इजिप्टकी टेलिभिजन प्रस्तोता साराह खलिफालाई फाँसीको सजाय
काठमाण्डाैं – इजिप्टकी टेलिभिजन प्रस्तोता साराह खलिफासहित १२ जनालाई लागुऔषधसम्बन्धी मुद्दामा दोषी ठहर गर्दै फाँसीको सजाय सुनाइएको छ।
राज्य सञ्चालित अल–अहराम पत्रिकाका अनुसार उनीहरू लागुऔषध बनाउन प्रयोग हुने कच्चा पदार्थ आयात गरी बिक्री गर्ने उद्देश्यले आपराधिक गिरोहमा संलग्न थिए। उनीहरूको साथबाट अवैध हतियार तथा गोलीगठ्ठासमेत बरामद भएको थियो।
मुद्दामा अन्य नौ जना प्रतिवादीलाई आजीवन कारावासको सजाय सुनाइएको छ भने सात जनालाई सफाइ दिइएको छ। खलिफाका वकिलले मृत्युदण्डविरुद्ध अपिल गर्ने बताएका छन्।
अदालतले गत महिना नै फैसला सुनाएको भए पनि मृत्युदण्डसम्बन्धी मुद्दामा इजिप्टका ग्रान्ड मुफ्तीको धार्मिक राय लिनुपर्ने कानुनी प्रावधानअनुसार एक महिनापछि मात्र फैसला औपचारिक रूपमा पुष्टि गरिएको हो।
मुद्दाको सुनुवाइका क्रममा अधिकारीहरूले ७५० किलोग्रामभन्दा बढी लागुऔषध तथा लागुऔषध बनाउन प्रयोग हुने आयातित कच्चा पदार्थ बरामद गरेको अदालतलाई जानकारी गराइएको थियो।
राज्य सञ्चालित अखबार ‘अखबार अल–योम’का अनुसार, गत सेप्टेम्बरमा अदालतमा उपस्थित हुँदा न्यायाधीशले लागुऔषधसम्बन्धी आरोपमा आफ्नो भूमिकाबारे सोध्दा खलिफाले आफूले लागुऔषध कहिल्यै नदेखेको बताएकी थिइन्।
उनले लागुऔषध नियन्त्रण प्राधिकरणको कार्यालयभित्र आफूलाई लागुऔषधसँगै फोटो खिचिएपछि मात्र त्यस्तो पदार्थ देखेको दाबी गरेकी थिइन्।


WRITE COMMENTS FOR THIS ARTICLE