बुधबार, फाल्गुन १३, २०८२
Wednesday, February 25, 2026

परमाणु वार्ताका लागि अमेरिका र इरानबीच सहमति

इरानले तेहरानको परमाणु कार्यक्रममाथिको विवाद समाधान गर्न अमेरिकासँग मुख्य ‘मार्गदर्शक सिद्धान्त’ मा समझदारी भएको जनाएको छ।

जिनिभामा भएको अप्रत्यक्ष वार्तापछि बोल्दै इरानी विदेशमन्त्री अबास अराग्चीले अझै काम गर्न बाँकी रहेको बताएको छ भने अमेरिकाले ‘प्रगति भएको’ जनाएको छ।

मध्यस्थकर्ता ओमानका विदेशमन्त्रीले वार्ता ‘साझा लक्ष्यहरू र सान्दर्भिक प्राविधिक मुद्दाहरू पहिचान गर्ने दिशामा राम्रो प्रगतिका साथ सम्पन्न भएको’ बताएका छन्।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले यसअघि इरान सम्झौता गर्न चाहने आफ्नो विश्वास रहेको बताएका थिए।

अमेरिका र उसका युरोपेली सहयोगीहरूले इरान परमाणु अस्त्रको विकासतर्फ अघि बढिरहेको आशङ्का गर्ने गर्छन् जुन कुरा तेहरानले सधैँ अस्वीकार गर्दै आएको छ।

सो स्विस सहरमा ओमानका राजदूतको निवासमा मङ्गलवार वार्ता भएको थियो।

त्यसअघि इरानले परमाणु कार्यक्रम र अमेरिकाले लगाएको आर्थिक प्रतिबन्धको सम्भावित फुकुवामा आफ्नो ध्यान केन्द्रित गर्ने बताएको थियो।

वाशिङ्टनले इरानको क्षेप्यास्त्र विकासजस्ता अन्य मुद्दाहरूमा पनि छलफल गर्न चाहेको कुरा यसअघि नै सङ्केत गरिसकेको छ।

तर एक अमेरिकी अधिकारीले बीबीसीलाई भने–‘प्रगति भएको छ तर छलफल गर्न अझै धेरै विषयवस्तुहरू छन्। इरानीहरूले चाहिँ हाम्रो अडानमा रहेका केही खुला खाडलहरूलाई सम्बोधन गर्न उनीहरू विस्तृत प्रस्ताव लिएर अर्को दुई हप्तामा फर्कने बताएका छन् ।’

ट्रम्प र खामेनेई के भन्छन् ?

वार्तालाई ‘निकै महत्त्वपूर्ण’ भनेर व्याख्या गर्दै अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले पहिले नै आफू त्यसमा ‘अप्रत्यक्ष रूपमा’ संलग्न हुने बताएका थिए र यस पटक वार्ता गर्न तेहरान व्यग्र भएको बताएका थिए।

‘मलाई लाग्दैन कि उनीहरू सम्झौता नगर्नुको परिणाम चाहन्छन्,’ ट्रम्पले एअर फोर्स वनमा सवार पत्रकारहरूलाई भने।

उनले इरानले गत गर्मी याममा अमेरिकाले इरानी परमाणु स्थलहरूमा बम विस्फोट गरेपछि वार्तामा कडा आचरणको परिणाम सिकेको बताउँदै भने।
‘हामी उनीहरूका परमाणु क्षमतालाई निस्तेज पार्न बी–२ पठाउनुको सट्टा सम्झौता गर्न सक्थ्यौँ। हामीले बी–२ हरू पठाउनुपर्‍यो,’ उनले उक्त बम विस्फोट गर्ने स्टिल्थ बम विस्फोटकहरूलाई उल्लेख गर्दै भने। ‘मलाई आशा छ कि उनीहरू अझ व्यावहारिक हुनेछन् ।’

मङ्गलवार बोल्दै इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनेईले ट्रम्पको सैन्य कारबाहीको धम्कीबारे भने– ‘युद्धपोतभन्दा खतरनाक त्यो हतियार हो जसले यसलाई समुद्रको पीँधमा पुर्‍याउन सक्छ।’

उनी अमेरिकी सेना संसारको सबैभन्दा बलियो सेना रहेको बताउँछन्। ‘विश्वको सबैभन्दा बलियो सेनाु ले कहिलेकाहाँ यस्तो प्रहार पाउन सक्छ कि जसका कारण त्यो फेरि उठ्न सक्दैन ।’

खामेनेईले अमेरिकालाई वार्ताको नतिजा पूर्वनिर्धारित गर्ने प्रयास गरेको आरोप लगाउँदै त्यो ‘गलत र मूर्खतापूर्ण काम’ हुने भनेका छन्।

बीबीसी न्यूज नेपाली

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x