख्यमन्त्री लामालाई पद छाड्न आफ्नै दलबाट चर्को दबाब आयो। यही क्रममा पार्टी सभापति देउवाले उनलाई राजीनामा दिन निर्देशन दिएका हुन्।

अब उनले मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि बागमती प्रदेश सरकार ढल्नेछ। सोपश्चात् कांग्रेस बागमती संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ मुख्यमन्त्री हुनेछन्। यसपछि अन्य मन्त्री नियुक्तिको प्रक्रिया अघि बढ्नेछ।

बागमतीमा हाल कांग्रेस र एमाले गठबन्धनको सरकार छ। केन्द्रीय सहमतिअनुसार बागमतीमा कांग्रेस र एमालेले २०/२० महिना सरकार चलाउने कुरा छ।

यसअघि कांग्रेसका तर्फबाट लामा १२ महिना मुख्यमन्त्री भइसकेका छन्। सहमतिअनुसार अब कांग्रेसबाटै मुख्यमन्त्री बन्न लागेका बानियाँले ८ महिना मात्र प्रदेश सरकारको नेतृत्व गर्न पाउने छन्। यसपछि मुख्यमन्त्री पद एमालेले पाउनेछ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x