शनिबार, बैशाख १९, २०८३
Saturday, May 2, 2026

अवैधानिक नेतृत्वबाट टिकट लिनु मेरो राजनीतिक मूल्य विपरीत छ, तर भाेट ‘रुख’ चिन्हमा- पूर्णबहादुर

काठमाडौं – नेपाली कांग्रेसका पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवार नहुने घोषणा गरे। निर्वाचन आयोगले पार्टीको आधिकारिकता सम्बन्धमा गरेको निर्णयप्रति असहमति जनाउँदै सर्वोच्च अदालत पुगेका उनले निर्वाचन प्रक्रियाबाट बाहिरिने निर्णय लिए।

खड्काले आइतबार सर्वोच्च अदालतमा निर्वाचन आयोगको निर्णयविरुद्ध मुद्दा दर्ता गरेका थिए। विशेष महाधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णय कांग्रेसको विधान, राजनीतिक दल सम्बन्धी ऐन र नेपालको संविधान विपरीत निर्णय गरेको खड्काको दाबी छ।

विशेष महाधिवेशनबाट निर्वाचित वर्तमान कार्यसमितिलाई ‘अवैधानिक’ ठहर गर्दै सोही नेतृत्वको हस्ताक्षरबाट टिकट लिएर उम्मेदवार बन्नु आफ्नो राजनीतिक मूल्य-मान्यता र नैतिकताको विरुद्ध हुने उनको भनाई छ।
“…म स्वयं समेतले मुद्दा दर्ता गरेको र अवैधानिक विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमिति स्वतः अवैधानिक हुने मेरो दाबी समेत भएकोले निजहरूको निर्णय र हस्ताक्षरबाट जारी गरिने टिकटबाट उम्मेदवार हुनु मेरो जीवन भरिको राजनीतिक मूल्य मान्यता र नैतिकताको अडानको प्रतिकूल हुने हुँदा पार्टीका साथीहरू र आम मतदाताको माया, भरोसा र विश्वास मप्रति हुँदाहुँदै पनि यस पटक प्रतिनिधि सभाको निर्वाचनमा उम्मेदवार नउठ्ने निर्णय गरेको छु।”

निर्वाचनमा उम्मेदवार नहुने निर्णयले आफूलाई विश्वास गर्ने मतदाता तथा पार्टी कार्यकर्तामा पर्न सक्ने चोटप्रति उनले क्षमा मागेका छन्। आफू उम्मेदवार नबने पनि पार्टीको आधिकारिक चुनाव चिह्न ‘रुख’ लिएर आउने उम्मेदवारलाई जिताउन उनले अपिल गरे।

“अन्तमा पार्टीको जो साथी उम्मेदवारको रूपमा रुख चुनाव चिन्ह लिएर तपाईंहरूको बिचमा आउनु हुन्छ, पार्टीको सोही उम्मेदवारलाई पार्टी पङ्क्ति सबै साथीहरू एकताबद्ध भई निर्वाचन अभियानमा लाग्न र अत्यधिक मतले विजयी गराउनु हुन मेरा परम आदरणीय मतदाताहरूमा हार्दिक अनुरोध र अपिल गर्दछु,” खड्काले विज्ञप्तिमा उल्लेख गरेका छन्।

निर्वाचन आयोगको निर्णयले पार्टीको विधि र पद्धतिमाथि प्रहार गरेको भन्दै उनले कानुनी उपचारका लागि अदालतको ढोका ढकढकाएको प्रस्ट पारे।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x